संसद बन्धक राखेर समस्याले निकास पाउँदैन

सम्पादकीय

sansad-parliyament
लोकपाटी न्यूज
11 Shares

 नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद्मा दुई घण्टा बोले। हरेक पटक डेढदेखि दुई घण्टा उनका लागि सामान्य बन्दछ। उनी के बोल्छन् ? लामो लामो भाषणमा। अक्रोस् पोख्छन्, धम्की दिन्छन्, आरोप लगाउँछन्। समय चपाइ चपाइ दुई घण्टा खान्छन्। हिजो पनि त्यही भयो। सुन्नेलाई कस्तो लाग्यो होला त! मेरा एक जना गुरुले भन्नुहुन्थ्यो अँध्यारोमा बसेर झुम्रो चपाएको जस्तो। मैले एक प्रतिपक्ष सांसदलाई पनि सोधे तपाईंलाई वलीको सम्बोधन कस्तो लाग्यो।

उनले भने ‘चुइङ्गम चपाए जस्तो। सुरुमा त गुलियो जस्तो लग्यो तर पछि त स्वाद न व्याध! चपाएको छ चपाएको छ! न थुक्न मिल्ने, न निल्न मिल्ने!’ दुई घण्टा वलीको भाषणमा के थियो त ? सत्ता पक्षका एक सांसदलाई सोधेँ। ‘यो केही हैन प्रधानमन्त्री बन्न नपाएको पीडा, यसलाई भाषण भन्नुहुन्छ तपाइ!,’ जोड्दिँदै भने, ‘यो त रोधन हो! क्रन्दन हो! कमसेकम बोलीमा केही तुक त हुन पर्‍यो! राष्ट्रका गहन सवालसँग सम्बन्धित त हुन पर्‍यो। संसद्मा पो, आएर बोलेको हो नि त!’

संसद्लाई बन्धक राखेर देश चल्दैन। न त समस्याले निकास नै पाउँछ। हरेक समय केपी ओली संसद्का महत्त्वपूर्ण समय यसरी ध्वस्त गर्नमा नै बिताउँछन्। कहिले आदेश दिन्छन्, मनगणन्ते ज्ञान बाँड्छन्, कहिले कथा भन्दछन् कहिले टुक्का सुनाउँछन्, मानौं संसद् ओलीको मनोरञ्जनको थलो हो। लाग्दछ, उनको परिभाषा अनुसार सत्ता प्राप्तिको एक मात्र साधन संसद् हो। प्रधानमन्त्री भएकाले यत्ति त हेका राख्न पर्‍यो नि! संसद् एउटा निश्चित प्रस्ताव बोकेर अगाडि बढ्दछ। त्यो प्रस्ताव त्यस दिन उसले दिने उत्पादन हो। त्यो दिन त्यो उत्पादन गर्न सकेन भने देश र जनताका लागि ठाडो घाटा सिवाय केही हैन। अर्को दिन उसले अर्कै उत्पादन दिनुपर्ने हुन्छ। कति महत्त्व छ, संसद् भित्रको समय! कसले कसलाई सम्झाउने हो। यति विधि सभासद्हरू छन्, उनका कुरा कसले सुन्ने ? उनीहरूले पीडा कहाँ पोख्ने ?

बोल्न चाहायो भने जति समय पनि दिने ? अचम्म छ। पाइन्छ ? तानासाहहरूले मात्र यस्तो गर्दछन्। लोकतन्त्रवादीले यस्तो गर्नै सक्दैन। उ एउटा विधि पद्धति अधीनस्थ भएको अनुभव गर्दछ। यहाँ त एउटा तानासाह उदाउन खोजे जस्तो पो देखिन्छ त! संसद्मा बसेर बेहोस बनेर कुर्लने, आहत खप्दै मन्त्री सांसदहरू सुन्न पर्ने! यही हो संसदीय मर्यादा र अभ्यास! कस्तो संस्कृति कसका लागि विकास गर्दछौं। न नियम न नैतिकता! चल्दछ, देश यसरी! यी यस्ता भेषधारीहरूले कता लान खोज्दै छन् देसलाई, जनताले सयौं वर्षदेखि गर्दै आएको यो संघर्षको प्रतिफललाई। रैतीबाट शासक बनाएका जनताको आस्था, भरोसा र विश्वासलाई। लाग्दछ कतै खुनी पन्जाहरूले संसद्लाई किम् कर्तव्य विमूढ तुल्याएर राष्ट्रिय अस्मिता र स्वाधीनतालाई कप्ल्याक्क निल्न खोज्दै त छैनन्!

जब एक व्यक्तिले म नै राज्य हो भन्ने सोच्दछ भने यो अवस्था सिर्जना हुन्छ। यसको प्रभाव भोलि राज्य विलोपिकरणको दिशामा पुग्न बाध्य हुन्छ। संसद्मा पेस गरिने हरेक प्रस्तावहरू जनतासँग सरोकार हुन्छन्। समय थोरै हुन्छ। गर्न पर्ने काम धेरै हुन्छ। जनताको आशा भरोसा बोकेर केही गर्ने अठोटका साथ सदनमा प्रवेश गरेका संसद्हरू दिनभर गनपते भाषण सुन्न बाध्य हुन्छन्। जसलाई समयको पाबन्दी छैन। मानौं यो राष्ट्रको सबै भन्दा ठूलो काम भनेको एक व्यक्तिले संसद्मा पुगेर मनलाग्दी बोल्न पाउनु हो। संसद् राष्ट्रको आवाज हो। कुनै कुण्ठाको भोटे ताल्चा सभासद्माथि लाइनुहुन्न। उनीहरूलाई जति काम दिन सकिन्छ, त्यति जनताको हितमा काम हुन्छ। देश समस्यै समस्यामा गुज्रेको छ। सबै मिलेर यसको समाधान खोज्न पर्दछ। चुनावमा त जसले राम्रो गर्दछ, त्यसैले जित्ने हो। सरकारमा बस्नेले मात्र राम्रो गर्छ भन्ने छैन। इतिहासले प्रमाणित गरेको छ। राम्रो प्रतिपक्ष जहिले पनि विकासको अग्र मोर्चामा बसेर सरकारलाई तोबा तोबा पारिरहेको हुन्छ।

आज युवाका समस्या अलपत्र छन्। मजदुर, किसान आहतमा छन्। रोजगारका अवसर खुलाउन सकिरहेको छैन। अन्तर्राष्ट्रिय परिवेशले बढेको महँगीको मारले सरकार नतमस्तक बनेको छ। देशको उत्पादन घट्दो छ। परनिर्भरता बढ्दो छ। युवा शक्ति विदेश पलायन हुँदै छ। पैठारीको तुलनामा निकासी धेरै गुनाले घट्दो छ। किन यसको खोजी स्थल, छलफल स्थल संसद् बन्न सक्दैन रु किन यस बारे कुनै संवेदनशील रूपमा कुरा उठाइँदैन। करण खोजिँदैन। समाधानका उपाय बत्ताइँदैन। किन कि, अरू यी समस्या हल गर्ने तागत राख्दैनन् म भए सबै चुड्कीका भरमा समाधान गर्न सक्छु भन्ने घमन्डले प्रश्रय पाइरहेको छ। यो नेपाल र नेपालीको लागि अभीष्ट छ।

सस्तो राजनीति गर्न सबैलाई छुट छ, तर गम्भीर भएर सोच्न, छलफल गर्न कसैलाई फुर्सद छैन। संसद्मा उठाउन नपर्ने विषय उठाएर संसदीय मर्यादालाई उठिबास लगाउन खोज्नु राजनीति हैन। कुण्ठा नीति हो। आफ्नै कमजोरी हो। विरोध नै नेपाली जनताको पहिलो आवश्यकता ठान्ने प्रतिपक्षी सोचले सांसदलाई केही गर्न दिएको पाइँदैन। गरोस् पनि कसरी। पन्ध्र मिनेट टेबल टक गरेर समाधान हुने कुरामा, महिनौं संसद् अवरुद्ध भयो। किन ? खुल्यो किन ? त्यसको प्रभाव के रह्यो ? मात्र आरोपमाथि आरोप थोपार्ने बाहेक अरू उपलब्धि भएन। अरूलाई हातखुट्टा बाँधेर म धेरै दौडन सक्छु भन्नेले कहिल्यै दौड पुरा गर्दैन। अरूलाई काम गर्न दिन्न म गर्छु भन्ने ले पनि केही काम गर्दैन। काम गर्नेले त सबैलाई साथ लिएर हिँड्ने तागत राख्नु पर्दछ।

हुन त दुई तिहाइ संसद् लिएर प्रधानमन्त्री बन्ने व्यक्तिले नै संसद् विघटन गर्न प्रयास गर्ने व्यक्तिका कुरा गरेर के साध्य होला र! तर पनि छाडा साँढे बनेर हिँड्नेका डरले लुक्ने भाग्ने नतमस्तक हुने हो भने, नेपाली जनताले कहिल्यै मुक्ति पाउने छैनन्। राजनीतिमा व्यक्ति स्वयमको स्वार्थ बाहेक अरू केही नदेख्नेले देशको भलो गर्दछ भनेर विश्वास गर्नै हुँदैन। बारम्बार अवसरहरूलाई जुवाको दाउमा राख्नेहरूले अब अवसर पायो भने जुवा खेल्दैन भन्न हुँदैन। यो देश र जनताको भविष्यसँग जोडिएको सवाल हो। अमूर्त रूपमा नेपाली राजनीतिमा विदेशीको गहिरो प्रभावको सवाल हो। सयौं वर्षको सामन्तवादी राज्यसत्ता फालेर स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धको प्रयास हो। अर्को छोटे राजा जन्मेर नेपालीलाई पुनः रैती बनाउने प्रयास हो। नेपाल र नेपालीका लागि केही गर्न पर्दछ, भन्नेहरूले अब गम्भीर रूपले सोच्ने दिन आएको छ। तेरो मेरो नभनी गलतलाई गलत र सहिलाई सही भन्ने दिन आएको छ। सबैमा चेतना भया। …अस्तु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्