काठमाडौं। बडादसैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदैछ। दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ। चन्द्रघण्टालाई नवदुर्गा मध्ये एक देवीको स्वरुप मानिन्छ।
दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।
चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। हिन्दु धर्म, संस्कृतिअनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन्।
दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामी माथि सधैँभरि रहन्छ भन्ने पुराणमा उल्लेख छ। नवरात्र सुरु भएसँगै आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ।