- नारायण गिरी
फ्रेरेको संक्षिप्त जीवनकाल : पाउलो फ्रेरे ब्राजिलका एक दार्शनिक थिए। उनी शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्दथे। उनले शिक्षाको परम्परावादी प्रणाली खारेज गरे र समाजवादी, जनतान्त्रिक र सहभागितामूलक दृष्टिकोणको विकास गरे। उनका अनुसार ‘शिक्षाले शिक्षार्थीहरूको वरिपरिको संसारसँग गम्भीर रूपले जोडिनको लागि सशक्त बनाउनेछ’। उनले शिक्षालाई केवल एउटा व्यक्तिले अर्को व्यक्तिलाई ज्ञान प्रदान गर्ने माध्यम मात्र मानेनन्, बरु शिक्षा व्यक्ति र समाज परिवर्तनको प्रक्रिया हो भन्ने कुरा स्पष्ट पारे।
उनले भने, ‘शिक्षा प्राप्त गर्नु भनेको आफ्ना अनुभव र ज्ञानले वस्तुगत सामाजिक संरचनाहरूका बारे सोच्न सक्ने शक्ति पैदा गर्नु हो, गलत र अन्यायको विरोध गर्न र समतामूलक समाज निर्माणको दिशामा सक्रिय रूपले काम गर्नमा सक्षम बनाउनु हो।’
पाउलो फ्रेरेको जन्म १९ सेप्टेम्बर १९२१ मा उत्तर-पूर्वी ब्राजिलको एउटा सानो शहर रेसिफको पेरनामबुकोमा भएको थियो। उनको पूरा नाम पाउलो रेग्लास नेभेस फ्रेरे हो। उनी गरिबी र अभावमा हुर्किएका थिए। गरिबिको सम्पूर्ण दर्शन उनको शिक्षा-दर्शनमा देखिन्छ। उनको प्रारम्भिक शिक्षा रेसिफको स्कूलमा भयो, तर सन् १९२९ को आर्थिक संकट पछि उनले स्कूलमा नियमित रूपमा पढ्न सकिरहेका थिएनन्। त्यसकारणले गर्दा स्कूलमा उनी पछाडि परेका थिए।
सामाजिक वर्गभेदको कारण बुझे : फ्रेरेले उनको स्कूल जीवनमा खान-लाउन नपाएर हैरान भएका र खान र लाउन पर्याप्त भएको विद्यार्थी साथीहरूको संगत गरे। त्यसैबेला देखि उनको मनमा ईश्वरले कोहीलाई गरिब र कोहीलाई धनी किन बनाउँदछन् भन्ने शंका उत्पन्न भयो। पछि उनले गरिब र धनी हुने कुरा ईश्वर प्रदत्त नभएर सामाजिक वर्गभेदको कारण रहेछ भन्ने बुझे। उनी भन्दछन्- मैले अझै यसको वास्तविक कारण खोजी गर्न सकिरहेको छैन।
बचपनमा नै उनले सामन्तवादी, पूँजीवादी, साम्राज्यवादी, नस्लवादी र फाँसीवादी उत्पीडनका अलग-अलग रूपहरूलाई बुझ्न पाएका थिए। उनले एघार वर्षकै उमेरमा मानिसले खान-लाउन नपाउने कुराको कारण खोजी खान पाउने बनाउन कसरी सकिन्छ भनी उपायको खोजीमा जुटे। बचपनको अनुभवले उनीमा गरिब र कम भाग्यशाली भनिएका मानिसका लागि केही न केही गर्ने हुटहुटी जागेको थियो।
जीवनमा एक दिन मात्र वकालत गरे : सन् १९३१ मा फ्रेरे परिवार जावाटाओमा बसाइ सरेको थियो। सन् १९३३ मा उनका पिताको देहान्त भयो। त्यसपछि उनको जीवन अझ कष्टमय अवस्था पुगेको थियो। उनले आफ्नो बेलाको सामाजिक स्थितिबाट सामाजिक वर्ग र ज्ञानको अन्तरसम्बन्धलाई बुझेका थिए।
सन् १९४३ मा उनले ‘यूनिभर्सिटी अफ रेसिफ’ मा कानूनको स्कूलमा भर्ना भए । उनले यहाँ दर्शनशास्त्र र भाषा मनोविज्ञान पनि अध्ययन गरे। आफ्ना कठिन परिस्थितिका बाबजुद विश्वविद्यालयमा प्रवेश गरेर उनले कानूनको डिग्री हासिल गरे। उनले कानून अध्ययन गरे पनि जीवनमा एकदिन मात्र वकालत गरेका थिए।
दर्शनका प्रोफेसर : उनले सुरुमा माध्यमिक तहमा पोर्चुगिज भाषा पढाएका थिए। सन् १९४४ मा फ्रेरेको इल्जा माइयासँग विवाह भएको थियो। उनी शिक्षिका पेशामा आवद्ध रहेकी थिइन्। उनीहरूका पाँच सन्तान थिए। सन् १९४६ मा फ्रेरेले सामाजिक सेवाअन्तर्गत शिक्षा तथा संस्कृति विभागमा काम गरेका थिए। यही बेलामा उनले शिक्षाबाट वञ्चित व्यक्ति कसरी अधिकारबाट वञ्चित हुन्छन् भन्ने कुरामा गहन अध्ययन गरेका थिए।
सन् १९५९ मा उनले रेसिफ विश्वविद्यालयबाट डाक्टरेटको उपाधि प्राप्त गरेका थिए र त्यही विश्वविद्यालयमा शिक्षाको इतिहास तथा शिक्षा दर्शनको प्रोफेसरको रूपमा उनको नियुक्ति भएको थियो। त्यसपछि उनले विभिन्न साक्षरता सम्बन्धी कार्यक्रमहरू सुरु गरे। फ्रेरेको चिन्तनले ल्याटिन अमेरिकी क्रान्तिकारी जनआन्दोलनको आन्तरिक तहसम्म गहिरो प्रभाव पारेको थियो।
शिक्षा वर्गीय हुने : सन् १९५० पछि ब्राजिलमा जनआन्दोलन तीव्र भयो। सन् १९६१ मा रेसिफ विश्वविद्यालयको सांस्कृतिक विस्तार विभागको निर्देशक भएपछि राष्ट्रिय साक्षरताको अभियानको माध्यमबाट फ्रेरेले आफ्ना देशका विभिन्न भागमा यात्रा गरे। सन् १९६२ मा उनी सामूहिक अशिक्षाबाट मुक्तिको लागि एक शैक्षिक परियोजनामा सामेल भए।
कामको सिलसिलामा उनले उत्पीडनका विभिन्न रूपहरूलाई धेरै निकटबाट हेर्ने, परीक्षण गर्ने र त्यसको विश्लेषणसमेत गर्ने मौका पाए। यो अभियानले शोषणलाई गहिरोसँग अनुभूत गर्ने अवसर पाए। शिक्षामा जनता र शासक वर्गमाथि विचार गर्दै उनले शिक्षा पनि राजनीति नै हो, जसरी राजनीति वर्गीय हुन्छ, त्यसरी नै शिक्षा पनि वर्गीय हुन्छ भन्ने निष्कर्ष निकाले।
पन्ध्र वर्षसम्म देश निकाला : सन् १९६४ मा ब्राजिललाई सेनाको एउटा समूहले नियन्त्रणमा लिएको थियो। त्यसकारण फ्रेरेको जनजागरण सम्बन्धी कार्यक्रम अगाडि बढ्न सकेन। उनलाई बन्दी बनाएर जेल हालियो। ७५ दिन जेल हालेपछि उनलाई निर्वासित गरियो। यसपछि फ्रेरेको जीवन धेरै कठिन भयो। जीवनको लगभग पन्ध्र वर्षसम्म उनले देश निकालामा बिताए। उनी निर्वासनको क्रममा पहिले वोलिभिया गए र पछि चिली गए। त्यहाँ उनले ‘क्रिश्चियन डेमोक्रेटिक एग्रेरियन रिफर्म मुभमेन्ट’ र संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको लागि काम गरे। केही समय उनी संयुक्त राज्य अमेरिका पनि बसे।
सिकाइको गुरु पेडागोजीका आविष्कार : सन् १९६८ मा फ्रेरेको विश्व प्रसिद्ध पुस्तक ‘पेडागोजी अफ अप्रेस्ड’ पोर्चुगिज भाषामा पहिलो पटक प्रकाशित भएको थियो। सन् १९६९ मा फ्रेरेले हावर्ड विश्वविद्यालयमा आगन्तुक प्रोफेसरका रूपमा काम गरेका थिए। त्यसपछि १९७० मा उनको पुस्तक ‘पेडागोजी अफ अप्रेस्ड’ अंग्रेजी र स्पेनिश भाषामा पनि प्रकाशित भयो।
उनले निर्वासनकै क्रममा ल्याटिन अमेरिका र अफ्रिकन लगायतका देशहरूमा शिक्षासम्बन्धि महत्त्वपूर्ण कार्यहरू गरेका थिए। यही बेला उनले जेनेभामा शिक्षा विभागको शैक्षिक सल्लाहकार भएर पनि काम गरे। त्यसपछि उनले अफ्रिकाका पोर्चुगिज उपनिपेशहरूलाई शैक्षिक सुधारको सल्लाह दिएका थिए।
मजदुर दल निर्माण : सन् १९७९ मा सैनिक शासनको अन्त्यपछि आममाफी पाएर उनी ब्राजिल फर्किएका थिए। उनले संसारका धेरै ठाउँको भ्रमण गरेर सबै ठाउँमा साक्षरता कार्यक्रमलाई व्यवस्थित गर्नको लागि सहायता प्रदान गरे। पछि फ्रेरेले ब्राजिलको साओ पालो शहरमा शिक्षा सचिवको रूपमा काम गरे।
यो शहरका मार्क्सवादी मेयरले उनलाई यो पदमा नियुक्त गरेका थिए। साउ पाउलोमा सन् १९८० देखि १९८६ सम्म उनले शिक्षा परियोजनाको सिद्धान्तकार भएर काम गरेका थिए। ब्राजिल फर्किने बित्तिकै उनले आफ्नो प्रत्यक्ष संलग्नतामा मजदुर दलको निर्माण गरेका थिए।
हृदयघातका कारण देहान्त : सन् १९८८ मा उनी संलग्न पार्टीले नगरको निर्वाचनमा जितेपछि त्यहाँको शिक्षा सचिव भएर काम गरेका थिए। उनी आफ्नो देशमा चलेको साक्षरता अभियानसँग घनिष्ठ रूपले जोडिएका थिए। जनशिक्षा अभियानमा फ्रेरेको महत्त्वपूर्ण योगदान रह्यो। सन् १९८६ मा फ्रेरेकी श्रीमतीको मृत्यु भएकोले मारिया अरौजोसँग दोस्रो विवाह गरेका थिए। शिक्षाविद् तथा दार्शनिक पाउलो फ्रेरेको सन् १९९७ को २ मईमा ब्राजिलको साओ पाउलो राज्यमा हृदयघातका कारण देहान्त भयो।
पुरस्कार र सम्मान : उनलाई बेल्जियमले सन् १९८० मा अन्तर्राष्ट्रिय विकासको लागि राजा बलुद्दिन पुरस्कार दिएको थियो। त्यसैगरी उनलाई यूनेस्कोले शान्तिको लागि शिक्षा १९८६ पुरस्कार दिएको थियो। उनले सन् १९९२ मा अमेरिकी राज्य संगठन (OAS) ले शिक्षाको लागि ‘एन्ड्रेस बेलो इन्टर-अमेरिकन’ पुरस्कार दिएको थियो।
पाउलो फ्रेरेका प्रमुख पुस्तक : पाउलो फ्रेरेका प्रमुख पुस्तकहरूमा- ‘पेडागोजी अफ अप्रेस्ड’ (१९७०), ‘कल्चरल एक्सन एण्ड फ्रिडम’ (१९७०), ‘एजुकेसन फर क्रिटिकल कन्सस्नेस’ (१९७३), ‘एजुकेशनस् द प्राक्टिस एण्ड फ्रिडम’ (१९७६), ‘द पोलिटिक्टस अफ इजुकेशन’ (१९८५), ‘पेडागोजी अफ होप’ (१९९४) मुख्य हुन्। उनले अन्यसँग मिलेर पनि धेरै किताबहरू लेखेका छन्।
शोरसँग मिलेर उनले ‘पेडागोजी फर लिबिरेशन’ (१९८७), एन्टोनियो फोंडेजसँग मिलेर ‘लर्निङ टु क्वेशनस् ए पेडागोजी अफ लिबिरेसन’ (१९८९) र माइलेस हर्टनसँग मिलेर ‘वी मेक दि रोड वाइ वाकिङस् कन्भर्सेसन्स इन एजुकेसन एण्ड सोशल चेन्ज’ (१९९०), आदि हुन्।
यी सबैमा उनको विश्व प्रसिद्ध पुस्तक उत्पीडितहरूको शिक्षा शास्त्र हो। यसले शिक्षाको क्षेत्रमा मात्र होइन, बरु दर्शन, विज्ञान, अर्थशास्त्र, समाजशास्त्र, राजनीति, साहित्य, शोध र आलोचना, आदि अनेकौं क्षेत्रमा संसारका मानिसहरूलाई अति धेरै प्रभावित गरेको छ।
पाउलो फ्रेरेको शिक्षा-दर्शन : फ्रेरेले शिक्षा दर्शनमा आवश्यकता पूर्तिको लागि व्यक्तिले वातावरणसँग जुन प्रतिक्रिया गर्दछ, त्यही प्रतिक्रिया नै शिक्षा हो भन्ने कुरा स्पष्ट पारेका छन्। शिक्षा व्यक्तिगत विकासको कारक हो। औद्योगिक शिक्षा एवम् व्यक्तित्व विकासमा पारस्परिक निर्भरता हुन्छ। बचपनदेखि नै हामीलाई व्यक्तित्व विकासको आवश्यकता हुन्छ।
यो आवश्यकता पूर्तिको लागि हामी शिक्षा ग्रहण गर्दछौं। शिक्षा ग्रहण गरेपछि हाम्रो व्यक्तित्व विकास हुन्छ। आवश्यकताले नै हाम्रो शिक्षाको स्वरूप निर्धारण गर्दछ। शिक्षा जस्तो हुन्छ, त्यही अनुसारको व्यक्तित्वको विकास हुन्छ। त्यसरी नै व्यक्तित्व विकास अनुरूप नै हाम्रा आवश्यकताहरूको निर्माण हुन्छ।
सरल बनाएर पढाउन : फ्रेरेले पाठ्यक्रममा पूर्ण रूपले परिवर्तन गर्ने कुरालाई स्वीकार गरेका छन्। उनी सुरुमा धार्मिक पुस्तकहरूबाट प्रभावित भए पनि पछि कार्ल मार्क्स र उनका विचारहरूबाट धेरै प्रभावित भएका थिए। यद्यपि उनले मार्क्सका सिद्धान्तहरूलाई आलोचनात्मक दृष्टिले हेरे। मार्क्सबाट प्रभावित उनले सबै शिक्षार्थीहरूलाई मार्क्सका अनुसार सामाजिक अन्तर्विरोधहरूलाई बुझ्ने परामर्श दिए।
पाउलो फ्रेरे एरिक, सार्च, माओ, फ्रोम, मार्टिन लुथर किङ जस्ता चिन्तकहरूका विचारहरूलाई पाठ्यक्रमको अंग बनाउन चाहन्थे। फ्रोन्च फेनलको पुस्तक ‘द रेचिड अफ द अर्थ’ अर्थात् संसारका अभागी मानिसबाट उनी धेरै प्रभावित भएका थिए। उनका अनुसार विद्यार्थी गणित, इतिहास, भूगोल जस्ता विषयहरूमा असफल भएकोले गर्दा यी विषयहरूलाई सरल बनाएर पढाउनु पर्दछ।
पाठ्यक्रमको पुनर्गठनमा जोड : फ्रेरेले पाठ्यक्रमको पुनर्गठनमा जोड दिएका थिए। उनका अनुसार यसको लागि दार्शनिक, कला शिक्षक, भौतिक वैज्ञानिक, समाज शास्त्रीहरूको आवश्यकता पर्दछ। पाठ्यक्रमलाई विस्तृत र उपयोगी बनाउनको लागि उनीहरूको सहायता प्रभावकारी हुन्छ। शिक्षा, कला, नीति शास्त्र, मानव अधिकार, खेल, सामाजिक वर्ग, भाषा, दार्शनिक विचारधारा, आदि जस्ता विभिन्न ज्ञानका शाखाहरूमा व्यापक रूपले चर्चा-परिचर्चा गरेर पाठ्यक्रमको पुनर्संरचना ठीक ढंगले गर्नुपर्दछ।
पाठ्य चर्चामा अलपसंख्यकहरूको मूल्यमान्यताहरूलाई पनि सामेल गर्नुपर्दछ। फ्रेरेका अनुसार पाठ्यक्रम जड, असंवेदनशील र अनुपयोगी हुनुहुँदैन। यसलाई पूर्ण रूपले उपयोगी बनाउनुपर्दछ। प्रायः पाठ्यक्रम यसका निर्माताहरूको लाभलाई ध्यान दिएर बनाउने गरेको देखिन्छ। तर पाठ्यक्रम बनाउँदा जहिले पनि शिक्षार्थीहरूलाई ध्यानमा राखेर बनाउनुपर्दछ।
जनवादी पाठ्यक्रम महत्त्वपूर्ण : फ्रेरेका अनुसार सामान्य वर्गको लागि उपयुक्त हुने पाठ्यक्रम प्रभुत्व सम्पन्न वा धनी वर्गको लागि हितकारी नहुन सक्छ। पाठ्यक्रममा समाजवाद र साम्यवादका विचारहरूलाई अग्रणी स्थान दिनुपर्दछ। जनवादको वास्तविक स्वरूपलाई पाठ्यक्रममा सामेल गर्नुपर्दछ। तर जनवादको वर्तमान विकृत रूपलाई पाठ्यक्रममा समावेश गर्नुहुँदैन। पाठ्यक्रममा जनवादी भावनाको वास्तविक स्वरूपलाई अनिवार्य बनाउनु पर्दछ।
पाठ्यक्रम जनवादी भएपछि शिक्षार्थीहरूले आफ्नो शिक्षालाई सही आकार दिनमा सक्रिय भूमिका निभाउन सक्दछन्। त्यसकारण संगठन, सहभागिता र सामाजिक परिवर्तनको विकास गर्नको लागि एक जनवादी पाठ्यक्रम महत्त्वपूर्ण हुन्छ। पाठ्यक्रमले सामाजिक र आर्थिक न्यायमा ध्यान दिनुपर्दछ। यसले धरातलीय यथार्थतालाई समेट्नुपर्दछ।
विद्यार्थी-सहितको योजना : शिक्षा शिक्षार्थीहरूको जीवनको लागि प्रासंगिक र सार्थक हुनुपर्दछ। यसको लागि पाठ्यक्रम शिक्षार्थीहरूको अनुभवमा आधारित हुनुपर्दछ र यसलाई आलोचनात्मक प्रतिबिम्ब र सामाजिक परिवर्तनको विकास गर्ने गरी योजना बनाएर निर्माण गर्नुपर्दछ। पाठ्यक्रम बनाउँदा सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भलाई सम्बोधन गर्नको लागि विद्यार्थीसहितको योजना बनाउनुपर्दछ।
पाठ्यक्रम शिक्षार्थीहरूलाई आफ्ना अनुभवहरूमाथि गम्भीर प्रतिबिम्बित गर्ने र आफ्ना वरिपरिको संसारसँग सार्थक रूपले जोडिनमा सक्षम बनाउनुपर्दछ। पाठ्यक्रम समस्यामा आधारित हुनुपर्दछ, जहाँ शिक्षार्थीहरूलाई वास्तविक संसारका समस्याहरूको पहिचान गरी त्यसलाई हल गर्नको लागि प्रोत्साहित गर्न सकियोस्। महत्त्वपूर्ण सोच, सहयोग र सक्रिय संगठनलाई विकास गर्नको लागि समस्यामा आधारित शिक्षा एक प्रभावकारी माध्यम हो।
शिक्षण विधिमा महत्त्वपूर्ण पक्ष संवाद पद्धति : फ्रेरेका अनुसार शिक्षण विधि शिक्षार्थीहरूलाई सशक्त बनाउने र महत्त्वपूर्ण सोच तथा सामाजिक परिवर्तनलाई विकास गर्ने गरी योजनाबद्ध ढंगले निर्माण गरिनुपर्दछ। पारम्परिक तरीका, व्याख्यानमा आधारित निर्देशन सार्थक सिकाइको लागि अप्रभावकारी र दमनकारी विधि हुन्।
फ्रेरेले सबभन्दा महत्त्वपूर्ण शिक्षण विधि संवाद पद्धतिलाई मानेका छन्। यस विधिअनुसार शिक्षा सूचनाको एकतर्फी प्रसारको सट्टा शिक्षक र विद्यार्थीहरूको बीचमा बातचित हुनुपर्दछ। संवाद पद्धतिमा शिक्षक र विद्यार्थी सह-निर्माणको सहयोगी प्रक्रियामा संलग्न हुन्छन्, जहाँ उनीहरू संयुक्त रूपले ज्ञान र अर्थको निर्माण गर्दछन्। संवाद पद्धतिलाई महत्त्वपूर्ण सोच, सहयोग र सक्रिय संगठन निर्माणको विकासका लागि योजनाबद्ध गरिएको हुन्छ।
प्रभावकारी शिक्षण वातावरण : फ्रेरेका अनुसार शिक्षण सिकाइ भावनात्मक रूपले आकर्षक हुनुपर्दछ। प्रभावकारी शिक्षण वातावरणमा शिक्षार्थीहरू आफ्ना भावनाहरूसँग जोडिन र अन्यलाई सहानुभूतिको भावना विकसित गर्नको लागि प्रोत्साहित गर्न सक्छन्। सहानुभूति सहयोग र सामाजिक परिवर्तनलाई विकास गर्नको लागि एक प्रभावकारी शिक्षण वातावरण तयार गरिनुपर्दछ।
फ्रेरे प्रभुत्व सम्पन्न र शोषकहरूको विरोधी थिए। उनका अनुसार साक्षरताले त्यतिखेर अर्थ राख्दछ, जतिखेर निरक्षर व्यक्ति आफ्नो अवस्था, आफ्नो काम र संसारमा परिवर्तन ल्याउने आफ्नो क्षमतालाई लिएर सोच्न लाग्नेछन्। यही नै चेतना हो। उनीहरूलाई संसार हाम्रो हो, शोषकहरू र प्रभुत्व सम्पन्न वर्गको होइन भन्ने कुरा थाहा हुनुपर्दछ। त्यो नै वास्तविक साक्षरता हो।
ज्ञान समाजबाटै पूर्ति हुने : फ्रेरेका अनुसार आवश्यकता पूर्तिको लागि साधनको ज्ञान हामीलाई समाजबाट नै प्राप्त हुन्छ भन्ने कुरा सर्वविदित छ। यसको साथै साधनको स्वरूपलाई पनि समाजले नै निर्धारित गर्दछ। उदाहरणतः शरीर ढाक्नका लागि हामीलाई वस्त्र साधनको ज्ञान समाजबाट नै प्राप्त हुन्छ।
वस्त्रहरूको स्वरूपलाई पनि समाजले नै निर्धारित गर्दछ। जस्तो कि ग्रामीण समाजमा सानो उमेरदेखि नै केटीहरू साडी लाउन सुरु गर्दछन् र शहरी समाजमा धेरै उमेरसम्म पनि केटीहरू स्कर्ट, जिन्स पेन्ट, आदि लुगा लाउँदछन्। समाजमा प्रत्येक कार्यको सम्पादन एक निश्चित स्तरबाट हुन्छ।
राम्रो विचारका लागि सोचभन्दा कौशल जरुरी : समाजमा विभिन्न कार्यहरूको लागि विभिन्न प्रकारका भिन्न स्तरका योग्यता भएका व्यक्तिहरूको आवश्यकता हुन्छ। जस्तो कि भवन निर्माण योजनामा एउटा व्यक्तिले नक्सा बनाउँदछ, अर्कोले त्यसलाई कार्यान्वयन गर्दछ। यो योजना पूरा गर्नको लागि पर्खाल बनाउने, ढलान गर्ने, छत बनाउने, वायरिङ गर्ने, प्लम्बिङ गर्ने, रंग लगाउने, आदि विभिन्न प्रकारका कार्य गर्नेहरूको आवश्यकता हुन्छ।
एउटा काम गर्ने क्षमता भएको मानिसले अर्को प्रकारको कार्य उचित दक्षतापूर्वक गर्न सक्दैन। त्यसकारण भवन निर्माण मात्र होइन, कुनै पनि योजनामा कुशल कारिगरको नै बढी आवश्यक हुन्छ। कारिगरहरूको मानसिक योग्यताको स्तर सामान्य हुन्छ। किनभने उनीहरूको आफ्नो कार्यलाई औद्योगिक प्रशिक्षण संस्थानहरूको स्थापना राम्रोसँग गर्नको लागि सोचविचारभन्दा कौशलको बढी आवश्यकता हुन्छ।
औद्योगिक प्रशिक्षण संस्थान स्थापना : सामान्य योग्यता भएका व्यक्तिहरूलाई विभिन्न व्यवसायहरूको प्रशिक्षण दिएर प्राविधिकहरू तयार गर्ने उद्देश्यले नै औद्योगिक प्रशिक्षण संस्थानहरूको स्थापना भएको हो। बढ्दै गएको औद्योगिकीकरणको कारण प्राविधिक शिक्षा संस्थानहरूको धेरै विकास भएको छ र भविष्यमा अझ धेरै विकास हुन्छ।
फ्रेरेका अनुसार भोक र अन्य दैनिक एवम् शारीरिक आवश्यकताहरूको पूर्ति सबैले गर्नुपर्ने हुन्छ। त्यसकारण हामीले व्यक्ति साक्षर र शिक्षित भएर आफ्ना आवश्यकताहरूको पूर्ति राम्रोसँग गर्न सकोस् भन्ने प्रयास गर्नुपर्दछ। शिक्षाद्वारा दैनिक आवश्यकता परिपूर्ति हुनुका साथै असल व्यक्तित्व निर्माण हुनुपर्दछ। मानिसले व्यवहार कुनै आवश्यकताको कारणले नै गर्दछ।
मानिसका सबै क्रियाहरू सोउद्देश्यीय हुन्छन्। मानिसले गर्ने एउटा क्रियाबाट आवश्यकता पूर्ति नभएपछि उसले आफ्नो आवश्यकता पूर्तिको लागि अन्य क्रियाहरू गर्दछ। मानिसले गर्ने क्रियाबाट नै उसलाई अनुभव प्राप्त हुन्छ। यही अनुभवबाट नै उसको व्यक्तित्वको विकास हुन्छ।
सिकाइ र ज्ञानको क्षेत्र : सुरुमा हाम्रा आवश्यकताहरू समिति हुन्छन् किनकि हाम्रो ज्ञानको क्षेत्र सीमित हुन्छ। तर हाम्रो विकास हुँदै गएपछि जानकारीको क्षेत्र पनि बढ्दै जान्छ। हाम्रा अनुभवहरूमा विविधता आउँदछ। ज्ञानमा वृद्धि भएको कारणले हाम्रा आवश्यकताहरूको क्षेत्रमा पनि वृद्धि हुन्छ। यी वृद्धि भएका आवश्यकताहरूको पूर्ति गर्नको लागि हाम्रा अनुभवहरूमा वृद्धि हुन्छ।
यसको परिणामस्वरूप हाम्रो व्यक्तित्वको विकास हुन्छ। जस्तो कि सुरुमा हामी अक्षर-ज्ञान सिक्दछौं। अक्षर सिकेपछि हाम्रो ज्ञानको क्षेत्रको विकास हुन्छ। त्यसपछि हामीलाई अझ बढी जान्ने र बुझ्ने आवश्यकता हुन जान्छ। त्यसपछि हामी भाषा ज्ञान सिक्दछौं। त्यसैगरी सरल साहित्य पढ्न सिक्दछौं र यो क्रम निरन्तर चलिरहन्छ।
आवश्यकता के रहेछ त : आवश्यकता पूर्तिको लागि व्यक्तिमा आन्तरिक प्रवृत्तिहरूको रूपमा विद्यमान रहने प्रेरक व्यक्तित्वलाई नै आवश्यकता भनिन्छ। आवश्यकताको स्वरूप हाम्रा आन्तरिक प्रवृत्तिहरूमा निर्भर हुन्छ। प्रत्येक व्यक्तिको व्यक्तिगत आवश्यकताहरूमा अन्तर पाइन्छ। त्यसकारणले गर्दा नै व्यक्तिहरूले एउटै आवश्यकता पूर्तिको लागि फरक-फरक साधनको प्रयोग गर्दछन्। साधनहरूलाई प्रयोग गर्ने तरीका पनि फरक-फरक हुन्छ। त्यसकारण आवश्यकताको स्वरूप व्यक्तिका आन्तरिक प्रवृत्तिहरूमा निर्भर हुन्छ।
(आदरणीय पाठकहरू, यो लेखको यो आधा अंश मात्र अहिले प्रस्तुत गरिएको छ। बाँकी अंश आउने मंगलबार यसरी नै प्रकाशित हुने ब्यहोरा सबै पाठकमा अनुरोध गर्दछौं- सम्पादक)