मानसिक रोगीलाई प्रोत्साहनको खाँचो

Mental_Health
लोकपाटी न्यूज
5 Shares

विश्व मानसिक स्वास्थ्य दिवसको मूल नारा- ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने उद्घोषसहित आज मनाइएको छ। मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ।

मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भएपनि यसप्रति रहेको अज्ञान, लाञ्छना, विभेद र कलंकका कारणले गर्दा समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ। यस्ता प्रवृत्तिविरुद्ध समुदायबाटै सामूहिक प्रयास नथालेसम्म कुनै एकल वा संस्थागत प्रयासले मूर्तरूप प्राप्त गर्न सक्दैन।

एउटा मानिस पूर्णरूपमा स्वस्थ रहन र उसले आरोग्यता प्राप्त गर्न शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहन जरुरी हुन्छ। आजको परिवर्तित समाजमा थपिएका दिन प्रतिदिनका नयाँ नयाँ चुनौतीले मानिसको जीवन सहज मात्र भएको छैन तनावयुक्त पनि बनेको छ। यस्तो अवस्थाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने चासो कुनै एक व्यक्तिको काबुभित्र छैन। यसबारे राज्यले सोच्न जरुरी छ।

राज्यले निर्माण गर्ने हरेक योजनामा जसरी वातावरणीय सचेतना अपनाउने प्रयास गरेको हुन्छ। त्यसै गरी मानवीय संवेदना बोकेको मानसिक रोगका बारेमा पनि सोच्न जरुरी भइसकेको छ। यस भावनालाई यस पटक विश्व स्वास्थ्य संगठनको नाराले समेट्ने प्रयास गरेको छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको प्रत्याभूत गरेको छ। स्वस्थ नागरिक नै देशको सर्वांगीण विकासको आधार हो भन्ने मान्यताअनुरूप गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्‍याउने कार्यमा सरकारले विशेष ध्यान दिन जरुरी छ। सबै नागरिकको मानसिक सु-स्वास्थ्यमा राज्यले चासो लिन जरुरी छ। मानसिक स्वास्थ्यको सेवालाई प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान सके यसको विकासमा टेवा पुग्ने देखिन्छ। यसमा राज्यले पहलकदमी अगाडि बढाउनु सन्तोषको विषय हो।

नेपालमा झण्डै १० मध्ये एक जना नागरिक मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। विश्वमा भने यो संख्या १५ प्रतिशत रहेको जनाइन्छ। यसका कारण ज्यान गुमाउनेको स‌ंख्या पनि सरदर दैनिक १९ जना रहेको बताइन्छ। यो निकै दुःखको कुरा हो।

हाम्रो समाजमा गरिबी, बेरोजगारी, लैंगिक, जातीय वा भूगोलमा आधारित कलंक र भेदभाव मेटिन सकिएको छन्। यी कुराले सामाजिक समस्याका रूप धारण गरी हाम्रो गरिबी र पछौटेपनसँग खेलिरहेका छन्। हाम्रो मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेका छन्। यस्ता सामाजिक विभेदले आफ्नो मानसिक स्वास्थ्यको बारेमा खुला रूपमा छलफल गर्न र उपचार लिन चुनौती थपेको छ। यस्ता प्रचलनहरू अन्यायपूर्ण र नेपालको संविधान प्रदत्त मौलिक अधिकारको विरुद्धमा छन्। यी कारणहरूले भएका सेवाहरूको समेत उपयोग हुन सकेको छैनन्।

मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कुरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र सहानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरुद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ। हामीले मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ। त्यसैले, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ।

यस वर्ष आजको दिन असोज २३ विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनले माथिका कतिपय कुराहरू समेटेको छ। सम्बोधनका क्रममा प्रधानमन्त्रीले सबै क्षेत्रले मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरूलाई प्राथमिकता दिन र हाम्रा परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताउनु भएको छ।

स्वस्थ जीवनशैलीका लागि स्वस्थ आहार, पर्याप्त आराम र निन्द्रा, नियमित व्यायाम जस्ता कुरामा हामी ध्यान दिन जरुरी छ। मद्यपान वा सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्य लागि अति नै हानिकारक छ। सामाजिक सद्भाव र एकताले आपसी माया र सम्बन्ध प्रगाढ तुल्याउँछ। जसको कारण दुःखमा साथी, सहकर्मी, आफन्तको सहयोग लिने आधार तयार गर्दछ।

मानिसले मानसिक रोगलाई घृणाको रूपले हेर्ने गर्दछ। यस्तो व्यवहारले पनि रोगलाई जटिल तुल्याउन सहयोग गर्दछ। मानसिक रोगीहरूलाई आफू अपमानित नभएको महशुस गराउन सकियो भने वा तनाव र समस्यामा परेका उनीहरूको कुरा सुन्दिने वातावरण बनाउन सकियो भने पनि यो रोगलाई धेरै न्यून गर्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्