रिगलको कैद मिनाहा बदर, पक्राउ गर्न परमादेश

Sarbochcha_Adalat
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई दिएको कैदमिनाहा बदर गर्न परमादेश गरेको छ। साथै रिगललाई तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णय कानुन विपरीत भएको ठहर गर्दै सो निर्णय गरेको हो। रिगलविरुद्धको मुद्दामा बुधबार बहस सकिए पनि निर्णय आज सुनाएको हो।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले संविधान दिवसको दिन सरकारबाट बाँकी कैद मिनाहा पाएका थिए। व्यक्ति हत्यामा जन्मकैद सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई कैद कट्टा गरी जेलमुक्त गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको थियो।

रिगलले २०७२ असार २८ गते नेपालगञ्जमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। त्यसपछि उनी ८ वर्ष कैद सजाय भोगिसकेका थिए। रिगलले झण्डै ५० प्रतिशत सजाय भुक्तान गरिसकेका थिए।