विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन्। विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रममा उनले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो संगठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताए।
उनले कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि परिणाम राम्रो आउनुको असल उदाहरण प्रहरी संगठन हो भने। मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि अपराधी तथा गलत व्यक्तिलाई उन्मुक्ति दिन हुने उल्लेख गर्दै प्रदेश प्रहरीलाई बलियो र चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘अरूलाई सुरक्षा दिने निकाय पनि सुरक्षित हुनुपर्छ, अन्यथा सेवाग्राहीले उचित लाभ र सुरक्षित महसुस गर्न सक्दैनन्।’ कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्य सचिव डा दीपक काफ्ले र प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रहरी संगठनको विविध पक्षबारे चर्चा गरेका थिए।