रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउँछ : महासचिव गुरुङ

Deb_Gurung
लोकपाटी न्यूज
4 Shares

कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउने विश्वास व्यक्त गरेका छन्।

पार्टीको गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकलाई आज पोखरामा उनले तीन महिनाको अभियान प्रभावकारी भएको र सङ्गठन विस्तारमा समेत सहयोगी भएको बताए। महासचिव गुरुङले पार्टी गत भदौ १६ गतेदेखि सुरु भएको अभियान पदाधिकारी बैठकले एक महिना थप गरी पुस १५ गतेसम्म पुर्‍याएको जानकारी दिए।

उनले भने, ‘अभियानले पार्टीलाई गतिशिल बनाएको छ। पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अभियानमा जोडिनुभएको छ। यसले पार्टीभित्र र बाहिरसमेत सकारात्मक सन्देश प्रवाह भएको छ।’ महासचिव गुरुङले पार्टीको नेतृत्वमा रहेको सरकारले धेरै जनपक्षीय कामहरू गरिरहेकाले सरकारले गरेका राम्रा कामलाई जनतामा प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गणतन्त्र, संघीयता र अहिलेको प्रणालीको रक्षा गर्न माओवादी केन्द्र शक्तिशाली बन्नुपर्नेमा जोड दिए। देशमा प्राप्त उपलब्धीहरूको रक्षा गर्नु अहिलेको आवश्यकता रहेकाले पछिल्लो समय देखिएका व्यवस्था विरोधी गतिविधिविरुद्ध अभियानका क्रममा जनतालाई समेत प्रशिक्षित गर्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्