माओवादी घटक दलहरू बिचको एकता आवश्यकः प्रधानमन्त्री दाहाल

लोकपाटी न्यूज
4 Shares

रुकुम। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान माओवादी घटक दलहरू बिचको एकताको अभियान पनि रहेको बताएका छन् ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूका बिच एकता आवश्यक छ भने । प्रधानमन्त्री दाहालले भने,“हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिबद्धता भुल्दै साथीहरू फरक बाटोतिर लागे । शान्ति प्रक्रियापछि उनीहरूलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाए । ”

केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो । “हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरूको एकता हो ।”, उनले भने ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । उनले भने, “हामीले निकै बलियो सरकार बनाएका छौँ । यो सरकार पाँच वर्ष नै रहन्छ । कोसी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तः कोसीमा पनि गठबन्धनकै सरकार बन्छ ।” सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनले आरोप लगाए । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताए । “हामीले छिमेकी र मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँ । अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ । ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन् ।” प्रधानमन्त्री दाहालले भने।

वर्तमान सरकार गठनभएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएको उनले बताए । उनले भने “हामीले मिटरव्याजीलाई कारबाही गरेका छौँ । नक्कली भुटानी शरणार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौँ । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरूको ठूलो साथ र सहयोग रहेको छ ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्