काठमाडौं। आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो।
नेपाललाई अन्तिम ओभरमा २६ रन चाहिएको थियो। विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए। तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए।
अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो। नेपालका लागि विवेक यादवले २४ बलमा ५ छक्कासहित ३९ रन बनाए । कुशल भुर्तेलले २६ र करण केसीले १५ रन बनाए।
यसैगरी सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन बनाए। कुशल मल्लले १० रन बनाए। अरुले दोहोरो अंकको रन जोड्न सकेनन्। टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो। ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।
नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारेका थिए। गुल्शन झा र अविनाश बोहोराको नाममा एकरएक विकेट रह्यो। ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ। नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ।