एकद्वार नीति प्रणालीबाट राहत वितरण हुन्छ : गृहमन्त्री

NarayanKaji_Shrestha
लोकपाटी न्यूज
7 Shares

गण्डकी। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको जानकारी दिएकी छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारका तर्फबाट भूकम्प प्रभावितका लागि उपलब्ध गराइएको सामग्री बुझेपछि आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न दाताले उपलब्ध गराएको सहयोगलाई संकलन गरी तीन वटै सरकारको समन्वयमा एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई प्रदान गरिने छ भने।

उनले भने, ‘भूकम्प पीडित कोही पनि खुला आकाशमुनि बस्नु नपरोस्, जाडोमा भुईँमा सुत्नु नपरोस् तथा खाद्यान्नविहीन हुनु नपरोस् भन्ने तवरबाट सरकारले काम गरिराखेको छ। यसका लागि आवश्यक व्यवस्थासहित सम्बद्ध पक्षलाई निर्देशन पनि दिइसकेको छ।’ भूकम्प लगत्तै प्रभावित दुवै जिल्लामा सरकारले पाँच/पाँच करोड रुपैयाँ उपलब्ध गराइसकेको उनले जानकारी दिए।

भूकम्पपछि मित्रराष्ट्रबाट सहयोग आउनेक्रम जारी रहेको जनाउँदै उनले सहयोगदाताप्रति धन्यवाद व्यक्त गरे। हाम्रो देश प्राकृतिक विपत्तिले जोखिमी देश भएको उल्लेख गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जोखिमी न्यूनीकरणसँगै जनधनको कम नोक्सानी हुने गरी चनाखो बन्नु अपरिहार्य छ भने।

भूकम्प लगत्तै पहिलो दिन प्रधानमन्त्री स्वयम् स्वास्थ्यकर्मीको टोली लिएर र दोस्रो दिन आफू स्वयम् पुगी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका कामलाई तीव्रता दिइएको उनले जानकारी गराए।

यसअघि भूकम्प प्रभावित क्षेत्रका लागि दुई वटा चिनियाँ जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाजमा २८ करोड रुपैयाँ बराबरका चार हजार ६ सय थान ब्ल्यांकेट र ६०० थान त्रिपाल रहेको जानकारी गराइयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्