उपलब्धि देख्न नसक्ने आँखाहरू र सत्यलाई छिपाउन गरिने दुष्प्रयास, मानिसको सुनियोजित योजनाभित्र पर्दछन्। किन मानिस सत्यसँग डराउँछ किनकि, सत्य ज्योतिर्मय हुन्छ। उज्यालोमा सबैको आँखा पुगेको हुन्छ। सबैले देख्दछन्, त्यसैले उ सधैँ अँध्यारो चाहन्छ। अँध्यारो भ्रम हो। भ्रम हटाउन गाह्रो हुन्छ, जति सत्य छिपाउन सहज छ। भ्रमको जिन्दगी भनेको नशाले दिने तागत हो।
हिजो संसदमा देखिएको दृश्यले यी कुराको अनुभूति दिलायो। प्रधानमन्त्री लामो विदेश भ्रमणबाट फर्कनुभयो। भ्रमणका उपलब्धि कमजोरीका बारेमा बहस छलफल हुनपर्ने। काम कुरा एकतिर कुम्लो बोकी कता तिर हो ? भने जस्तै भयो। प्रधानमन्त्रीले देशको लागि कहाँ के गर्न भयो ? कुन विषयमा के के भयो ? कसैले सुन्न चाहेन। एक्कासि बम पड्के जस्तै पड्किन सुरु भयो। मानौँ, देश बेचेर प्रधानमन्त्री स्वदेश आए जस्तो गरी। एउटा आक्रोश कुण्ठा वर्गेल्ती उम्लिए पोखिए।
अन्तर्राष्ट्रिय फोरमा कस्ता विषय उठान भए ? हामीले उठाएका मुद्दाहरूको प्रभाव कस्तो पर्यो, कस्तो पर्दछ कसैलाई चासो भएन। भ्रमण दलमा को-को थिए, कति थिए त्यही पुरानो रटान बाहेक अरू कुरा देखिएन। विरोधका लागि विरोधले देशलाई गति दिँदैन। विरोध त तथ्यका आधारमा गर्न सक्नुपर्दछ। विश्वास दिनसक्ने तर्कका आधारमा विरोध गर्न सक्यो भने मात्र त्यसले एउटा गति प्रदान गर्दछ। भद्दा स्वरमा चिच्याउँदा संसदको रेकर्डमा त बस्ला, तर जनतामा त्यसको कुनै प्रभाव पर्ने देखिँदैन। एउटा विधि र पद्धतिमा टिकेर गरेको विरोधले परिवर्तनको ढोका खोल्छ, तर फोस्रो विरोधले अलाप बाहेक केही कुरा पनि सक्दैन। त्यसमा इगो र घमण्ड बाहेक अरू देखिँदैन।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय फोरमा उठाउन पर्ने विषय के उठाए ? के उठाउन पर्दथ्यो ? के छुटाए ? के कुरा कसरी लैजान पर्दथ्यो लान सकेनन् ? बुँदा बुँदा तथ्य पछार्दै, तर्कले पुष्टि गर्दै, विरोध गरेको भए मानिस सोच्न बाध्य हुन्थ्यो। क्या बात। राम्रो कुरा उठाएछ। सबैले भन्दथे। तर त्यहाँ त्यस्तो केही भएन। मात्र आफ्ना मनगणन्ते कुरा राखेर होसिझोसी गर्न बाहेक अरू कुरा केही देखिएन। मनको तीतो फाल्ने स्थान किन संसद बनाउँछौ ? यस्ता क्रियाकलापले त संसदको गरिमामाथि पनि प्रश्न उठ्न सक्छ। चीनको भ्रमणको कुरा गरौं, हिजो बन्द भएका हिमाली नाकाहरू प्रधानमन्त्री चीनबाट फर्किदा नफकिँदै खुख्न थालिसके।
आयात निर्यातको ढुकढुकी बनेको कोदारी राजमार्ग चोथो चरणको काम अगाडी बढ्ने कुरा, हाल केरुङको सडक विस्तार, ल्हसा काठमाडौं रेल सेवाको कुरा अगाडी बढाउने मात्र हैन, पोखरा विमानस्थल चीनका विभिन्न ठूला सहरहरूसँगको सम्पर्कले भोलिको पोखराको पर्यटन व्यवसायका बारेमा भएका कुरा कम महत्वको ठान्न हुन्न। यति मात्र हैन विद्युतमा भारतीय बजारको एकाधिकार तोड्ने र हाइटेन्सन निर्माण जस्ता कामको मूल्यांकन गर्न आवश्यक ठानिएन।
चिनिया लगानी बढाउने कुरा, दुई देशका लगानी कर्ताहरूबीच एक प्रकारको भएको लगानी सम्मेलन, प्रधानमन्त्रीले नेपाल र चीन बिच लगानी मैत्री वातावरण अझ व्यवस्थित गर्दै चिनिया लगानीको सुरक्षा र सहयोगको प्रतिवद्धताहरु गफ मात्र हैनन् भन्ने बुझ्न जरुरी छ। चीन-नेपाल सिमानाका गाउँहरू जहाँ विद्युत् सेवा पुगेका छैनन्, ती गाउँहरूमा प्राप्त हुने वैकल्पिक ऊर्जाले त्यहाँको जनजीवनमा कति खुसीयाली र परिवर्तन ल्याउला, संसदमा यसबारे छलफल होला ? हुँदैन।
नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण गरिदिने भएको छ। चीन नेपाल सिमानामा केन्द्रीय प्रसारण लाइन पुर्याउन नसकिने स्थानहरूमा भने चीनले सौर्य प्रणाली जोडिदिने भएको छ। यस अलावा कोभिडपछि अवरुद्ध परम्परागत नाकाहरू पुनः सञ्चालनमा ल्याउने कुरामा नेपाल र चीनबीच सहमति भएका कुरालाई नजर अन्दाज गर्न हुँदैन।
यसैगरी, स्याप्रुबेसी रसुवागढी सडक मर्मत, हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन, टोखा छहरे सुरुङ मार्ग, काठमाडौं चक्रपथ परियोजनाका साथै नेपाल चीन रेलवे सहयोग कार्यदल बैठक छिटै बस्ने गरी भएको सहमति मजाक हैन। साथै तिब्बत क्षेत्रमा आगामी दिनमा हुन सक्ने व्यापारिक सम्भावनाको बारे गहन छलफल यो भ्रमणमा भएको छ भने कृषिमा आधारित औद्योगीकरणमा चीन सरकारसँग मिलेर नेपाल काम गर्ने अवस्था सिर्जना हुन सक्ने देखिन्छ।
साथै, चीन नेपाल बिच भएको सम्झौताहरूमा, नेपाल राष्ट्रिय योजना आयोग र चीन राष्ट्रिय विकास तथा सुधार आयोग सम्बन्धी सहकार्य, हिल्सा सिमिकोट सडक परियोजना, नेपाल चीन पावर ग्रीड इन्टरकनेक्सन परियोजना, शिक्षा विज्ञान तथा नवीनताका क्षेत्रमा गरिने सहकार्य, कृषि, पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा गरिने सहकार्य, शास्त्रीय महत्वका पुस्तकहरूको अनुवाद र प्रकाशन, हरित तथा न्यून कार्बन विकासका क्षेत्रमा गरिने सहकार्य जस्ता कुराले एकातिर नेपालको विकासमा दूरगामी प्रभाव पर्दछन् भने अर्को तिर व्यापारका दायराहरू बढाउन मद्दत गर्दछन्।
सम्झौताको नाममा केवल असम्भव तर अतिरञ्जित सम्झौताहरू मात्र भएको अवस्था। कहिल्यै कार्यान्वयन हुन नसक्ने परिस्थिति जस्ता परम्परा अहिले तोड्ने प्रयास भयो। समयको आवश्यकता बुझेर व्यवहारिक मार्ग खोज्ने प्रयास भएको छ। के ती काम उपलब्धिका महत्त्वपूर्ण पक्ष र पाटाहरू हैनन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयक्त राष्ट्र संघको ७८ औँ महासभामा भाग लिई प्रधानमन्त्री प्रचण्ड जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी स्वदेश फर्किनु भएको हो। भ्रमणका अवसरमा प्रधानमन्त्रीले चीनका प्रधानमन्त्री राष्ट्रपति लगायत चिनिया कम्युनिस्ट पार्टीका विशिष्ट नेतृत्वहरूसँग विभिन्न अवसरमा भेटघाट, बैठक तथा छलफल भए। चीन भ्रमणकै क्रममा प्रधानमन्त्रीले हाङजाउमा आयोजित १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भए। केही आशातीत उपलब्धिका साथ प्रधानमन्त्री प्रचण्ड नेपाल फर्किनुभयो। तयारी लगायत धेरै कमी कमजोरीका बाबजुद प्रधानमन्त्रीको यो भ्रमण सफल रहेको दाबी गरिएको छ।