सुनवलमा पाँचदिने कार्यशाला गोष्ठी सम्पन्न

pic -
लोकपाटी न्यूज
4 Shares

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयले पाँच दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक सुधारको लागी कार्यशाला गोष्ठी गरेको विद्यालयका प्रधानाध्यापक खेमलाल जोशी शर्माले बताए।

नमुना माध्यमिक विद्यालयलाई थप शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य सहित सुरु भएको कार्यशाला गोष्ठीमा विद्यालयमा भैरहेका अभ्यास, सुधार र कार्यान्वयनमा लैजानुपर्ने पक्षहरू र त्यसको उपलब्धिका बारेमा गोष्ठी केन्द्रित रहेको थियो। महाकवि देवकोटा नमुना माविमा नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ।

पश्चिम नवपरासीमै उत्कृष्ट विद्यालयको रुपमा परिचित विद्यालयले कार्यशाला गोष्ठी पछि थप सुधारात्मक र प्रभावकारी शैक्षिक गतिविधि र अभ्यासहरूमा सञ्चालन गर्ने जनाएको छ। विद्यालयको समग्र पक्षलाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यशाला गोष्ठी अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी रहेको विद्यालयकी शिक्षिका उषा ठकुरीले बताइन्।

त्यस्तै विद्यालय सुधार योजनासँग सम्बन्धित रहेर कार्यशाला गोष्ठी भएको र त्यसले शिक्षकहरूमा उत्साह ल्याएको विद्यालयका शिक्षक कृष्ण लामिछानेले बताए। कार्यशाला गोष्ठीमा अत्यन्तै गहन विषयवस्तुमाथि केन्द्रित रहेर कार्यपत्रहरू प्रस्तुत भएको र कार्यान्वयन पक्ष दृढता पूर्वक अगाडी बढे विद्यालयको समग्र सुधारमा थप इट्टा थपिने विद्यालयका शिक्षक रुकमागत बस्यालले बताए।

दुई हजार भन्दा बढी विद्यार्थीहरूले पठनपाठन गर्ने विद्यालयलाई समय सापेक्षिक रुपमा अगाडि बढाउने गरी विद्यालयले विभिन्न विषयगत नीति तथा कार्ययोजनाहरुलाई अगाडी सारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए।

साथै शैक्षिक गुणस्तर वृद्धिमा करिब डेढ दर्जन विषयगत समूहहरू वनेको र त्यसको कार्यान्वयनको लागी व्यवस्थापन तथा प्रशासन बाट सहयोग हुने भन्दै विद्यालयलाई निर्देशनात्मक सुझाव दिएको अध्यक्ष अर्यालको भनाई छ। विद्यालयमा ७५ प्रतिशत भन्दा बढी निजी जनशक्तिहरू भएको विद्यालयले उनीहरूको पेसागत सुरक्षा र स्थायित्वलाई समेत ध्यान दिएको अध्यक्ष अर्यालको भनाई छ। कार्यशाला गोष्ठीमा शिक्षक, अभिभावक सङ्घ तथा व्यवस्थापन समितिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्