बडादसैँका अवसरमा नेपाली सेनाद्वारा ज्येष्ठ नागरिकलाई भोजन

लोकपाटी न्यूज
4 Shares

बाँके। बडादसैँको अवसरमा नेपाली सेनाले आश्रमका ज्येष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई भोजन गराएको हो ।

कार्यक्रममा राझाँस्थित चार बाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चाडबाडको अवसरमा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए । “चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरूलाई आफन्तको कमी महसुस नहोस् भन्ने उद्देश्यले हामीले बडादसैँका दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौँ, उनले भने ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुबेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम नीलसागर आश्रमले निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताए ।

उनले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्टाएर उक्त आश्रमलाई सहयोग गर्न नगरबासीलाई आग्रह गरेका छन् ।

बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरू काठमाडौँ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ गरेर आठ जिल्लामा सञ्चालित छन् ।

कोहलपुर शाखामा रहेका २८ जना ज्येष्ठ नागरिकलाई नेपाली सेनाले बडा दसैँका दिन भोजन खुवाउनाका साथै राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयबागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्