देउराली सहकारीबाट ठगिएको भए जाहेरी दिनुस् : सिआइबी

CIB_Nepal
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएको भए जाहेरी दिन आग्रह गरेको छ। सिआइबीले सोमबार सूचना जारी गरेर उक्त सहकारीका सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेकाले निक्षेप रकम हिनामिना भई ठगिएका निक्षेपकर्ताले प्रमाणसहित जाहेरी दिन भनेको हो।

सिआइबीको सूचनामा भनिएको छ, ‘देउराली बचत तथा ऋण सहकारी संस्था ली. केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुर भई भक्तपुर र काठमाडौं जिल्लाभित्रका सहकारीका सेवा केन्द्रहरूका निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरूले जाहेरी दरखास्त पेस गरेकामा उल्लेखित कसुरउपर मुद्दा दर्ता गरी यस ब्युरोबाट अनुसन्धान कार्य भइरहेकाले काठमाडौं र भक्तपुर जिल्लाभित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरूउपर प्रमाणसहित यस ब्युरोमा यथाशीघ्र रितपूर्वकको जाहेरी दिनुहुन सूचित गरिएको छ।’

सिआइबीले सो संस्थाका अध्यक्ष काभ्रेको चौँरी देउराली स्थायी घर भएका रवीन्द्र चौलागाईंलाई सिआइबीले गत असोज १६ गते पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगीका साथै सांगठिक अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। उनीमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ। सिआइबीले गत साता संस्थाका थप दुई जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा व्यवस्थापक दीपक केसी तथा कर्जा समिति संयोजक राजेन्द्र खत्री रहेका छन्। सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर चौलागाईंले सहकारीमा संगठित रूपमा ठगी गरेको आधारमा सिआइबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्