भोट माग्न मलेसिया पुगे उपाध्यक्ष श्रेष्ठ

लोकपाटी न्यूज
3 Shares
  • विवश काफ्ले

मलेसिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष महेशकुमार श्रेष्ठ आसन्न निर्वाचन लक्षित भ्रमणको क्रममा गरेर मलेसियामा आइपुगेका छन्। उनलाई एनआरएनए एनसिसि मलेसिया र नेपाली जनसम्पर्क समिति मलेसियाले स्वागत गरेको छ।

श्रेष्ठ एनआरएनएको आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन्। उनले त्यहाँ एनआरएनएका प्रतिनिधि र गैरआवासीय नेपालीसँग अन्तर्क्रिया गर्नेछन्। अक्टोबर १७ देखि सुरु हुने एनआरएनएको ११औँ महाधिवेशनका लागि उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषण गरिसकेका छन्।

उम्मेदवारी घोषणा गरेसँगै श्रेष्ठले आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरिसकेका छन्। जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ, एनआरएनएको संकल्प: नेपालको समुन्नति, अबको कार्यभार: एनआरएनएको हक, हित र अधिकार, एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, मेरो प्राथमिकता: युवा, महिला तथा दोस्रो पुस्ता लगायतका विषयमा उनले प्रतिबद्धता जाहेर गरेका छन्।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नाराका साथ निर्वाचनमा होमिएका श्रेष्ठ यतिबेला विश्व भ्रमणमा रहेका छन्। सोही भ्रमणको क्रममा युरोपियन मुलुक, खाडी मध्यपूर्व हुँदै कुवेतदेखि मलेसिया आइपुगेका हुन्। भ्रमणको क्रममा उनले गैरआवासीय नेपालीका कुरा सुन्ने, उनीहरूको अवस्थाबारे बुझ्ने र गैरआवासीय नेपालीको साझा संस्था एनआरएनएलाई कसरी बलियो र प्रभावकारी बनाउने भन्ने सन्दर्भमा सुझाव सल्लाह पनि लइरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्