काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताएका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि संकल्प प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘आगामी दिनमा हुने पारा ओलाम्पिकमा सहभागी हुने खेलाडीहरूलाई तालिम र प्रशिक्षणको व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिनेछ। साथै, उचित र पर्याप्त खेल सामग्रीहरूको व्यवस्थाका लागि अनुदान उपलब्ध गराउने कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।’
उनले प्राकृतिक प्रकोप, राहत, विपत, पुनर्स्थापना र पुनर्लाभका कार्यक्रममा अपांगता भएका व्यक्तिलाई सरकारले विशेष प्राथमिकतामा राखेको स्पष्ट पारे। संघ, प्रदेश र स्थानीय सरकारका वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत अपांगता र फरक क्षमता भएका व्यक्तिहरुको अधिकार संरक्षण, परिचय पत्र वितरण, तथ्यांक संकलनलगायतका लक्षित कार्यक्रम सञ्चालन भईरहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले त्यसलाई थप प्रभावकारी बनाई उनीहरुको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि सरकार लागि परेको बताए।
उनले संघ, प्रदेश र स्थानीय तहमा वार्षिक रुपमा विनियोजन हुने बजेटमार्फत अपांगता भएका व्यक्तिका लागि थप लक्षित कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको उल्लेख गर्दै ती समस्या समाधान हुने गरी स्थानीय तहलाई सवलीकरण गर्ने काममा आफूहरु लागेको बताए। प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई संविधानको भावना र मर्म अनुसार काम गर्न सक्ने बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।