मासु धेरै खानुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। साधारणतः अरू वेलाको तुलनामा दशैंको बेला हरेक जसो घरमा मासु तथा मासुका परिकारहरू बन्ने गर्छन्। दशैंका वेलामा मासु बढी प्रयोग गर्ने पनि गरिन्छ। नेपाली समाजमा दशैंसँग जोडिएको जनजीवनका विशेषता हुन्- आफन्तजनसँगको भेटघाट तथा रमाइलो र मिठो परिकार खाने।

मासुमा अत्याधिक रुपमा पौष्टिक आहार पाइन्छ। जसमा पर्याप्त मात्रामा प्रोटिन, जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्त्व पाइन्छ। जसले मानिसको शरीरलाई शक्ति प्रदान गर्न मद्दत गर्ने गर्दछ। तर मात्रा मिलाएर खान जानिएन वा दशैंमा पनि नखाए कहिले खाने भनेर धेरै खाइयो भने यसले स्वास्थ्यमा नराम्रो असर पार्छ।

अमेरिका तथा यूरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूले गरेको अध्ययन अनुसार खानामा दैनिक अत्याधिक रातो मासुको प्रयोगले मानिसको मुटुमा असर पार्ने देखाएको छ। यति मात्र नभई उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउने कुरालाई अनुसन्धानले पुष्टि गरेको छ।

सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरमा कोलेष्ट्रोलको मात्रा पनि बढ्न जान्छ। यही कारण इच्छाएको परिकार खानबाट सधैंका लागि वञ्चित हुनु पर्ने अवस्था निम्तिन सक्छ। नेपालका मासु पसल तथा घरमा मासु काट्दा उचित ध्यान पुर्‍याउन नसकेका कारण पनि मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने गरेका तथ्य यस अघि सार्वजनिक भैसकेका छन्। मासुको माध्यमबाट मानिसको शरीरमा विभिन्न किसिमका रोगहरू सर्ने सम्भावना पनि उत्तिकै रहन्छ।

मासु र अन्य परिकारलाई स्वास्थ्यकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी भई खाना प्वाइजनिक हुन पुग्छ । जसले गर्दा मासु तथा खाना खाएको केही समयभित्रै पेट दुख्ने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिन थाल्छन्। यस्तो भएमा घरमै उपचार गर्नुको सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गएर जँचाई हाल्नुपर्छ।

मासु मानिसको शरीरलाई अत्यावश्यक खानेकुरा होइन। तर हामी प्रायः पौष्टिक आहार परिपूर्तिका लागि मासु खाने गर्छौं। तर यो आवश्यकता भन्दा बढी भयो भने यसले अनेकौं किसिमका रोग निम्तिने गर्छ। कुनै रोगहरू यस्ता हुन्छन् की एकै वर्षको दशैंमा खाएको मासुले गरेको असर जीवनभर खेपी रहनुपर्ने पनि हुन सक्छ। त्यसैले यस्तो अवस्थामा ध्यान पुर्‍याउनु आवश्यक छ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

– दशैं भनेर धेरै मासु खाने चलन छ तर यो गलत प्रवृत्ति हो। स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ।

– कोलस्ट्रोल धेरै भएको बोसोरहित मासु खानु उचित हुन्छ।

– दशैंमा खसीको आन्द्रा, भुँडी, कलेजोदेखि लिएर सबैजसो भाग खाइन्छ। खसीमा चिल्लोको मात्रा बढी हुन्छ। त्यसैले खसीको मासु कम खानुपर्छ भनिएको हो।

– कोलस्ट्रोलका बिरामीले माछा र ह्वाइट मिट खाँदा नतारी थोरै तेलमा पकाएर वा बेक गरेर खानुपर्छ।

– रातो मासु खाँदा बोसोरहित तथा छाला नभएको मासु खानुपर्छ।

– चिल्लो बढी हुने भएकाले ग्रेभी मासु भरसक खानुहुँदैन।

– मोटोपन भएकाहरूले एक दिनमा ३-४ पिससम्म मासु खान मिल्छ।

– दशैंमा मासु खाएर एक ठाउँमा बस्नुभन्दा शारीरिक व्यायाम पनि गर्नुपर्छ।

– रक्तअल्पता छ भने कलेजो खानु फाइदाजनक हुन्छ।

– युरिक एसिड भएकाहरूले रातो मासुभन्दा पनि माछा खानु लाभदायक हुन्छ।

– ग्यास्टि्रकका बिरामीले तारेको मासुभन्दा नुन, पानी, जिरा, लसुन तथा अदुवा हालिएको मासु खानु वेश हुन्छ।

– मधुमेहका बिरामीका लागि खाना अत्यावश्यक हुन्छ। दशैंका बेलामा पूजाआजा तथा पकाउने काममा व्यस्त हुने भएकाले खानपानको ठेगान हुँदैन।

– सकेसम्म पोलेको मासु खानु हुँदैन। साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वास्थ्यकर मानिन्छ।

– उसिनेको मासुमा थोरै जिराको धुलो र कागती राखेर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।

– मासु खाइसकेपछि केही असहज महसुस भयो भने कागती पानी र ज्वानो पानी खान सकिन्छ।

– हामीले जहिले पनि ताजा र सफा मासु मात्र खानुपर्छ।

– हप्तामा एक पटक मात्र मासु खानु निकै लाभदायी मानिन्छ।

– मासु पकाउँदा तेलको मात्रा ठिक्क मात्र लगाउनु पर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्