काठमाडौं। नेपाली काँग्रेसले जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
काँग्रेसले आज विज्ञप्तिमार्फत उक्त निर्णयलाई आ-आफ्नो तहमा कार्यान्वयन गर्नु/गराउनका लागि पार्टीका सबै तहमा निर्देशन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको भए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने पार्टी कार्यालयले जनाएको छ।
भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिक घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको छ। काँग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिलसमेत गरिएको छ।