विश्व खाद्य दिवस : धनीका रजगजभित्र गरिबिका बिचल्ली

khaddhya
लोकपाटी न्यूज
18 Shares
  • विश्वेश्वर कट्टेल

खानका लागि गरिएको संघर्षकै कारण आजको यो मानव सभ्यता सिर्जना हुन पुगेको हो। कुनै पनि जीवको लागि खानेकुरा नै पहिलो आवश्यकता हो। खाना शक्तिको श्रोत हो। खाना विना कुनै पनि जीवका कुनै शारीरिक वा मानसिक क्रिया-प्रतिक्रिया परिचालन हुन सक्दैन। शक्ति आर्जन प्रक्रिया निरन्तरता भित्रको स्थायी कडी हो। यो आवश्यकताको उपज पनि हो। उत्पादनसँगै यो खर्च हुन थाल्दछ। शक्ति आफूले चाहेअनुसार धेरै स्टोर गरेर राख्न पनि सकिँदैन। अहिले यति खर्च गरौं र पछि यति बाँकी राखौं भनेर राख्न वा खर्च गर्न पनि सकिँदैन। शक्तिको उत्पादन र खर्च, प्रकृतिले सिर्जना गरेको सन्तुलनमा आधारित हुन्छ। शक्तिको खर्च पक्रियामा अवरोध आउनु भनेको जीवले प्रकृतिको पद्धतिभन्दा बाहिर आउने प्रयास गर्नु हो। यो अवसानको बाटो समाउनु हो। उसले आफ्नो अन्त्य निम्त्याउनु हो।

कुनै पनि जीवको पहिलो काम निरन्तर शक्ति उपार्जन नै हो। शक्ति उपार्जनको अर्को श्रोत अक्सिजन हो। जसले जीवको आन्तरिक कोषलाई जीवित र सक्षम तुल्याउन शक्ति सन्तुलनको काम गरिरहेको हुन्छ। हामी यसलाई प्राण बायु भन्दछौ। त्यसैले एउटा प्राणी जीवित रहन, खाना उसका लागि जति महत्त्वपूर्ण हुन्छ, स्वच्छ वातावरण पनि त्यति नै महत्त्वपूर्ण हुन्छ। वातावरण विकृति तुल्याउने काम प्रकृतिले गरेको हैन। मानिसले गरेका हुन्। मानिसले विकासका नाममा प्रकृतिको जुन विनाश गरेका छन् यी कृत्रिम कुरा हुन्। मानव सभ्यताले सिर्जना गरेको विकृति विसंगतिका बेग्ला बेग्लै प्रकृतिका परिणाम हुन्छ। यी सबै मानिसको महत्त्वाकांक्षा र घमण्डका उपज हुन्। जसले जीव मात्रको प्राकृतिक जीवनलाई धेरे असर पारेको छ।

मानव समाजमा दानव-दैत्य, देवता-ईश्वर जस्ता शब्दलाई राम्रा र नराम्रा भावना र व्यवहारको प्रतिनिधित्वको रूपमा हेरिन्छ। जसले वातावरण बिगार्दछन्, ती दैत्य हुन्। तिनीहरू आफूप्रति बढी विश्वस्त रहन्छन्। र, प्रकृतिको पद्धतिलाई चुनौती दिन पुग्दछन्। यस्ता चुनौतीले तात्कालिक रूपमा हेर्दा आफू अगाडि त बढेका छन् तर, उनीहरूले आफ्नै खुट्टामा बन्चरो हानिरहेका छन्। त्यस कार्यको कुप्रभाव मानव समुदायको ठूलो हिस्साले भोग्न परिरहेको छ।

वातावरण विश्वव्यापी

वातावरण भन्ने कुरा विश्वव्यापी हुन्छ। एक स्थानको प्रभाव सजिलैसँग अर्को स्थानमा पुग्दछ। जसले प्रकृतिलाई ध्वस्त बनाउँदै छन्। हामी तिनीहरूसँग नतमस्तक छौ। किनकि शक्ति बल र सामर्थ्य उनीहरूमा नै छ। उनीहरूको विरोध गर्ने हैसियत अन्य निम्सरा मानिसमा हुँदैन। उनीहरूको मनपरीलाई हामी समयको सभ्यता भनेर उल्टै प्रशंसा गर्न बाध्य हुन्छौं।

जति जति प्रकृतिको विनाश हुँदै गयो, त्यसको रक्षाका लागि पनि मानिसले प्रयास गर्न थाल्यो। वन वातावरण जोगाउन। वातावरणीय सन्तुलन मिलाउन। वातावरण सचेतना जगाउन विभिन्न प्रयासहरू हुन थाले। वातावरण बिग्रिएका कारण उत्पन्न भएका स्वास्थ्य समस्या, खाद्यान्न उत्पादनको समस्या, खडेरी भोकमरी र रोग, भोक र शोकमा परेका मानवको हितका लागि विभिन्न रूपमा सहयोगका प्रयासहरू भए। प्रकृतिको पद्धतिमा नै असर गर्ने गरी गरिएका कामले बाढी पैह्रो, आँधीबेहरी, तातो र चिसोको असन्तुलन, हरित गृहको विनाश, डढेलो, अति वर्षा चट्याङ, भूकम्प, ज्वालामुखी जस्ता प्रकोपहरूमा लाखौँ मानिसले ज्यान गुमाउन बाध्य हुन परेको छ।

यस अलावा अत्यधिक बम बारुद र गोला पड्काएर, आणविक हतियारले मानव सभ्यता नै चकनाचुर हुने गरी डढाएर राख्ने काम भएको छ। आज पनि युद्धका नाममा पड्किएका बम, बारुद र गोलाले विश्व खाद्य संकट निम्त्याइ रहेको छ। त्यसको प्रभावले लाखौंलाख मानिस अत्यन्त पीडादायी मृत्यु वरण गरिरहेछन्। कष्टकर जीवन बाँच्न विवश छन्।

खाद्य सुरक्षाका प्रयास

सन् १९७४ मा आयोजित विश्व खाद्य सम्मेलनले खाद्यान्न पदार्थलाई आधारभूत आवश्यकताको रूपमा स्वीकारेको छ। यसले खाद्यान्नको मात्र, मूल्य र आपूर्तिलाई स्थिर बनाउनु पर्नेमा जोड दिएको थियो। सन् १९८३ मा खाद्य तथा कृषि संगठनले हरेक व्यक्तिलाई हरेक समयमा आधारभूत आवश्यकताको खाद्यान्नमा भौतिक तथा आर्थिक रूपमा पहुँचको सुनिश्चिततालाई खाद्य सुरक्षाको रूपमा परिभाषित गरेको छ। भौतिक रूपमा खाद्यान्न उपलब्ध भएर मात्रै खाद्य सुरक्षाको प्रत्याभूति हुँदैन यसकोलागि व्यक्तिको क्रय शक्तिले धान्न सक्नु पनि पर्दछ भन्ने कुरा उठ्यो।

सन् १९८६ को विश्व बैंकको गरिबी र भोकमरी नामक प्रतिवेदनले खाद्य सुरक्षालाई प्रत्येक मानिसहरूमा प्रत्येक समयमा सक्रिय र स्वच्छ जीवनका लागि खाद्यान्नको पहुँच हुनुमा जोड दिएको थियो। सोही प्रतिवेदनबाट प्रभावित बनेर सन् १९९६ मा रोममा भएको विश्व खाद्य सम्मेलनले प्रत्येक व्यक्तिको सधैँ पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता र चाहना अनुरूप खाना माथि भौतिक र आर्थिक पहुँच भएमा मात्र खाद्य सुरक्षा भएको मान्न सकिन्छ भनी विश्वव्यापी मान्यता स्थापित गरेको छ।

नेपाल पक्ष राष्ट्र र महत्त्वपूर्ण अनुबन्धहरू

विश्वव्यापी मानवअधिकार घोषणापत्र, १९४८ को धारा २५ मा प्रत्येक व्यक्तिलाई गाँस, वास, कपास र औषधोपचारको अधिकार रहेको छ। त्यस्तै, आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा ११ मा प्रत्येक नागरिकलाई भोकबाट मुक्त रहन पाउने अधिकारलाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ। यसका अतिरिक्त बाल अधिकार अभिसन्धि, १९८९, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव विरुद्धको महासन्धि, १९७९ ले समेत खाद्य सुरक्षालाई मानव अधिकारको रूपमा स्वीकार गरेको छ।

पाउने अधिकारलाई आम मानवको अधिकारको रूपमा स्थापित गर्न, भोकमरीको अन्त गर्न, वातावरण विनाश कम गराउन, प्राकृतिक प्रकोपबाट मानिसलाई सुरक्षित तुल्याउन र प्रकृतिको उत्पादकत्व भण्डारणमा वृद्धि गर्ने उन्नत सोचका साथ विश्व खाद्य संगठन स्थापना हुन पुगेको हो।

विश्व समुदायलाई प्रेरणा

आजको दिन विश्वका सबै मानिसले प्राप्त गर्ने पहिलो अधिकार खान पाउने हो भन्ने मान्यतालाई स्थापित गरेको दिन भएकाले, जे होस यो मानवीय दिन हामी सबैको उत्सवको दिन हो। यस दिनले विश्वमा खाद्यान्नको अवस्था र भोलिको भविष्यका दूरगामी कदमहरू चाल्न समग्र विश्व समुदायलाई प्रेरणा प्रदान गरोस् शुभकामना।

यसै सन्दर्भमा हामी नेपालीहरू, नेपालको अवस्था के छ त! विश्व सभ्यताका रोमाञ्चक खेलहरूमा नेपाल कहाँ पुगेको छ त! यसबारे पनि हामीले सोच्नै पर्दछ। हामी आज भन्दा झन्डै ४०-४५ वर्ष पहिले खाद्यान्न निर्यात गर्ने देश थियौं। यो ५० वर्षको दौरान यस्तो अवस्थामा आयौं कि, खाद्यान्न आयत विना हामी बाँच्न नसक्ने अवस्थामा छौं। हाम्रो उपज त खाना खाँदाको दालभातमा राखिने अचारको अंश जस्तो बनेको छ।

सन् १९७४ मा आयोजित विश्व खाद्य सम्मेलनले खाद्यान्न पदार्थलाई आधारभूत आवश्यकताको रूपमा स्वीकारेको छ। यसले खाद्यान्नको मात्र, मूल्य र आपूर्तिलाई स्थिर बनाउनु पर्नेमा जोड दिएको थियो। सन् १९८३ मा खाद्य तथा कृषि संगठनले हरेक व्यक्तिलाई हरेक समयमा आधारभूत आवश्यकताको खाद्यान्नमा भौतिक तथा आर्थिक रूपमा पहुँचको सुनिश्चिततालाई खाद्य सुरक्षाको रूपमा परिभाषित गरेको छ।

सन् १९८६ को विश्व बैंकको गरिबी र भोकमरी नामक प्रतिवेदनले खाद्य सुरक्षालाई प्रत्येक मानिसहरूमा प्रत्येक समयमा सक्रिय र स्वच्छ जीवनका लागि खाद्यान्नको पहुँच हुनुमा जोड दिएको छ। सन् १९९६ मा रोममा भएको विश्व खाद्य सम्मेलनका अनुसार प्रत्येक व्यक्तिको सधैँ पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता र चाहना अनुरूप खानामाथि भौतिक र आर्थिक पहुँच भएमा मात्र खाद्य सुरक्षा भएको मान्न सकिने भनेको छ।

नेपाल तिर हेर्दा

नेपालको सबै भन्दा नयाँ तथ्यांक प्रस्तुत गरेर हेरौं। सन् २०१९ डिसेम्बरपछि विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण बिदेसिएका युवा फर्केर अहिले स्वदेशमा कृषि फार्ममा काम गर्दै छन्। सरकारले कृषि र पशु क्षेत्रमा ७५ प्रतिशत प्रिमियम अनुदान दिए तापनि सो सेवाबाट लाभ पाउने कृषक एक प्रतिशत मात्र छ। किन यसो भइसहेको छ ? खोज गरेर एकातिर यसको समस्या पत्ता लगाइ समाधान खोज्ने चासो पाइँदैन।

वर्षेनि तिर अर्बौंको खाद्यान्न आयात भइरहेको अवस्थामा आयात कम गरी निर्यात बढाउनका लागि उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने किसिमका नीति योजना तथा कार्यक्रम किन आउन सक्दैन। कृषिप्रधान देश नेपालले एक महिनामै पाँच अर्ब रुपैयाँको चामल आयात गरेको देखिन्छ। नेपालको वैदेशिक व्यापारको प्रवृत्ति कस्तो छ र कसरी अगाडि बढ्ने सरकारले चासो नलिएसम्म यो समस्याले निकास पाउने छैन।

नेपाल ६७ प्रतिशत किसान भएको देश पछिल्ला आधा दशकभन्दा बढीदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहे छ। त्यसमा पनि मुख्य गरी धान, चामल, गहुँ, मकै, फापर, तरकारी तथा फलफूलका बिउ, चिया, कफी, तरकारी, फलफूल, माछा, मासु तथा खाने तेल र दुग्धजन्य पदार्थ आयात हुँदै आएको छ।

रासायनिक मलमा १५ अरब

नेपालमा रासायनिक मल मात्रै पनि १५ अर्बभन्दा बढी रुपियाँको आयात हुँदै आएको छ। दाल, मसला, घिउ लगायतका अन्य कृषिजन्य वस्तु पनि करोडौं मूल्यका आयात हुने गरेको छ। कुनै बेला धान/चामल निकासी गर्ने देश नेपाल धनियाँदेखि गहुँको पीठोसम्म आयात गर्नुपर्ने अवस्थामा पुगेको छ। कृषिमा व्यावसायिक र विविधीकरणको अभाव, कृषि जनशक्ति तथा श्रमिक विदेश पलायनको अवस्थाले कृषिमा परनिर्भरता बढ्दै गएको देखिन्छ।

२०७८/७९ को चैतसम्म ६० अर्बको खाद्यान्न आयात भएको छ। यस्तो अवस्थामा जुनेलो समेत किनेर खानुपर्ने भएको छ। नेपालको कुल कृषियोग्य भूमिमध्ये सात प्रतिशत मात्र खेतीयोग्य जमिन बाँझो छ। देशभर कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ। जिडिपीमा कृषिको योगदान २७ प्रतिशत बराबर रहेको छ। यस्तो अवस्थामा अत्यधिक रूपमा खाद्यान्न आयात भइराखेको छ। २०७८/७९ को नौ महिनामा ५९ अर्ब २९ करोड ७० लाख ३६ हजारको सामान आयात भएको छ।

२०७८/७९ चैतसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार मूल्य बराबरका ५० करोड ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ। त्यसबाट सरकारले ७५ करोड ४ लाख बराबरको राजस्व संकलन गरेको छ।

आ.व. २०३५-३६ मा देशले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको थियो। त्यो बेला सरकारले धान/चामल निर्यात कम्पनी नै खडा गरी बङ्गलादेश, भारत, चीन, कोरिया, जर्मनी, अमेरिका लगायत देशमा चामल निर्यात गरेको थियो। तर आ.व. २०७४-७५ मा धान, चामल र टुक्रे चामल तीन थरी गरी २९ अर्ब ३६ करोड ३६ लाख रुपैयाँको आयात भएको देखिन्छ।

कृषिमा आत्मनिर्भर बनाउने कुरा पिँडी गफ

हरवर्ष बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई गरिबी निवारण, रोजगारीको अवसर र खाद्य सुरक्षाको आधारका रूपमा विकास गर्ने योजना बनाइएको हुन्छ। सरकारले कृषिमा देशलाई आत्मनिर्भर बनाउने कुरा पिँडी गफ बनेको छ। जिल्लाको ज्ञान केन्द्र किसान ठग्ने बाहेक कुनैले केही उपलब्धि दिन र देखाउन सकेको अवस्था छैन। नगण्य भएका प्रयास पानीका फोका समान भएका छन्। कृषिजन्य वस्तुका आयात बढ्दो क्रममा रहेको र परनिर्भरता बर्सेनि बढ्दै गएको माथिको सरकारकै तथ्यांकले देखाएको छ।

वार्षिक रूपमा करिब २० लाख टन खाद्य तथा फलफूल विदेशबाट आयात गरी आन्तरिक मागको आपूर्ति गरिँदै आएको छ। वार्षिक रूपमा ३९ अर्ब २ करोड ५९ लाख रुपियाँको खाद्यान्न आयात भएको छ। निर्यात भने केही करोडमा नै सीमित भएको छ। वार्षिक रूपमा तरकारी मात्र १७ अर्ब ९५ करोड ८१लाख रुपियाँ आयात भएको छ।

यस्तो कमजोर अवस्थामा नेपाली अर्थतन्त्र छ। हाम्रा खाद्यान्नका सवाल कसरी समाधान गर्ने। यसका लागि नेपालले लिने रणनीति कस्तो हुन पर्दछ भन्ने सबल आज हाम्रो सामु देखा परेको छ। हामीले यो सानो आलेखमा नेपालको आर्थिक क्षेत्रका समग्र पक्षमा विचार गर्न सक्दैनौँ। एउटा सानो आँखीझ्यालबाट मात्र नजर लगाउने प्रयास गरेका हौ।

किनकि खाद्यसँग त वातावरण छ, हरित गृह छ, अम्लीय वर्षको कुरा छ। खडेरी सुख्खा हावा हुरी डढेलो सबै छ। नेपाल यसै भिरालो देश। नेपालको माटो काटिएर गङ्गाको मैदान बनेको छ। बर्सेनि करोडौं मूल्यवान् माटो बगेर खेर गइरहेको छ। अमूल्य निधिका रूपमा रहेका पानी त्यसै खेर गइरहेका छन्। यी त हाम्रा नगद उत्पादन गर्ने साधन हुन्।

किन हाम्रा योजनाकारहरू, नीति निर्माणहरू पानीसँग डराउँछ। पानी नै नेपालको नगद उत्पादन गर्ने कारखाना हो। यही पनिले हो डलर छाप्ने नेपालीले। यसबारे हामीले सोचेका छैनौ। उल्टो पानीका मुहान खन्दै वन जङ्गल मास्दै विना योजना सडक निर्माणमा लागेका छौ। कुनै केही चाहिँदैन। एउटा डोजर रात दिन बस्ती सखाप पर्दै घुन्घुनाउँछ। हामी मजा मानेर हेरिरहन्छौ। तेरो र मेरो भनिरहन्छौ।

सबैलाई आफ्नो गाउँसम्म हैन घर सम्म नै सडक चाहिएको छ। यसले निम्त्याउने विनाश प्रकृतिको आवेग त्यो बेला थाहा पाउँदछन्। जब पुस्तैनी बसिआएको घरमा खोला पस्न थाल्छ वा पहिरोले पुरिन थाल्दछ। जग्गा वर्गीकरण बस्ती विकास योजना जस्ता कुरामा सरकार अनविज्ञ जस्तै किन बन्दछ। नीति निर्माणहरू के हेर्दछन्। यसरी हामी हाम्रा विशाल सम्भावना हुँदा हुँदै यसैलाई दोहन गरेर विना सित्तै फालिरहेका छौं।

विश्व वातावरणको प्रभावले पारेको असर एकातिर छ। हाम्रो अज्ञानताले पारेको असर अर्कोतिर छ, भने अकोतिर हाम्रा गरिबीले निम्त्याएको असर पनि छ। हरेक समस्यासँग जुध्न सक्ने हामी किन हुन सक्दैनौ। किन प्रयास गरेका छैनौ। किन दिन प्रतिदिन खोला धसिँदै छ। खेती योग्य उर्वर भूमिहरू मरुभूमि तुल्य बन्न पुगेका छन्। माटोको मर्म अनुसार सम्भावना खोज्न सक्नु पर्दछ। माटो फाल्न हैन माटो बनाउन योजना आवश्यक छ।

युवा जनशक्ति विदेश पलायनले कृषिमा काम गर्ने जनशक्ति स्वाट्टै घटेको छ। देश परनिर्भरता मुखी बन्दै छ। यो कति दिन सम्म हो। विदेशीले बेचुन्जेल त खानेकुरा किनेर खान पाइएला। विक्री गर्ने देशले विक्री गर्न बन्द गरेको दिन माटो खान हुन्न क्यारे१ यसको लागि तयार रहन पर्दैन। खेतीमा मात्र भए पनि आत्मनिर्भर बन्ने कोसिस गर्न पर्दैन।

युवालाई देश भित्र भविष्य देख्ने बनाऊँ

कृषिका लागि भएको लगानीको अत्यधिक प्रतिशत कमिसनमा जान्छ। अन्तमा जति किसानको हातमा पुग्दछ त्यो पनि उसले त्यसै गरी अर्को क्षेत्रमा खर्च गर्दछ। थोरै मात्र कृषिमा लगानी गर्दछ। यसले गर्दा कृषि क्षेत्रको लगानी र नदी खोलाले वर्षामा बगाउने माटो र बालुवाको हालत एउटै बन्न पुगेको छ। अहिलेसम्म समय छ। सम्भावनै सम्भावना भएको देश नेपाल। विश्वका कयौं देश पाल्न सक्ने तागत बोकेको नेपाल आज किन यस्तो बन्न लाग्दै छ। कमिसन खोर र दलाल पैदा हुने अवस्था किन छ। युवाहरूले देश भित्र आफ्नो भविष्य किन देख्न सकिरहेका छैनन् र विदेश तातिलागेर गइरहेछन् ? अनुत्तरित तर हजार उत्तर भएको यस प्रश्नमा सबैको एकै नजर एकै सोच र एकै कदम आजको आवश्यकता पहिचान गरी खाद्यान्नमा रहेको परनिर्भरता हटाउन जोड गरौं। विश्व खाद्य दिवस २०८०को शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्