कृषिमा आधारित रोजगारी सिर्जना गर्न कार्यक्रम सञ्चालन गर्दैछौं : मुख्यमन्त्री पाण्डे

Surendra_Pandya
लोकपाटी न्यूज
6 Shares

नवलपरासी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले कृषिमा आधारित रोजगारी सिर्जना गर्न लागेको बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आज आयोजित प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रमसम्बन्धी अभिभुखीकरण कार्यक्रममा उनले रोजगारी सिर्जनाका लागि पहिलो प्राथमिकतामा राखेर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।

जमिन बाँझो हुँदै जानेक्रम बढ्दै गएको र युवाहरू पनि कामको सिलसिलामा विदेश जानेक्रम बढेकाले आफ्नै ठाउँमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफलपछि प्रदेशले कृषिलाई पहिलो प्राथमिकता दिएर काम अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताए। ‘कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफल पछि पहिलो प्राथमिकता कृषिलाई दिएका छौं, कृषिमा आधारित भएर रोजगारी सिर्जन गर्न सक्छौं, कृषिमा आधारित उद्योगहरू पनि स्थापना गर्न सक्छौं, हामीले सोहीअनुसार कार्यक्रम गर्दैछौं,’ उनले भने।

कृषिलाई आधार मानेर फलफूल खेती, आलु खेती, चैते धान बालीसहित अन्य नगदे तरकारी खेतीका कार्यक्रमसमेत प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री पाण्डेले बताए। गण्डकी प्रदेश सरकारले कृषि उत्पादनलाई बढाउन अहिले उत्पादनको आधार र अनुदान उपलब्ध गराउने नीति लिइएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्