काठमाडौं। ‘मार्क्सवाद सामाजिक क्रान्तिको विज्ञान हो, तसर्थ यो निरन्तर परिवर्तनशील छ। मार्क्सवादले हामीलाई कुनै सूत्र दिएको छैन, जसले आफसेआफ फटाफट क्रान्ति गरोस्, बरु यसले क्रान्तिकारी परिवर्तनका निम्ति महत्त्वपूर्ण दिशाबोध गरेको छ।’ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री राम कार्कीद्वारा लिखित पुस्तक ‘विकल्प, समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तकको लोकार्पणको क्रममा शनिबार सो बताएका हुन्।
उनले भने, ‘मार्क्सकै परिभाषामा हरेक देशका प्रत्येक क्रान्तिले शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै अगाडि बढ्छ, संघर्ष गर्दै अगाडि बढ्नुपर्छ। आजको परिस्थिति पनि त्यही हो। एक पटक क्रान्ति गरेपछि त्यो सधैँका लागि हुन्छ भन्नु वैज्ञानिक विचार होइन। त्यसैले आजको विशेषतासहित क्रान्तिको नेतृत्व हाम्रो कार्यभार हो। आजको परिस्थितिमा क्रान्ति आजकै विशेषताका आधारमा हुन्छ र हुनुपर्छ। आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका आधार, भूराजनीतिक सन्तुलनका आधारमा अगाडि बढेर मात्र हामी सही निष्कर्षमा पुग्न सक्छौं।’
मार्क्सवादले आलोचनात्मक चेत दिएको:
मार्क्सवादले हामीलाई आलोचनात्मक चेत अवश्य दिएको छ। तर, आलोचना विकल्प सहितको हुनुपर्छ, प्रगतिशील शक्तिको आलोचना गर्दा त्यसबाट प्रतिक्रान्तिकारीहरूले फाइदा नउठाउन् भन्नेमा सतर्क हुनुपर्छ। तर्क मात्रै विकल्प हुन सक्दैन, त्यो तथ्यमा आधारित हुनुपर्छ। व्यवस्था र नेतृत्वको विकल्प पनि त्यही हो। म रहरले मात्र नेतृत्वमा रहिरहेको छैन, नयाँ पुस्ताले नयाँ सोचसहित विकल्प प्रस्तुत गर्दा म खुसी हुन्छ, किनकि हरेक विकल्प पहिलाको भन्दा उन्नत र प्रगतिशील हुनुपर्छ।
हामीले क्रान्तिको बेला भन्यौं, ‘विद्रोह गर्नु जनताको अधिकार हो। पार्टीभित्र पनि विद्रोह गर्ने अधिकार छ। शान्ति प्रक्रियामा आएपछि धेरै साथीहरूले विद्रोह पनि गर्नुभयो। तर, विकल्प दिन सक्नुभएन। त्यो विकल्प हामी नै रह्यौं। यसलाई गम्भीरतापूर्वक हेर्नुपर्छ। यो पुस्तक माओवादी केन्द्रका सचिव एवं लेखकले विभिन्न सन्दर्भमा लेख्नुभएको विचारोत्तेजक लेखहरू एवं विभिन्न बौद्धिक एवं वैचारिक कार्यक्रममा उहाँले व्यक्त गर्नुभएको प्रवचन र पेश गर्नुभएको कार्यपत्रहरूको समेत संकलित रचना हो। विकल्प पुस्तकमा लेखकले आजको समस्त समस्याहरूको समाधान समाजवादी व्यवस्थाले मात्रै दिन सक्ने बताउँदै समाजवादभित्र स्वतन्त्रताको मूल्य सबैभन्दा माथि हुनुपर्ने निष्कर्ष निकाल्नुभएको कुरा औँल्याए।’
बीसौं शताब्दीको समाजवादबारे गम्भीर समीक्षा
पुस्तकमा बीसौं शताब्दीको समाजवादबारे गम्भीर समीक्षा गरिएको छ, जसमा महान् क्रान्तिहरू, कम्युनिस्ट एवं वामपन्थी पार्टीहरूबीच चलेका बहसहरू, अन्तरसंघर्षहरू, भयानक प्रतिक्रान्ति र त्यसका शिक्षाहरूबारे अध्ययन र विश्लेषण गरिएको छ। लेखकले आफ्ना रचनाहरूमा आलोचनात्मक दृष्टिकोण राख्नुहुन्छ, विश्व कम्युनिस्ट, मजदुर एवं वामपन्थी आन्दोलनका केस्रा केस्रा केलाउनु र विकल्प प्रस्तुत गर्नु यो पुस्तकको सबैभन्दा ठूलो सफलता हो भने।
आलोचनात्मक चेतको राम्रो अभ्यास भएको
लेखक उन्नाइसौं र बीसौं शताब्दीको समाजवाद र कम्युनिस्ट आन्दोलनको विश्लेषण र समीक्षा गर्दा परम्परागत सीमारेखाभित्र कैद भएका छैन, उनका कैयौं विश्लेषणमा लेनिनका त्रुटिहरू, रोजा लक्जेम्वर्गका क्रान्तिकारी विचारहरू लगायत ग्राम्स्कीको विचारका समेत महत्त्वपूर्ण पक्षहरू उल्लेख भएको पनि प्रधानमन्त्रीले बताए।
पुस्तकमा लेखकले मार्क्स, एंगेल्स, लेनिन, माओ र ग्राम्स्कीका विचारहरूलाई मूलतः केन्द्रमा राखेका छन्। तर, उनीहरूको शतप्रतिशत समर्थन छैन। लेनिन र माओसम्म आइपुग्दा उनले उनीहरूको मूल विचार र प्रवृत्तिको समर्थन गर्दै कैयौं विचार र प्रवृत्तिहरूको तिखो आलोचना गरेका छन्।
नेपाली कम्युनिस्ट आन्दोलनमा चौथो महाधिवेशनको धाराले दक्षिणपन्थी करार गरेका विश्वका वामपन्थी नेताहरूबारे समेत कार्की आलोचनात्मक चेत राख्छन्। उनी गुण र दोषका आधारमा समर्थन र विरोध गर्नुपर्ने मान्यता राख्छन्। रोजा लक्जेम्वर्ग, अन्तोनियो ग्राम्स्की मात्र नभएर कतिपय सन्दर्भमा ट्राटस्की, प्लेखानोभहरूका विचारहरू पनि महत्त्वपूर्ण रहेको र त्यसमाथि नयाँ कोणबाट अनुसन्धान हुनुपर्ने मान्यता लेखकको छ।
कार्यदिशाको प्रश्नमा क्रान्तिकारी मत
लेखकले नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा समेत गम्भीर समीक्षा गरेका छन्। यो कृति कुनै सैद्धान्तिक प्रस्तावनाको व्याख्या वा समर्थनमा केन्द्रित नभएर समाजवादको विश्वव्यापी मान्यता र अभ्यासहरूको समीक्षामा केन्द्रित छ। उनले नेपालका कम्युनिस्ट पार्टी र घटकहरू विकृत रहेको, उनीहरू स्वतन्त्रताको सैद्धान्तिक मान्यतालाई हृदयदेखि आत्मसात् गर्न नसकेको, सामन्तवादको प्रभाव पार्टी र नेताहरूमा विद्यमान रहेको निष्कर्ष समेत निकालेको देखिन्छ।
पुस्तकमा कार्यदिशाको प्रश्नसमेत महत्त्वपूर्ण रूपमा उठाइएको छ, जसमा लेखकले क्रान्तिकारी मत राखेका छन्। समाज रूपान्तरणका निम्ति क्रान्तिकारी संघर्षमा जोड दिँदै लेखकको कम्युनिस्ट पार्टीको विचार र आचारले जनतालाई स्वतःस्फूर्त संगठित र परिचालन गर्ने सामर्थ्य राख्नुपर्ने मत छ।
विश्लेषण र संश्लेषणमा मौलिक प्रवृत्ति
पुस्तकका कतिपय निष्कर्षहरू नेकपा (माओवादी केन्द्र) को विश्लेषण र संश्लेषणभन्दा अलि पृथक् र मौलिक प्रकृतिका पनि देखिन्छन्, जसमाथि खुला बहस हुनुपर्ने लेखकको मत छ। यद्यपि, समग्रमा पार्टी नीति र नेतृत्वको भूमिकाप्रति लेखकको मूलरूपमा समर्थन देखिन्छ। एक्काइसौं शताब्दीमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ रु लेखकको आफ्नै मौलिक मत र दाबी छ। लेखकले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको पूरक प्रस्ताव लगायतका सामग्रीलाई पनि पुस्तकको अंश बनाएका छन्, नेपाली विशेषताको समाजवादबारे अलि फरक कोणबाट अध्ययन र विश्लेषण हुनुपर्ने आग्रह उनको छ।
समाजवाद सबैभन्दा उन्नत र स्वतन्त्र व्यवस्था
पुस्तकमा लेखकको निष्कर्ष छ: समाजवाद सबैभन्दा उन्नत र स्वतन्त्र व्यवस्था हो। तसर्थ, कम्युनिस्ट पार्टी र समाजवादी राज्य सबैभन्दा लोकतान्त्रिक हुनुपर्छ, आलोचनात्मक चेतलाई प्रोत्साहन गर्नुपर्छ। फलामे अनुशासन, नेतृत्वको केन्द्रिकरण, अति केन्द्रिकरणले समाजवादको जग कमजोर हुन्छ, उन्मुक्त व्यवस्थाका पक्षपातीहरूले स्वैच्छिक एकता र सामूहिकताका निम्ति संघर्ष गर्नुपर्छ।
प्रधानमन्त्रीले भने, ‘उहाँ हाम्रो पार्टीको नेता हो, जसले अक्सर आलोचनात्मक चेतका साथ विषय उठाउनुहुन्छ, अनि हाम्रो पार्टीले उहाँका विचारलाई सधैँ सम्मान गर्दै आएको छ। यहाँजस्ता आलोचक मात्रै भएर पनि पार्टी चल्दैन, आलोचनात्मक चेत नभएको पार्टी त झन् चल्दै चल्दैन। निष्कर्षमा क्रान्ति र समाजवादबारे उहाँ जुनस्तरको अनुराग र प्रतिबद्धता छ, त्यो उहाँको सबैभन्दा ठूलो सम्पत्ति हो, हाम्रो पनि सम्पत्ति हो।’