काँग्रेसभित्र बिपीको विचार समाप्त हुने डर छ : नेता कोइराला

Shashank_Koirala
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण काँग्रेस अरू पार्टीभन्दा बलियो रहेको बताएका छन्। काँग्रेस र नेविसंघ लमजुङ-काठमाडौं सम्पर्क समितिद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय काँग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताए।

‘बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अंगालेमा काँग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,’ नेता कोइरालाले भने। उनले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा काँग्रेसका नेता दीलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान काँग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसको काँधमा रहेको उल्लेख गरे।

काँग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए। काँग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौंमा बसोबास गर्ने कार्यकर्ताको ठूलो भूमिका रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्