काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताएका छन्। राजधानिमा आयोजित एक कार्यशाला गोष्ठीमा उनले स्वास्थ्यमा सबैभन्दा बढी जुन जनसङ्ख्यालाई प्रभावित बनाएको हुन्छ, त्यसैमा सरकारले लगानी गर्ने बताए।
उनले सरकारसँग सीमित साधन स्रोत रहेकाले निजी र अन्तरराष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्ने भनाइ राखे। ‘हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन्,’ उनले भने, ‘थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ।’
मन्त्री डा महतले अझै पनि बजेट विनियोजनमा जसले प्रभाव पार्न सक्दछ, त्यही किसिमले बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नुपर्ने भनाइ राखे। उनले सबभन्दा बढी प्रतिफल दिने क्षेत्रमा बजेट प्राथमिकतामा पर्ने बताए। उनले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दा पनि हाम्रा आवश्यकता र सबैभन्दा बढी जनसङ्ख्यालाई प्रभाव पार्ने स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्र के-के हुन् त्यसलाई पहिल्याएर विनियोजन गरिने बताए।
पाठेघरको मुखको क्यान्सर धेरै महिलालाई लाग्ने गरेको उल्लेख गर्दै उनले सरकारले पाठेघरको मुखमा हुने क्यान्सर निर्मूलका लागि काम गरिरहेको बताए। उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभीले क्यान्सर लाग्नमा कारक तत्वलाई निवारण गर्ने र रोग लाग्ने सम्भावनालाई समाप्त पार्ने बताए।
उनले क्यान्सर लागेपछि आर्थिक सामाजिक, मानसिक, शारीरिक समस्या सिर्जना गर्ने र त्यो आउन नदिनका लागि किशोरी अवस्थामा नै खोप लगाउनुपर्ने बताए। मन्त्री डा महतले वैदेशिक ऋणको सावाँब्याजको दायित्व बढिरहेको उल्लेख गर्दै विकास खर्च, स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण विषयमा थप दबाब बढिरहेकाले निजी क्षेत्रसँग सहकार्य गरेर मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
पाठेघरको मुखमा हुने क्यान्सर अहिले महिलामा बढिरहेको उल्लेख गर्दै उनले खोप लगाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले पाठेघरको क्यान्सर निर्मूल पार्ने सरकारको प्राथमिकताभित्र पर्ने भएकाले सोहीअनुसार बजेट विनियोजन गर्ने बताए।