दाङबाट भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मीसहितको टोली पठाइयो

लोकपाटी न्यूज
5 Shares

दाङ। गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारका लागि दाङबाट सशस्त्र प्रहरीको एक टोली पश्चिम रुकुमका लागि प्रस्थान गरेको छ।

सशस्त्र प्रहरीका १७ जनाको उद्धार टोली त्यसतर्फ पठाइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए। जिल्लाबाट टोलीलाई उद्धारका लागि आवश्यक सामग्री, औषधीसहित पठाइएको उनले बताए।

कर्णाली प्रदेश सरकारको समन्वयमा उद्धार पठाइएको प्रजिअ सुवेदीको भनाइ थियो। त्यस्तै भूकम्पपीडितहरुका लागि जिल्लाबाट खाद्यान्नलगायत सामग्री आज नै पठाउने तयारी गरिरहेको पनि उनले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। उनले चिकित्सकसहित आजै स्वास्थ्य सामग्री लिएर स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको बताए।

दाङमा भने अहिलेसम्म भूकम्पबाट कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए। भूकम्प प्रभावितलाई उपचार गर्न लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी खटाएको छ। प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाएको हो।

मास्कीका अनुसार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग समन्वय गरी २० जनाको टोलीलाई पश्चिम रुकुमको सल्ले अस्पताल पठाइएको हो। साथै उद्धार तथा समन्वयका लागि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेको नेतृत्वमा पनि सरकारको अर्को टोली त्यसतर्फ जाने तयारी भएको उनले बताए।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्