भरतपुरको शैक्षिक क्रान्ति निरन्तर अगाडि बढेको छ : प्रमुख दाहाल

Renu_Dahal
लोकपाटी न्यूज
5 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ६ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताएकी छन्। भरतपुर १३ मा रहेको आधारभूत विद्यालय उज्जवल नगरको ६ कोठे विद्यालय भवनको शिलान्यास गर्दै उनले शैक्षिक क्रान्तिले शैक्षिक गुणास्तर वृद्धि हुँदै गएको उल्लेख गरिन्।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले शैक्षिक विकासका लागि विभिन्न ऐन कानुन, नीति, नियम, कार्यविधि निर्माण गरी मसिनो गरी शैक्षिक गुणस्तरका लागि कदम चाले अनुसार नतिजा प्राप्त भएको बताइन्। भरतपुरमा रहेका विद्यालयलाई मर्जरदेखि, भौतिक पूर्वाधार निर्माण, विद्यालयको श्रेणी वृद्धि लगायत विभिन्न समस्यालाई हल गरिएको स्मरण गरिन्।

‘अहिले भरतपुरको विद्यार्थीको संख्या ८ हजार पुगेको छ,’ उनले भनिन्, ‘१ सय जना विद्यार्थी भएको विद्यालयमा ४ सय पुगेको छ। नतिजा पनि सामुदायिक विद्यालयको उत्कृष्ट छ।’ प्रमुख दाहालले शिक्षामा जस्तै अन्य क्षेत्र सडक पूर्वाधार, भौतिक पूर्वाधार, स्वास्थ्य भवन, सिँचाइका कार्यक्रम, स्मार्ट लाइट, ठुला ठुला खानेपानी आयोजनाहरू यही अनुपातमा निर्माण भएको बताइन्।

भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर निर्माण गर्न यसको सौन्दर्यकरण तथा सरसफाइलाई अभियानका रुपमा अगाडि बढाइएको उनको भनाई छ। भरतपुर महानगरपालिकामा केही पनि शिक्षाबाट वञ्चित विद्यालय, मस्तिष्क पक्षघात भएकाहरूलाई विद्यालयसम्म ल्याउन एटिजम विद्यालय र स्रोत केन्द्र सञ्चालनमा ल्याइएको बताइन्। आइतबार शिलान्यास भएको विद्यालयमा विद्यार्थी संख्या बढ्दै गए महानगरले थप भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्