काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि राष्ट्रिय वाणिज्य बैंकले एक करोड आर्थिक सहयोग गरेको छ। बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुङ्गानाले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेका हुन्।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मंगलबार ट्रान्सफर गरिएको जनाएको छ। भूकम्पका कारण मृत्यु हुने नागरिकहरू प्रति बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट पनि गरेको छ। साथै, बैंक घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकीय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरू रोमिला ढकाल उप्रेती, सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो।