काठमाडौं। काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत् रूपमा जमरा राखिएको छ। नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो।
आइतबारबाट विधिवत् रूपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ। यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ।
दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ। आइतबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैँ घरमा जमरा छर्ने गरिन्छ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।