-शिवजी तिवारी
दशैंतिहार बिदाको सदुपयोग गर्दै कालिका मा.वि रामवजार पोखराका शिक्षक र कर्मचारी अवलोकन भ्रमण जाने तय भयो। भ्रमण कहाँ जाने भनेर साथीहरूबिच केही दिन बिचार विमर्श भए। केही भारतका ठाउँहरू र केही नेपालका भागहरूमा भ्रमण गर्ने मोटामोटी योजना निर्माण भए। शिक्षक साथीहरूको आन्तरिक पर्यटनलाई बढवा दिने मतले सबैको मन जितेपछि त्यही अनुरूप आदरणीय गुरुहरू रुद्र तिमिल्सिना र विजय सापकोटाले कालिन्चोक, भीमेश्वर, हलेसी, पाथीभरा, इलाम, बुढासुब्बा, दन्त काली, बराह क्षेत्र र यिनै ठाउँहरूमा पर्ने अन्य धार्मिक र पर्यटकीय स्थलहरू समेटेर एउटा योजना निर्माण गर्नुभयो।
यात्रा आरम्भ:
सूर्योदयको प्रतीक्षा पोखरामा नगर्ने, पोखरादेखि मुग्लिङसम्मको अप्ठ्यारो बाटो सकेसम्म सितका थोपाको कब्जामा धुलो रहँदा नै काट्ने योजना मुताबिक बिहान ५ बजे नै यात्रा प्रारम्भ गरियो। ३२ जना शिक्षक कर्मचारी र ३ जना बसका स्टाफहरू करिब ४० किमी प्रतिघण्टाको दरले पृथ्वी राजमार्गमा हुइँकिन थालियो। ७ बजे जामुनेमा चिया नास्तासँगै उही यात्रा। रुद्र सर र आकाश सरका रमाइला जोक्सले आफ्नो घनत्व बढाउँदै हाम्रो यात्रालाई यादगार बनाउनमा प्रयत्नशील थिए। मेरा लागि यति लामो यात्रा यति धेरै सिनियर साथीहरूका अनुभवले जन्माएका जोक्सहरु, सबै कुरा नौलो नै थिए। पृथ्वी राजमार्ग मेरो लागि नौलो थिएन। काभ्रेको बनेपासम्म पहिल्यै पुगेको हुनाले मलाई खासै अनौठो लागिरहेको थिएन। बस आफ्नै गतिमा अगाडी बढिरहेको थियो, साथीहरूका रमाइला गफगाफ र नृत्यले यात्रालाई थप यादगार बनाइरहेको थियो।
प्राचीन व्यापारिक नाका दोलालघाट
दिउँसोको करिब ३बजे इन्द्रावती र भोटे कोशीको दोभान नजिकै दोलालघाट पुगियो। धार्मिक व्यक्तिहरू इन्द्रावती नदी किनारमा स्नान गर्नतर्फ लाग्नुभयो, केही साथीहरू त्यहाँको लोकल माछा खाँदै त्यहाँको मनोरम दृश्यलाई आफ्नो मोबाइलमा कैद गर्न व्यस्त हुनुभयो। चियाको पारखी म, चियाको चुस्कीसँगै स्थानीय विशेषताको बारेमा बुझ्न थालेँ। काठमाडौँदेखि करिब ५६ कि.मी पूर्व रहेको बजार क्षेत्रको दोलालघाटबाट बाग्मती प्रदेशको काभ्रे जिल्लाको एक व्यापारिक केन्द्र रहेछ। प्राचीन कालदेखि व्यापारिक नाकाको रुपमा परिचित दोलालघाट समुद्र सतहबाट ३५० मि.उचाइमा अवस्थित छ। बजारलाई अरनिको राजमार्गको निर्माण पछि अवश्यनै थप मद्दत पुर्याएको बताइन्छ। दोलालघाटको व्यापारिक महत्त्व परापूर्व काल देखिकै रहेछ। अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दालगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लासम्म व्यापारिक प्रभाव परेको रहेछ।
राजमार्गकै केही दूरीमा बलेफी, बाह्रबिसे र लामोसागूँमा भएका बजारहरूको व्यापारिक प्रभाव यो क्षेत्रमा परेको कुरा स्थानीयवासीको अनुभव रहेछ। यो क्षेत्रबाट प्रस्तावित दोलालघाटबाट–धनकुटा राजमार्ग एवं दोलालघाटबाट–चौतारा सडकको पनि संगमस्थल पर्ने भएकाले अझ बढी महत्त्व थपिएको रहेछ। झिसमिसे उज्यालोमा ताते तते गरेको हाम्रो यात्रा अब टन्टलापुर घाममा हुँइकिएर साँझको सामीप्य तर्फ उन्मुख हुँदै थियो। जति उकालो चढ्यो, उति चिसो हावाको स्पर्श बढ्न थाल्यो। पातलो हाफ टिसर्ट र उईण्ड प्रुफमा यात्रा प्रारम्भ गरेको म चिसोको अनुभवले उद्ध्योलित हुन थाले। हामी उत्साही मान्छेहरू चिसो हावाको स्पर्शसँगै उकाली चढिरह्यौँ‘।
चरिकोटको बास
उचाइ बढ्दै जाँदा पहिरन र रहनसहन बदलिँदै थियो। मान्छेको मुस्कानले हामीलाई पुलकित गरिरहेको थियो। करिब ३४१ कि.मिको यात्रा अगाडि बढिरहेको थियो। थकित साथीहरू बसभित्रै हल्का निन्द्रामा झुल्दै हुनुन्थ्यो । यहि मौकामा कुशल लामिछाने सरले “स्याङ्जा जाने बाटोमा तनहुँ, बिर्सी जाने मायालाई के भनौँ “ भन्ने गीतमा नाच्न र सबै साथीहरूलाई नचाउन थाल्नुभयो। बिचबिचमा आकाश सरका जोक्स र साथीहरूको नृत्यले चरिकोट पुगेको पत्तै भएन। राति करिब ९ बजे चरिकोट पुगेका हामी स्थानीय विशेषता बोकेको चौँरीको घ्यूसँगै थकाली खाना खाएर सुत्यौँ।
सुन्दर कुरी गाउँ
पुर्णिामाको दिन कालिन्चोक दर्शनको अवसरको भरपुर उपयोगका लागि लालयित हामी ५ बजे बिहानै कुरी बजारतर्फ अगाडि बढयौँ। सल्लो धुपि र लालिगुँरासले भरिएको जङ्गलको बिचमा साँघुरो ढलान गरेर निर्माण गरिएको उकालो बाटो हुँदै चरिकोटबाट कुरी बजार तर्फ भजन गाउँदै बढियो। जति उचाइ बढ्दै गयो, अग्ला रुखले ढाकेको जङ्गल पार हुँदै बुट्यानले ढाकेको चौरहरू देखा पर्न थाले। ठाउँ ठाउँमा चौरीका गोठहरु रहेछन्।स-साना चिया पसल ,होचा होचा साँघुरा घरहरू फाट्टफुट्ट देखापरिरहेका थिए। करिब १७ कि.मी बाटो पार गरेपछि कुरी गाउँ पुगियो। यो गाउँ यति रमाइलो रहेछ कि वर्णन नै गर्न सकिँदो रहेनछ।
कालिन्चोक भगवती मन्दिरबाट तल पर्ने कुरी गाउँ निकै मिलेको बस्ती रहेछ। भर्खरै निर्माण गरिएका आधुनिक घरहरूले निकै शोभा दिएका देखिन्छन्। चरिकोटबाट आएका सबै सवारीसाधन यही आएर रोकिने हुँदा गाडीहरूको ताँती नै देख्न पाइन्छ। यहाँ निर्माण गरिएका घरहरू सबै व्यापारिक प्रयोजनका लागि नै बनेका देखिन्छन्।सबैजसो घरमा होटेल, लज र रेस्टुरेन्ट लेखिएका थिए। यो कुरी गाउँको मुख्य आयस्रोत भन्नु नै पाउना पाल्ले व्यवसाय रहेछ। यो ठाउँको आकर्षण बढ्नुमा मुख्य रूपमा यहाँबाट अघि बढ्ने सडक नहुनु जस्तो लाग्छ । यहाँ जति पनि भक्तजन तथा पर्यटक आउँछन्, ती सबै यहाँ केही समयको लागि भने पनि रोकिनु नै पर्ने रहेछ।
कालिन्चोक भगवती
उच्च पहाडी डाँडाको फेदीमा अवस्थित भुरी गाउँबाट कालिन्चोक भगवती माताको दर्शन गर्न जानका लागि निकै ठाडो उकालो भएको एक मात्र पैदल बाटो रहेछ । यो पैदल मार्ग प्रयोग गर्ने भक्तजन तथा पर्यटक भेट्न मुस्किलै पर्दो रहेछ । भगवतीको मन्दिर पुग्न निकै कठिन भएको हुँदा त्यहाँ जानका लागि केबुलकारको निर्माण भएको रहेछ। करिब चार मिनट समय लाग्ने र यसको भाडा भने ६०० रुपैयाँ लाग्दो रहेछ। ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गताजस्ता लक्षित वर्गलाई छुटको व्यवस्था गरिएको हुँदा यिनीहरूका लागि भने केही राहत पुगेकै देखिन्छ। केबुलकारबाट ओर्लेपछि करिब १०–१५ मिनेटको पैदल यात्रापछि कालिन्चोक भगवतीको मन्दिर पुगिँदो रहेछ। बिहानको चिसो सिरेटो छल्दै र लेकाली सौन्दर्य नियाल्दै हामी पुग्यौँ, कालिन्चोकको थुम्कोमा। तीन हजार आठ सय ४२ मिटरको यो उचाइबाट देखिने आसपासको सौन्दर्य नियाल्दा पाइने बिछट्टैको आनन्द वर्णन गर्न सकिने रहेछ।
भगवतीको महिमा
कालिन्चोक भगवतीको महिमा पनि कम रहेनछ। यसको आसपास अवस्थित गुफामा पाँच पाण्डव बसेको किम्बदन्ती सुन्न पाइयो। तान्त्रिक शक्तिको परिचयको रुपमा रहेको पौराणिक महत्वको कालिन्चोक भगवती विशेष गरी हिन्दुहरूको आस्था केन्द्रको रुपमा रहेको पाइयो। उच्च स्थानमा अवस्थिति भएकाले गर्मीको समयमा पनि सधैँभरि चिसो र हुस्सु ढपक्क छोपेजस्तो देखिदो रहेछ। शारीरिक रुपमा कमजोरका लागि भने लेक लाग्ने हुँदा अलि जोखिम पनि रहेछ। कसैलाई लेक लाग्यो भने टिमुर, लसुन, अदुवाजस्ता घरेलु औषधि प्रयोग गरे श्वासप्रश्वासमा सहजता हुने भएकाले अधिकांश दर्शनार्र्थीले यी घरेलु औषधि उपचारका विधि अपनाउँदा रहेछन्। हाम्रो टोली सदस्यहरूले भने यो समस्या भोग्न परेन।
मन्दिरको अवस्थिति हेर्दा भने अचम्म मान्नै पर्नेछ। त्यस्तो अनकन्टार र निर्जन ठाउँमा कसरी मन्दिरको स्थापना भयो होला ! कल्पना गर्न पनि सकिँदैन। मन्दिर रहेको ठाउँको क्षेत्रफल निकै साँघुरो छ। त्यही साँघुरो ठाउँमा धेरै देवी–देवताका मन्दिर स्थापना भएका छन्। मन्दिरको परिक्रमा गर्नका लागि सहज हुने गरी बाटो निर्माण पनि गरिएको छ। धूप, दीप गर्नका लागि सहजरुपले व्यवस्थापन पनि मिलाइएको पाइन्छ।
चित्ताकर्षक स्थल
प्राकृतिक हिसाबले समेत कालिन्चोक क्षेत्र चित्ताकर्षक छ। डाँडाबाट अन्नपूर्ण, लाङटाङ, र रोल्वालिङ हिमशृङ्खला अवलोकन गर्न सकिने रहेछ। अझै अचम्म त दोलखाको पहिचान गौरीशङ्कर हिमाल आँखैमा टाँसिन आइपुग्ने रहेछ। मौसम उघ्रिएका बेला नीलो आकाश मुन्तिर मोतीझैँ चम्केका हिमाल आँखा नझिम्क्याई हेरिरहूँझै लाग्ने। स्थानीयको अनुसार डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ रे। कुरिबाट पुनः हामी अघिल्लो रात वास बसेको लजमा फर्किएर खाना खायौँ ।त्यहाँबाट करिब चार किलोमिटर छिचोलेपछि भेटियो, भीमेश्वर मन्दिर ।
तन्त्र शक्ति र भीमेश्वरको अवतार
आदि कालमा स्थापना भएको मानिने भीमेश्वरको खास विशेषता भनेको, एक दिनमा, तीन फरक समयमा, तीन भिन्न देवताको अवतारको मान्यता हो। तन्त्र शक्तिको बलमा बिहान भीमेश्वरको अवतार, दिउसोको महादेव अवतार र साँझ भैरव भगवानको अवतार रहेको जनविश्वास छ। स्थानीयको अनुसार, भीमेश्वरको मूर्तिमा पसिना आएमा देशमा अनिष्ट हुन्छ रे। राजतन्त्रकालमा यसरी पसिना आएको बेला कपासले पसिना पुछेर राजदरबार पठाउने गरिन्थ्यो रे। साथै राजदरबारबाट क्षम पूजा गर्ने चलन थियो रे। नेपालमा राजतन्त्रको अन्त्य भएपछि सो कपास राष्ट्रपति कार्यालयमा पठाउने गरिएको रहेछ । दैनिक चार पटक पूजा हुने रहेछ। भीमेश्वरमा बडादसैँ, एकादशी तथा मछिन्द्रनाथ जात्रामा विशेष किसिमले पूजाआजा गरिने रहेछ। कालिन्चोक भगवती र भीमेश्वरको दर्शन गरेर मनलाई शुद्ध र आनन्द बनाउनु सबैका लागि फलदायी नै हुनेछ। सबैलाई आफ्नो जीवनकालमा कालिन्चोक भगवती र भीमेश्वरको दर्शन गर्ने अवसर मिलोस् ! सबैलाई शुभकामना।