काठमाडौं। आप्रवासी नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनमा महासचिवमा उमेदवारी घोषणा गरेका बुद्धिसागर सुवेदीले तयारी तीब्र पारेका छन्। सुवेदीले आगामी वर्ष २०२३–२५ को कार्यकालका लागि एजेण्डासहित उमेदवारी घोषणा गरेका हुन्।
उनी एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निवर्तमान अध्यक्ष हुन्। उनी विभिन्न देशमा पुगेर एजेण्डा र प्रतिवद्धता प्रस्तुत गरेका छन्। एनआरएनएहरूको सुझाव संकलन गर्दै विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाट गरिरहेका छन्। सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्नको लागि आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न आफ्नो उमेदवारी रहेको बताए।
वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दल र सरकारसँग आवश्यक संवादमार्फत् कार्यान्वयन गराउन, महिला, युवा लगायत दोश्रो पुस्तालाई श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने उनले बताए। गैरआवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिलाई पारदर्शी बनाउँदै सचिवालय सञ्चालन गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।
सुवेदीले अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्न र नियन्त्रणको निम्ति पारदर्शी गराउन जोड दिने बताए। गैरआवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषद्हरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागि आफू पूर्ण प्रतिबद्ध रहेको भन्दै उनले आफ्नो टोलीलाई निर्वाचन गराउन आग्रह गरे। अक्टोबर १७ देखि सुरु हुने महाधिवेशनमा सुवेदी महेश कुमार श्रेष्ठको प्यानलबाट महासचिवका उमेदवार हुन्।
२०१० देखि एनआरएनए अभियानमा संलग्न भएका छन्। उनले एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुँदै, एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गरेका थिए। ‘एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेको छु, सुवेदीले भने , ‘एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छु। संस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोध गराउने भनेर महासचिवको उमेदवारी दिन लागेको हुँ।’
चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए। सुवेदीले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन्। उनले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन्। उनले अमेरिकामा दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन्।