रसुवा। रसुवामा सोमबार साँझ भएको मिनी ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना भएको हो। नेशिङबाट आलु बोकेर ग्रे गाउँतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ ५ः४५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।
दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। १ जनाको खुट्टा भाँच्चिएकाले जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको अन्य ४ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ।