मुस्ताङमा १ सय ३५ नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

mustan-patiprabesh
लोकपाटी न्यूज
5 Shares

जोमसोम। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) मुस्ताङ जिल्लाको भेलालाई सम्बोधन र विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचारविरोधी अभियानले नयाँ उत्साह जागेको बताए।

भेलामा प्रधानमन्त्रीले भने, “हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ। यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौं। त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ। सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसपछि पनि अभियानले निरन्तरता पाउनेछ। हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौं।“

उनले भने, “मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु। मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ। सबै सूचकहरू सकारात्मक छन्। जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ। तसर्थ, सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरूरी छ। यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ।“

प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ संकट र जोखिमहरू न्युनिकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताए।
भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १ सय ३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङ लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्