दशैंलाई बडादशैं, दशहरा, विजयादशमी, आयुध-पूजा आदि नामले जानिन्छ। दशमी संस्कृत शब्द हो। त्यही दशमीबाट दशैं भयो। तत्सम् शब्द तत्भव भयो। विजयादशमी भनेपछि विजय जोडिन्छ, विजय भनेको जित हो। तर केही संस्कृतविद्का अनुसार दशैंको विजयसँग कुनै सम्बन्ध छैन। यो त पहिलेदेखि नै चलेको चलन हो। दशैं मूलतः सांस्कृतिक चाड नै हो।
इतिहासको कालखण्डमा विभिन्न धार्मिक कथाहरू दशैंमा जोड्न थालियो। रामले रावणलाई मारेको कथा, अष्टमात्रिका, नवदुर्गाले महेश्वरलाई मारेको पौराणिक कथाहरू यसमा जोडिँदै आए। दशैं विकसित रूपमा अघि बढ्दै अहिलेको अवस्थासम्म आइपुगेको छ। सामाजिक, सांस्कृतिक र धार्मिक तीनै पक्षलाई मिश्रित गरेर दशैंलाई रमाइलो बनाउने पक्षमा मानिसहरू सुरुदेखि लागेका देखिन्छन्। त्यसकारण मानिसहरूको परिवार एक ठाउँमा जमघट गर्ने, राम्रो लगाउने, मिठो खाने र रमाइलो गर्ने दशैंको मूल उद्देश्य हो।
पछि गएर मध्य कालतिर कस्तो भयो भने भारत र नेपालका विभिन्न ठाउँमा राजा महाराजाहरूले पनि हात हतियारहरूलाई पूजा गर्ने, दुर्गाको पूजा गर्ने, शक्ति आर्जन गर्ने अनि युद्धमा जाने गर्दथे। त्यो बेला साना-साना राज्यहरू थिए। लडाई बारम्बार भइरहने, वर्षापछिको समय लडाइँको लागि उपयुक्त मानिन्छ। उनीहरू पनि देवीको पूजा गर्ने, हतियारको पूजा गर्ने, एउटा वीरयोद्धाको विजयको प्रतीकका रूपमा यो भइदियो। यो विभिन्न कालखण्डको विकासक्रमसँगै भएको हो। राजा महाराजाहरूले लडाइँमा जानै पर्ने बाध्यता थियो त्यति बेला। यही क्रममा रातो टीका लगाउने, दिर्घायूको रूपमा जमरा लगाउने जस्ता प्रचलनहरू थपिँदै गए। दशैंलाई मानिसहरूले आ-आफ्नो अपेक्षा अनुसार आ-आफ्नै तरिकाले मनाए।
दशैं शब्द ‘अंक दश’बाट बनेको प्रसंग पनि पाइन्छ। दश अंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय थपेर बनेको मानिन्छ। १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन। घर-गाउँका मानिसहरूले दश महिनासम्म खेती, किसानीको काम गर्छन्। यसरी दश महिनासम्म काम गर्दा कहिले कहीँ आराम र मनोरञ्जन पनि गर्नुपर्छ। त्यसो नगरे स्वास्थ्य बिग्रन्छ, बिरामी भइन्छ। दश महिना काम गरेर प्रकृति (धर्तीमाता) र प्रत्यय (जिवात्मा/मुनष्य) ले विश्राम लिने अवसरको रूपमा दशैं मान्ने परम्परा सुरु भयो। तर, विश्राम कसरी गर्ने त ? सुतिरहेर, बसिरहेर मात्र विश्राम नगरेर रमाइलोको लागि एक-अर्काको घरमा गएर कुराकानी गर्ने अवसरको रूपमा दशैंको सुरु भएको केही संस्कृतविद्को मत छ।
दशैं मुख्यतः हिन्दु धर्मावलम्बीले धुम्धामका साथ मनाउँदछन्। दशैंसँग जोडिएका धेरै कथा पनि हिन्दु धर्मावलम्बीसँग सम्बन्धित छन्। जेहोस् नेपालमा दशैं भ्रातृत्व र एकताको पर्व हो। विभिन्न कारणले परिवारबाट छुटेकाहरूले एक ठाउँमा भेला भएर एक आपसमा खुशी साट्ने गर्दछन्। वर्षमा एक पटक भएपनि राम्रो लगाउने र मिठो खाने गरिन्छ। यसले गर्दा सधैंभरीको पीडालाई केही दिन भनेपनि भुलाउन मद्दत गर्दछ। अर्कोतर्फ यसमा प्रयोग गरिने कुपिण्डो, जमरा जस्ता औषधिमूलक फलफूलहरू समेत दशैंसँगै आउने गर्दछ। यसले चिकित्साको क्षेत्रमा पनि निकै महत्त्व दिने गरेको छ।
दशैंको वैज्ञानिक पक्ष
दशैंमा नवदुर्गाको पूजा गर्नुकोपछि प्रतीकात्मक एवं वैज्ञानिक महत्त्व पनि कम छैन। दशैंमा लगाउने टीकाको वैज्ञानिक पक्ष, बलिको वैज्ञानिक पक्ष, जमराको महत्त्व आदि पनि रहेका हुन्छन्। हामीले दशैंमा राख्ने जमरालाई सांस्कृतिक दृष्टिले दीर्घायुको प्रतीक मानिन्छ। तर, जमराको वैज्ञानिकता खोज्दा बिहान शारीरिक व्यायाम गरेपछि जौ र गहुँको जमराबाट बनेको जुस पिउने हो भने रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोगको निको समेत हुने कुरा वैज्ञानिक रुपमा पुष्टि समेत भइसकेको छ।
जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गड्बडी, थाइराईड, नसासम्बन्धी रोगका बिरामीलाई फाइदा गर्दछ। त्यस्तै, क्यान्सर, डाइविटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुने बताइएको छ। जौ र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसंख्यक रोगबाट बच्न पनि नियमित यसको सेवन गर्न सकिन्छ।
मानव शरीरमा रहेका सबै नाडीहरुमध्ये इडा, पिङ्गला र सुषुम्नालाई मुख्य मानिन्छन्। सुषुम्ना मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ। सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ । त्यसैले सुषुम्नामा पर्ने गरी नै टीका लगाइन्छ।
निधारमा लगाइएको चन्दनले मानिसका विकारयुक्त कीटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने मान्यता रहेको छ। चन्दन लगाउँदा मन शीतल हुन्छ भन्ने मान्यता समेत रहेको छ। मस्तिष्कको तातोपनालाई सन्तुलित राख्न पनि चन्दन टीका लगाउने गरिन्छ। यस्तै हरेक परम्पराको वैज्ञानिक महत्त्व रहेको पाइन्छ।