काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुदूरपश्चिम प्रदेशमा जाँदै छन्। गत मंगलबार र बुधबार बझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम प्रदेश जान लागेका हुन्।
उनले भुकम्पको केन्द्रबिन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाई आवश्यक निर्देशन दिने छन्।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण केन्द्रबिन्दु बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न यसअघि नै निर्देशन दिएका थिए।