पुराना ऐनहरू समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती

Sudan_Kirati
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन्। आज यहाँ नेपाल पर्वतारोहण संघको ५०औँ वार्षिकोत्सव समारोहमा उनले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताए।

‘हाम्रा ऐनहरू पुराना छन्। ऐनहरू समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ,’ मन्त्री किरातीले भने, ‘आजै जोगमुनिबाट फोन आएको थियो। विदेशी पर्यटकले एउटा पाँच तारे होटलमा २५ हजारको कोठा बुक गर्नुपर्ने हुन्छ। तर २५ हजार भारु भन्दा बढी रकम बोक्न नपाइने प्रावधान भएकाले सो स्थितिप्रति उहाँहरूले गुनासो गर्नुभयो।’

विदेशी पर्यटकलाई जहाजको भाडा दोब्बर गर्दा विश्वमा नकारात्मक सन्देश गएको उनको भनाइ थियो। मन्त्री किरातीले ‘फेक रेस्क्यु’ले नकारात्मक सन्देश दिने भन्दै सरकारी, गैरसरकारी र निजी क्षेत्र यस्ता विषयप्रति गम्भीर हुनुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउँदै कतिपय स्थानमा पर्यटकका लागि निषेधित क्षेत्र भएकाले पर्यटनमा असहजता भएको बताए।

‘एडभेन्चर, नेचर र कल्चर नेपाली पर्यटनको मौलिकता हुन्। यसलाई विश्व समुदायमा नयाँ ढंगले बजारीकरण (रिब्राण्डीङ) गर्न सके पर्यटनबाट समृद्धि सम्भव छ,’ मन्त्री किरातीले भने। उनले संघले हिमाल तथा हिमाली पर्यटन प्रवर्द्धन क्षेत्रमा खेलेको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गरे। -रासस