भन्सारको भवन निर्माण अन्तिम चरणमाः रसुवागढी

लोकपाटी न्यूज
3 Shares

रसुवा। नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ ।

एकै स्थानबाट भन्सार बैङ्क तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरु भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ ।

सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा दैनिकजसो सडक अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असहज र कार्य प्रगतिको अनुपातमा समयसापेक्ष रकम भुक्तानी नहुनुजस्ता कारणले निर्माणमा केही ढिलाइ हुँदै गएको निर्माणसँग सम्बन्धित व्यक्तिले बताएका छन् ।

एकीकृत भन्सार तथा सुरक्षा पोस्ट निर्माण, विसं २०७२ को भूकम्पले क्षति बनाएको ऐतिहासिक रसुवागढी पर्खालको पुनः निर्माण, दैनिक काम सञ्चालनको लागि मितेरी पुल छेउमा फ्रिफेव भवन निर्माण, हेल्थ डेस्कसमेतका संरचनाको व्यवस्थापन रसुवागढीभन्दा केही तल निर्माण भएको १ सय ११ मेगावाट जलविद्युत्को ड्यामजस्ता संरचना र नेपाल घुम्ने चिनियाँ पर्यटकको आगमन तथा सामान आयात निर्यातका लागि मितेरी पुलबाट आवतजावत गरिरहने ट्रक कन्टेनरका चहलपहलले रसुवागढीको चहलपहल बढ्दै गएको छ ।

यस्तै टिमुरेको भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहको आधाजसो निर्माण, टिमुरे तथा घट्टेखोला क्षेत्रमा निजीस्तरका होटेल निर्माण, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको भवन निर्माणजस्ता कार्यले टिमुरेदेखि रसुवागढीसम्मको रौनक निकै बढेको स्थानीय समाजसेवी सुनामओदी तामाङले जानकारी दिए ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको पूर्वाधार विकास योजना, १ सय ११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाबाट पीडित बासिन्दालाई सहयोग योजनाजस्ता विकास कार्यक्रमले क्रमिकरूपमा टिमुरे, घट्टेखोला र रसुवागढीको मुहार फेरिँदै गएको र अबको दुई-चार वर्षमा सबै प्रकारका संरचना बनिसक्ने आफूहरू आशावादी उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्