मुलुकलाई भ्रष्टाचारको महारोगबाट मुक्त गर्नुपर्छ : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गरे। उनले भने, ‘देशको अवस्थालाई हेर्नु छ भने विमानस्थलमा पुगेर हेर्नुपर्छ। विदेश गएर युवा कुन अवस्थामा छन्। देशको नेतृत्व गर्नेले कत्तिको देश र जनताप्रति इमान्दार भएर काम गरिरहेका छौँ त ?’

नेपालीले अनेकौं चुनौतीको सामना गर्दै आएको बताउँदै अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको र व्यवसायीमा पनि संकट रहेको उल्लेख गरे। विप्रेषण पनि दैनिक उपभोग्य वस्तुमा खर्च भएको बताउँदै उनले योजना निर्माण र बजेट विनियोजनमा त्रुटी रहेको औँल्याए।

‘कृषिजन्य धेरै वस्तु आयात गरिरहेका छौं। हामीले आफ्नै देशमा उत्पादन गर्न सक्ने चिज पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ। नेपालमै कृषि उत्पादन बढाउन राज्य चुकेको छ। भ्रष्टाचार गर्ने महारोगबाट नेपाललाई मुक्त गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘सरकारले राज्य प्रणालीलाई पारदर्शी बनाउनुपर्छ। इमान्दारिता, पारदर्शिता, जनताको पीडा र वेदनालाई महसुस गरेर अघि बढौं।’

इजरायलमा १० नेपाली विद्यार्थीको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने माग गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्