प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटघाट, के कुरा भयो ?

Prachand_Nepal
फाइल तस्बिर
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ।

भेटेपछि पत्रकारसँग अध्यक्ष नेपालले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको जानकारी दिए। उनले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभाको विषयमा पनि छलफल भएको बताए।

‘समाजवादी मोर्चा नेपालको एउटा कार्यक्रम गर्न बाँकी छ, धनगढीमा। त्यो सल्लाह गरेर टुंगो लाग्छ। सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भयो। अर्थतन्त्र सफल बनाउने बारेमा छलफल भएको छ,’ उनले भने, ‘उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुट्टै बैठक बस्ने सल्लाह दिएका छौं। गठबन्धन दलका नेताहरू मात्रै बसेर सिंगो देशको मुक्ति र सञ्चालनकै सन्दर्भमा के समस्या छन्, हाम्रा अलगअलग धारणा छन् कि छैनन्, कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो।’

उनले सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको बताए। यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीचको सम्बन्धलाई कसरी घनिभूत र बलियो बनाउने भन्नेबारेमा प्रदेश र जिल्लाका संयन्त्र बनाएर कतिपय ठाउँमा देखिएका समस्या र गुनासोलाई सम्बोधन गर्नेबारेमा पनि छलफल भएको उनले बताए।