भरतपुर। पवित्र धार्मिक तीर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ। भरतपुर वडा नम्बर-१ स्थित देवघाट धामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरिन्।
देवघाट धाम आउने तिर्थालु तथा मलामीलाई लक्षित गरी बागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडा भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङ्गे धारा निर्माण गरेको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले काठमाडौंपछि भरतपुरमा पहिलो पटक ढुङ्गे धारा निर्माण भएको दाबी गरिन्। ढुङ्गे धारा निर्माण स्थललाई आकर्षक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने सो अवसरमा बताइन्।
महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकास गर्न महानगरपालिकाले प्रामाणिकता साथ बजेट विनियोजन गर्दै आइरहेको उल्लेख गरिन्। उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्नति, शव दाह गृह लगायतका महत्त्वपूर्ण पूर्वाधार निर्माणका कार्य भइरहेको बताइन्।
खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरे राम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो। भरतपुर महानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले बताए।
धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको जानकारी दिए। भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई प्राचीन ढुङ्गे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताइन्।
भरतपुरको आँप टारीदेखि देवघाट पुन्यभूमिसम्म जाने बाटोको बिचमा भक्तजन यात्रीहरू, पितृ विश्राम स्थल तथा सम्पूर्ण प्राणी जनलाई पानीको आवश्यकता पुरा गर्न मौलिक शैलीकै प्राचीन ढुङ्गे निर्माण गरिएको प्राचीन ढुङ्गे धारा, स्रोत संरक्षण खानेपानी उपभोक्ता समितिका अध्यक्ष मधु अधिकारीले जानकारी दिए।