- निनाम लोवात्ती
विश्वका विभिन्न सभ्यताहरूमध्ये एक हो हो ‘-किरात सभ्यता ।’ किरात सभ्यतालाई विश्वकै सबैभन्दा पुरानो सभ्यता मानिन्छ। किरात/किरातीहरु ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ। सुरुमा एसिया महादेशको ठूलो भू-भागमा किरातहरू रहेका थिए। कस्मिरदेखि पूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण-पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ छ।
किरातीहरुको ऐतिहासिकता तथा चर्चा संस्कृत साहित्यहरू जस्तै अथर्ववेद, वाल्मिकि रामायण र महाभारतहरूमा (किराती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ। प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेख) मा पनि किरात जातिको उल्लेख पाइन्छ। बौद्ध, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलाहरूमा पनि किरातहरू चित्रित छन्।
किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरूले (काठमाडौं उपत्यकामा) राज्य चलाएका थिए। भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरुले शासन चलाइआएका थिए। हालको भारत र नेपालका भू-भागहरूमा नै पनि किरातहरुको अनेक संप्रभु सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ।
यसरी कुनै वेला एसियाको ठूलो भू-भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवम् उपनिवेशका कारण विस्थापित हुँदै आफ्नो जिमी-भूमिको साथै आफ्नो असली जातीय स्वपहिचान समेत गुमाउँदै सीमित भू-क्षेत्रमा मात्रै बाँकी रहे। हुँदाहुँदै अहिले आएर त दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेश !) को सानो भू-भागमा मात्रै आफूलाई प्रस्ट रुपमा किराती भनी चिनाउने जातिहरू रहेका छन्। उनीहरू पनि नेपालको भौगोलिक एकीकरणसँगै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘मझिया’ र ‘देवान’करण गरिएको हुँदा असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ।
‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संकटका परेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन्। जस्तै बान्तावा, चाम्लिङ, बाहिङ, कुलुङ, जेरो/जेरोङ, लगायत १६ खम्बुका सन्तानहरू बढी नै ‘राईकरण’को मारमा परेको देखिन्छ। ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करणमा परेका लिम्बु, सुनुवार र याक्खाले भने आफ्नो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेख्न छाडी सकेका छन्।
अझ महत्त्वपूर्ण कुरो के छ भने, माथिका तीन वटै जातिका कुनै व्यक्तिले झुक्एिर वा जानाजान आफ्नो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेखेमा वा भने पनि उनीहरूलाई खासै समस्या छैन। किनभने, उनीहरू आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा दुई (क) अनुसार सूचीकृत भएका छन्।
स्मरणीय छ, सो सूचीमा हाल ५९ जातिहरू सूचीकृत छन्। त्यसरी ५९ जातिमा सूचीकृतमध्ये ८०/८५ प्रतिशत जातिहरू ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसारको आधार बिनै जथाभाबी सूचीकृत भएका छन् भने, प्रतिष्ठान ऐन-२०५८ दफा दुईको (क) अनुसारका आधार भएर पनि आठपहरया, कुलुङ, मेवाहाङ, बाहिङ, खालिङलगायत जातिहरू भने हालसम्म आदिवासी जनजाति सूचीमा सूचीकृत हुन नसकेको अवस्था छ।
भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किरातीहरुको ठूलो योगदान रहेको छ। तर, उनीहरूको योगदानलाई इतिहासमा उल्लेख गरिएन। (किरात: इन एनसियन्ट इण्डिया)। रामायण, महाभारत, उपनिषद् आदि धार्मिक ग्रन्थहरूमा समेत किरातीहरुको उल्लेख हुनुबाट पनि किराती भूमि हालको भारतको ठूलो भूभागसमेत रहेको थियो भन्ने जनाउँछ। हाम्रा पूर्वज (बुढापाका) हरूले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्ताबेजहरूले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारु, लाप्चा, मेचे, कोचे, धिमाल आदि पनि किरातका हाँगाहरू हुन्।
त्यसो त जनकलाल शर्माले किरातहरूका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबको पाना नम्बर-३१८ मा ‘नौ लाख किराँत’ उपशीर्षकमा यसरी उल्लेख गरेका छन् ‘-हड्सन महोदयका अनुसार किराँतीहरूको प्रमुख शाखालाई खम्बु भनिन्छ। यिनीहरूको बसोबास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किराँत’ पनि भनिन्थ्यो। यस्तो नामकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्- ‘यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाइन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो। यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए।’ यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन्।
विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो। बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो। मेगचन ‘मेगजिन’को अपभ्रंश रूप हुन सक्दछ। सम्भवतः यो कर गोरखालीहरूको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो। गोलीगठ्ठालाई मेगजिन भनिन्छ भन्ने कुरा यहाँ व्याख्या गर्ने आवश्यक छैन। यो कर युद्धको समयमा लगाइएको भए तापनि विक्रम संवत् २००७ सालसम्म कायमै रह्यो, कारण जेसुकै होस् उनीहरूको प्रदेशलाई ‘नौ लाख किराँत’ भनिन्थ्यो त्यसमा कनै सन्देह छैन। हुन सक्तछ त्यहाँका बासिन्दाको विश्वासअनुसार समस्त किराँत जातिको सङ्ख्या नौ लाख अनुमान गरिएको हवस्। ‘यस अवस्थामा त्यस प्रदेशको नाम नौ लाख किराँत सार्थक पनि हुन आउँछ।’
अब त ‘नौ लाख किरात’ मिथक र इतिहासमा मात्रै सीमित हुँदै जाने त होइन ? प्रश्न पनि गम्भीररुपमा उब्जन थालेको छ। इतिहास हेर्दा नेपालको भौगोलिक एकीकरणपछि नै ‘नौ लाख किरात’ भनी उल्लेख भएको किरातीहरुको जनसंख्या आजसम्म पनि किनभने उपेीष रुपमा बढेन ? भन्ने प्रश्न पनि आफ्नो ठाउँमा छँदैछ। ०६८ को ११ औँ राष्ट्रिय जनगणनाअनुसार हेर्ने हो भने, हालको अवस्थामा आफूलाई गर्वका किरात/किराती भनी दाबी गर्ने कुलुङ, बान्तावा, थामी, धिमाल, याक्खा, ‘राई !’, लिम्बु, सुनुवार, सुरेल, हायु, जिरेललगायत जातिलाई जोड्दा पनि १२ लाख १५ हजार चानचुन मात्रै आफूलाई किराती भन्ने जातिहरूको जनसंख्या रहेको देखिन्छ।
स्रोत: ०६८ को ११ औँ राष्ट्रिय जनगणना। हालै सम्पन्न १२ औँ राष्ट्रिय जनगणना (विसं २०७८) मा पनि नेपालका अन्य जातजातिको तुलनामा किरातीहरुको जनसंख्या अझ कम आउन सक्ने देखिन्छ।
मनन योग्य कुरा यो पनि छ कि, नौलाख किरात शब्दको वृहत अर्थको रहस्य भित्र एसिया महादेशभित्रका (मङ्गोलिया, चिन, भारत, जापान, थाइल्याण्ड, लाओस्, कम्बोडिया, फिलिपिन्स, म्यान्मार इत्यादि लगायत) सम्पूर्ण मङ्गोल समुदायलाई नौ लाख प्रजातिको संख्यामा इङ्गित गरिएको पनि हुन सक्छ। स्मरणीय, इतिहासकार जी०पी० सिंहले त भारतको उत्तर पूर्वका जनजाति मणिपुरी, नागा, खासी, तथा दक्षिण भारतका कतिपय जनजातिहरूलाई किराती भित्र समाविष्ट गरेकै छन्।