भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने निर्णय

लोकपाटी न्यूज
6 Shares

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ।

खोज, उद्धार, राहत वितरण कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। उनले भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए।

मंगलबार बझाङमा गएको भूकम्पमा परी जयपृथ्वी नगरपालिकाकी गुनमती धामीको मृत्यु भएको छ। भूकम्पसँगै पहिरो जाँदा बेपत्ता भएकी उनी मृत फेला परेकी थिइन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम, बैतडी र बाजुरामा गरी २७ जना घाइते भएका छन्। भूकम्पको झड्काका कारण करिब ३२ सरकारी, तीन सय संख्यामा विद्यालय भवन तथा व्यक्तिगत घरमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्