चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुगेका छन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागिनसकेको उनले जानकारी दिइन्। प्रधानमन्त्री प्रचण्डले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नेछन्। शारदानगरको सो आयोजना ५५ करोड हाराहारीमा निर्माण गरिएको हो।
आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ। संघीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा नं ११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ। यो आयोजना रु २५ करोडको लागतमा निर्माण गरिएको हो।
यसैगरी, भरतपुर महानगरपालिका- २६ दिव्यनगरको खानेपानी आयोजना १० करोडको लागतमा निर्माण गरिएको हो। यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन्।