ओल्गापुरीमा देखिएको उच्च कार्यसंस्कृति

लोकपाटी न्यूज
3 Shares
  • नेत्र सुवेदी “प्रयास”

व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि अवलम्बन गर्ने मार्गदर्शक मान्यताहरू हुन्छन् । समाज विकासको क्रममा अभ्यासबाट परिष्कृत हुँदै र सभ्यता विकास तथा धार्मिक, सांस्कृतिक एवम् अध्ययन अनुसन्धानका माध्यमबाट निश्चित आकार पाए ती मूल्यमान्यता नै विकास र प्रगतिका जग हुन् । चाहे व्यक्तिलाई बाटो देखाउने नैतिकता, करुणा, इमानदारिता, साहस, करुणा भाव, परोपकार जस्ता मार्गदर्शक गुण हुन् वा सामूहिकता, अनुशासन, नतिजा उन्मुखता, उत्पादकत्व, मानवीयता, सहकार्यजस्ता साङ्गठनिक मूल्यहरू वा सङ्गठनात्मक संस्कृति नै किन नहुन्, ती दुवैको विशेष अर्थ रहने गर्दछ ।

सङ्गठन भन्नेवित्तिकै त्यहाँ कार्यरत कार्यसमूह वा कर्मचारीतन्त्र के कस्तो छ भन्ने सरोकारको विषय हुन्छ नै । कर्मचारीतन्त्रका मूल्यमान्यताका रुपमा लिखित कानुन, राजनीतिक तटस्थता, पद सोपानमा आधारित कार्य विभाजन रहेका छन् । विश्वभर नै उपस्थिति जनाएको रेडक्रस सोसाइटीका आफ्नै सात वटा मूल्य मान्यता रहेका छन् ।

मानवीयता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, एकता र विश्वव्यापकता रेडक्रसका मूल्यमान्यता हुन् । सहकारी संस्थाको मूल्यका रुपमा आधार मूल्य र नैतिक मूल्य भनेर पहिचान भएको छ । आधार मूल्यहरूका रुपमा स्वावलम्बन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यबद्धता रहेका छन् भने नैतिक मूल्यहरूमा इमान, खुलापन, सामाजिक उत्तरदायित्व र अर्काको ख्याल जस्ता अति महत्त्वपूर्ण विषयहरू समेटिएका छन् ।

यी सबै सङ्गठनहरूले आफूमा जोडिन आएका नागरिकलाई उल्लेखित मान्यतासहितको कर्मको मार्गमा डो¥याउँछन् । शैक्षिक संस्थाहरूको पनि आफ्नै मूल्यमान्यता हुन्छ । काठमाडौँ विश्वविद्यालयको मूल्यमान्यता भनेको गुणस्तरीय आधुनिक शिक्षा उपलब्ध गराउनु रहेको देखिन्छ भने दक्षिण कोरियाको आजु विश्वविद्यालयले मार्गदर्शक सिद्धान्तका रुपमा मानवप्रतिको सम्मान, तथ्यबाट सत्यको खोजी र एक विश्व एक परिवार गरी तीन मूल्य मान्यता अघि सारेको छ । पछिल्लो समयमा सूचना प्रविधि, सृजनशीलता र नवप्रवर्तन पनि साङ्गठनिक मूल्यमान्यतामा थप भएको छ ।

नेपाल यूथ फाउण्डेसनः ३० वर्षका उपलब्धिहरू

संस्थापक अध्यक्ष ओल्गा डि मुर्रेले नेपालका अनाथ बालबालिकाका लागि प्रेम, स्वास्थ्य, शिक्षा र समुदायको अभाव हुन नदिने गरी कोमल मनका साथ सुरुमा अमेरिकामा स्थापना गरेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो नेपाल यूथ फाउण्डेसन । उनी अमेरिकी न्यायालयबाट सेवा निवृत्त भई परोपकारका क्षेत्रमा समर्पित महिला हुन् । उनी अहिले ९८ वर्षकी छन् । ओल्गाले नेपालको पहिलो पटक भ्रमण गरेको सन् १९८४ मा हो । त्यसै बखत परोपकार अनाथालय भ्रमण गरेपछि उनले नेपालमा मानवीय कार्यमा रुचि देखाइन् । लगत्तै उनले सहायता आवश्यक पर्ने जेहेन्दार तथा एसएलसी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइन् ।

सन् १९९० मा संयुक्त राज्य अमेरिकामा च्यारिटी सङ्गठनका रुपमा दर्ता भएको नेपाल यूथ फाउण्डेसन सन् १९९२ मा समाज कल्याण परिषद्मा आबद्धता प्राप्त गरी नेपालमा सक्रिय रहेको देखिन्छ । फाउण्डेसनले सिविन, खगेन्द्र नवजीवन केन्द्र, कान्ति बाल अस्पताल, तिलगङ्गा अस्पताल, बहिराहरूले शिक्षा पाउने विद्यालयलगायत थुप्रै सङ्घसंस्थालाई समेत सहायता उपलब्ध गराएको रहेछ ।

मूल मर्म वा मान्यताको कुरा गर्दा दयाभाव र करुणा नै नेपाल यूथ फाउण्डेसनको मुख्य मार्गदर्शक मान्यता हो । ओल्गाको भनाइ “म त्यस्तो आध्यात्मिक र धार्मिक व्यक्ति हैन । जीवनमा मेरा दुई खास विश्वास छ न्याय र दयाभाव । दयाभाव र करुणाले धेरै अरू विषय त स्वतः समेट्छन् । न्याय र दयाभावमध्ये रोज्नुपर्दा मैले दयाभाव चयन गर्दछु । यस धर्तीमा लोकप्रिय र धनी नै किन नहुन् अरूप्रति राम्रो व्यवहार गर्दैनन् भने के अर्थ के महत्त्व र के उपयोगिता ? यदि कुनै व्यक्तिले दयाभाव देखाउँदैन र करुणा छैन भने त्यस्तो व्यक्तिलाई मैले वास्ता गर्दिन’’ भनेबाट पनि यो संस्थाको स्थापनाकालकै उद्देश्य र मान्यता प्रस्ट हुन्छ ।

नेपाल यूथ फाउण्डेसनको संस्थागत मान्यताहरूका रुपमा करुणा, सहानुभूति, स्वतःस्फूर्तता, गुणस्तरीय सेवा र सेवामा पूर्णता रहेका छन् । परिस्थिति अनुसार दयालुपनका कर्महरू फरक हुन सक्छन् । यो संस्थाको नेपालस्थित शाखाले कमलरी मुक्तिपछि, भूकम्पपश्चात्को अवधिमा, कोभिड १९ को महामारीको अवधिमा पनि समस्यामा रहेकाहरूप्रति करुणाभाव राखेर यथेष्ट रुपमा कामहरू गरेको छ ।

ललितपुर महानगरपालिकाभित्र पर्ने सैँवु भैँसेपाटीकै काखमा पर्ने स्थानमा फाउण्डेसनको स्वामित्वमा रहेको तालिम केन्द्र, अनाथ बालबालिकाहरू रहने होस्टेल, कृषि उत्पादनसमेत हुन सक्ने संस्थाको स्वामित्व रहेको क्षेत्रलाई ओल्गाको योगदानको स्मरण हुने गरी ओल्गापुरी नाम राखिएको छ । यस क्षेत्रका संरचनाहरू सन् २०१३–२०१६ को अवधिमा निर्माण भएका हुन् ।

ओल्गापुरीले ओगटेको २५ रोपनी जमिनभित्र १०० जनासम्म बालबालिकालाई पारिवारिक वातावरणसहित आवास सुविधा उपलब्ध गराइएको छ । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकासतर्फ स्नातकोत्तरका विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउनेदेखि धादिङमा स्कूल सञ्चालन, कोभिडको लगत्तै देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्ने, ३० जनाले फाउण्डेसनकै सहयोगमा मानवअधिकार रक्षकका रुपमा कानुन विषय अध्ययन गरिरहेका छन् ।

ग्रामीण शिक्षा कार्यक्रम सन् १९९७ देखि, पोषण पुनः स्थापना गृहको कार्यक्रम सन् १९९८ देखि प्रारम्भ भएको छ । त्यसै गरी देशका १६ भन्दा बढी स्थानमा पोषण पुनः स्थापना केन्द्रहरू सञ्चालनमा रहेका छन् । सन् २००० प्रारम्भ भएको कमलरी मुक्तिसम्बन्धी कार्यक्रमबाट १३ हजारभन्दा बढी कमलरीहरू लाभान्वित भएका छन् । अहिले पनि उनीहरूले सीपमूलक तालिम प्राप्त गरी व्यवसाय सञ्चालन गर्न सक्षम हुने अवसर प्राप्त गरेका छन् ।

सन् २००० मा धादिङमा सुनौलो छोवा सामुदायिक विद्यालय प्रारम्भ भएको थियो । अङ्कुर काउन्सेलिङ्ग कार्यक्रम सन् २००७ देखि र किन्ससिप केयर सन् २००४ देखि सञ्चालनमा छ । दलित छोरीहरूको सशक्तीकरण २००६ देखि र व्यावसायिक शिक्षा तथा वृत्ति परामर्श २००७ देखि सुरु भएको छ । पछिल्लो समयमा दलित कानुन व्यवसायी २०२२ मा र जातीय समानता परियोजना २०२३ मा सुरु भएको रहेछ । शिशु पुनः स्थापनाबाट प्रारम्भ भएको अभियानलाई क्रमशः फाउण्डेसनले पोलिटेक्निक इन्स्टिच्युटमा रूपान्तरण हुन सक्ने गरी अवधारणा विकसित भएको छ ।

व्यावसायिकता प्रवर्द्धन तथा साङ्गठनिक दिगोपना

रोजगारी र व्यवसाय सञ्चालनको लागि लामो अवधिका इलेक्ट्रिसियन, पलम्विङ, सिलाई जस्ता तालिमहरू अहिले पनि सञ्चालनरत छन् । सहभागीहरू चयन गर्दा देशका विभिन्न स्थानमा स्थानीय तहसँगको समेतको समन्वयमा छनोट गरिने रहेछ । आवासीय सुविधासहित निःशुल्क तालिम प्रदान गर्ने र रोजगारीका लागि पर्याप्त सीप र नयाँ सोच दिएर मात्र बजारमा पठाउने रणनीति अनुकरणीय छ । विद्युत, पलम्विङ्ग, काठको काम, वेल्डिङ्ग, व्यावसायिक सिलाई सम्बन्धी तालिमको व्यवस्था गरिएको छ ।

कोभिडको महामारीपछि उल्लेखित पाँच वटै विषयमा घुम्ती तालिम समेत सञ्चालन भएका थिए । ओल्गापुरीमा उपलब्ध कृषियोग्य जमिनमा दिगो खालको खेतीपाती तथा पशुपालन सञ्चालनमा छन् । तरकारी र दूध विक्रीबाट आम्दानी पनि गरिएको छ । फाउण्डेसनको सहयोगमा सीप सिकेकाहरू अधिकांश व्यक्ति नेपालभित्रै विभिन्न व्यवसायमा संलग्न भएका छन् । हाम्रो जस्तो देशका लागि बजारमा बढी माग भएका सीपयुक्त जनशक्ति देशभित्र उपलब्ध गराउने र सीपयुक्त जनशक्तिको उपलब्धता सम्बन्धमा सुसूचित गर्नु पनि हो ।

असल कार्यसंस्कृति

ओल्गापुरीमा रहेको नेपाल यूथ फाउण्डेसनमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूमा तुलनात्मकरुपमा स्थायित्व रहनुको कारणबारे जिज्ञासा राख्दा थाहा भयो कि यहाँ कार्यरत जनशक्तिले हरेक दिन र हरपल कसैको जीवनमा परिवर्तन ल्याइरहेको छु भन्ने अनुभूति गर्दछन् । मानवीयता र समर्पण भावका साथ मानिसलाई पहिलो प्राथमिकता दिएको यो संस्थामा कार्यरतहरूको रगतमा नै मानवीयता रहेको हुँदा मध्यम स्तरकै सुविधामा नै उनीहरू उत्प्रेरित छन् । वार्षिकरुपमा २० लाख अमेरिकी डलर बजेट रहेको यो संस्थाको वार्षिक बजेटमध्ये ८७ प्रतिशत स्रोत कार्यक्रमहरूमै खर्च हुने गर्दछ ।

केन्द्रीय र प्रादेशिक अस्पतालमा सञ्चालनमा आएका सामाजिक सेवा एकाइहरूले फाउण्डेसनको सहयोगमा काम गरिरहेका र भविष्यमा स्वनिर्भर भई असल कार्य संस्कृतिका साथ सेवामा समर्पित हुने देखिन्छ । फाउण्डेसनको हालसम्मको कार्यसम्पादन र नतिजालाई नजिकबाट अवलोकन ग¥यो भने नेपालभित्रका गरिबी र असमानता कम गर्न नेपालीले नै मिलेर मेहनत गरेमा सम्भव हुने देखिन्छ । फाउण्डेसनजस्तै संस्थाहरू केही मात्र भए पनि मुलुकमा असरदार प्रभाव पर्ने प्रस्ट छ ।

मानवीय मूल्य मान्यता प्रवर्द्धनमा निरन्तर समर्पित संस्थाहरूको असल कार्यसम्पादनको मूल्याङ्कन गर्ने र त्यस्ता संस्थाहरूलाई काम गर्ने वातावरण तयार गर्न सहजीकरण गर्न सरकारी संरचनाभित्र नै सामाजिक विषय हेर्ने सङ्गठन आवश्यक पर्दछ । सरकारी प्रयत्न भएमा मात्र अन्य अभियानहरूले दिगोपना पाउँदछन् । तीस वर्षभन्दा बढी अवधिका लागि जीवन रूपान्तरणमा संलग्न नेपाल यूथ फाउण्डेसनले नेपाली समाजमा देखाएको आशाको किरणलाई निरन्तरता दिन तथा उक्त संस्थाका राम्रो कार्य संस्कृतिबाट सिकेर अन्य संस्थाहरूले समेत राम्रो नेतृत्व र राष्ट्र हितका लागि अनुकरणीय काम हरू गर्न सक्छन् ।

 

(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुनुहुन्छ)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्