चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले कार्की मुख्यमन्त्री भएसँगै गठवन्धनवीच देखिएको समस्या सामाधान भएको बताएका हुन्।
कोशीमा मुख्यमन्त्री बनाउने सवालमा गठवन्धनभित्र केही समस्या आएको भए पनि त्यसको ‘सेटलमेन्ट’ गरिएको उनले बताए। कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने र कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको उनले दावी गरे।
प्रधानमनत्री प्रचण्डले भने, ‘नयाँ समझदारी अन्तर्गत कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री हुनुभएको छ, उहाँ हामी सवैको मुख्यमन्त्री हो। त्यसकारण त्यो समस्या जसरी सोचिएको थियो, त्यो केही होइन। मिडियामा जसरी चर्चा परिचर्चा गरिएको थियो त्यस्तो हैन।’
कोसी प्रदेशमा भएको सहमतीले गठवन्धनलाई झन वलियो वनाउन सहयोग पुग्ने उनले बताए। उनले अब विश्वासको मत दिदा आफूहरुले कार्कीलाई नै समर्थन गर्ने बताए। प्रधानमन्त्री प्रचण्डले अवको सरकार पनि गठवन्धनकै बन्ने दावि गरे।