- नारायण गिरी
हरेकको जीवन एउटा कहानी बन्ला! त्यही कहानी जब समग्र मानव सभ्यताका लागि समर्पित हुन्छ, त्यो मानवमात्रको आफ्नो जीवन दर्शन बन्न पुग्दछ। रोजा लक्जेम्बर्गको जीवनी यही मानिसभित्र मानवता खोज्न गरिएको अविश्राम संघर्ष र त्यसले सिकाएका पाठहरूको विशाल र गहिरो सागर हो। जसले आफ्नो लागि कहिल्यै केही गरेन, गर्यो त गुमाउनेका पक्षमा गर्यो। केही नहुनेका लागि गर्यो। उदायो त आवाज विहीनहरूको आवाज बनेर उदायो। दिशा विहीनहरूका लागि दिशा र गति बनेर देखा पर्यो। किनकि रोजा लक्जेम्बर्ग विश्व सर्वहारा वर्गकी एक महान् क्रान्तिकारी नेतृ तथा योद्धा थिइन्।
रोजा मार्क्सवादी सिद्धान्त बुझेकी, दर्शन, अर्थशास्त्रकी ज्ञाता र एक क्रान्तिकारी समाजवादी थिइन्। उनले सुधारवादको विरुद्धमा धेरै ठूलो संघर्ष गरिन् र क्रान्तिलाई अगाडि बढाउने क्रममै आफ्नो प्राण उत्सर्ग गरिन्। दोस्रो अन्तर्राष्ट्रियमा क्रान्तिकारी धारको नेतृको रूपमा सुधारवादको विरुद्ध उनले सम्झौताहीन संघर्ष गरिन्। उनी सन् १९१८ को जर्मन क्रान्तिको प्रमुख नेता थिइन्। उनले पोल्यान्ड र जर्मनीमा मार्क्सवादलाई समाजवाद प्राप्तिका लागि समयको विज्ञानको रूपमा अगाडि बढाइन्। आफ्नो संकल्प र निष्ठाको बलमा सर्वहारा आन्दोलनलाई नयाँ दिशा दिन सफल भइन्।
उनका बुलन्द प्रभावकारी आवाजले पुँजीपतिहरूका थरथर मुटु कमाउँदथ्यो। तानाशाह शासकहरूको कुर्सी हल्लिन्थ्यो। आफ्नो बेजोडको प्रस्तुतिबाट उनले सामन्तहरुलाई नाङ्गे झार पार्थिन। रोजा बोल्न सुरु गर्दा सबै मानिस नतमस्तक हुन्थे। उनका हरेक बोलीले संघर्षको ऐलान गर्दथ्यो, क्रान्तिको जेहाद् छेड्थ्यो। विपक्षलाई प्रहार गर्ने व्यङ्ग्य-बाँडमा उपहास भरिएको आक्रोश हुन्थ्यो। उनको आवाज तीक्ष्ण, शक्तिशाली र थरथराहटलेयुक्त हुँदै बाहिर आउँथ्यो। कानबाट सीधै हृदयमा बस्दथ्यो। उनी सुन्दर गीत पनि गाउँथिन्। उनको भाषण सुनेपछि मानिसहरू उनको प्रतिभालाई चमत्कार ठान्थे।
रोजा एक अत्यन्तै बुद्धिमान व्यक्तित्व थिइन्। उनी सामाजिक लोकतन्त्रवादी, समाजवादी, कम्युनिष्ट नेतृ हुन्। उनलाई पत्रकारको रूपमा पनि चिनिन्छ। आफ्ना शक्तिशाली विचार र भाषणको कारण उनलाई संसारमा चिनिन्छ। सामन्ती सत्ताका ठेकेदारहरुलाई उनी जहिले पनि औँला ठड्याउँथिन्। राजनीतिक धृष्टता, सामाजिक असमानता, लैङ्गिक भेदभावको विरुद्ध जस्तो सुकै अफ्ठेरोर्पदा पनि निडर बनेर उनी जुध्न पुग्थिन्। सबैका संरक्षक र प्रेरणा बनेर उभिन्थिन्। उनीभित्र बेजोडको दृढ इच्छा शक्ति थियो। क्रान्तिप्रति विश्वास थियो। जसका कारण आजसम्म पनि उनी संसारका अन्यायको विरुद्ध बोल्ने न्याय प्रेमीका लागि सदैव उच्च प्रेरणाको स्रोत बनिरहेकी छिन्। उनको जीवन पढ्नेले पनि नयाँ जीवन पाइरहेको अनुभूत गर्नेछन्।
रोजाको राजनीतिक विचारधाराकै कारण, उनलाई ‘रेड रोजा’ उपनामले चिनिन्छ। उनले अन्तर्राष्ट्रिय स्तरमा समाजवादलाई स्थापित गराउनको लागि कैयौं क्रान्तिकारी कदमहरू उठाइन्। उनको साहस, समर्पण, त्याग, बलिदानी भाव र वीरताको कारण उनी सदैव विश्व सर्वहारा वर्गको निमित्त सम्मानित र प्रेरणा-स्रोतको रूपमा रहिरहेकी छिन्।
रोजाको बाल्यकाल
रोजा (रोजालिया) लक्जेम्बर्गको जन्म एक मध्यम वर्गीय यहुदी परिवारमा जारशाही रुसको अधीनमा रहेको पोल्यान्डको जेमोक नजिकै लुबलिन भन्ने ठाउँमा ५ मार्च १८७१ मा भएको थियो। उनको पिता एलियाश लक्जेम्बर्ग एक काठ व्यापारी थिए। रोजा पाँच भाइबहिनीहरूमा सबभन्दा कान्छी थिइन्। पाँच वर्षको उमेरमा खुट्टाको कारण उनी अपाङ्ग बन्न पुगेकी थिइन्। हिपको अपरेसन गर्न परेको कारण पनि उनी महिनौं ओछ्यान परेकी थिइन्। रोजामा शारीरिक कमजोरी भएपनि उनी बच्चैदेखि दृढ, संकल्पवान्, प्रखर, मेधावी, पठनशील थिइन्। बचपनदेखि नै उनमा नेतृत्वकारी गुण भरिएको थियो। नेतृत्व क्षमताकै कारण उनी आफ्ना साथीहरूबीच लोकप्रिय थिइन्।
रोजा ९ वर्षकी भएपछि उनको परिवार वार्सा गएको थियो। त्यहाँ उनलाई एक सरकारी स्कुलमा भर्ना गरियो। स्कुलमा उनले असाधारण प्रतिभा देखाइन्। युवा अवस्थामा पुग्दै गरेकी रोजाले अब समाजलाई बुझ्न लागेकी थिइन्। रोजा गोएथेका कविताहरूलाई खुब मन पराउँथिन्। दोस्तोइब्स्की, चार्ल्स डिकेन्स, लांगे, अनातोले जस्ता विश्व प्रसिद्ध साहित्यकारका रचनाहरू खुब मन लाएर पढ्थिन्। पियरे ब्रूडका उपन्यासबाट उनी धेरै प्रभावित भइन्।
रोजा स्कुल पढ्दादेखि नै मजदुर आन्दोलनमा जोडिएकी थिइन्। उनी त्यस बेला पोल्यान्डको वाम सर्वहारा पार्टीसँग जोडिएकी थिइन। उनको जीवन अभावै अभावले भरिएको थियो। समाजको आर्थिक स्तरमा विभाजन देख्दा र यी निरन्तर गहिरिँदै गएको देख्दा उनी दुःखित हुन्थिन्। श्रमिकहरूले आफ्नो दुर्दशालाई भाग्य ठानेर स्वीकार गर्ने अवस्थालाई देखेर उनी धेरै चिन्तित हुन्थिन्।
मार्क्सका विचारको प्रभाव
रोजाको कम्युनिष्ट आन्दोलनका नेताहरूसँग सम्पर्क भयो। मार्क्सका विचारको रोजामा अत्यन्तै ठूलो प्रभाव थियो। राजनीतिप्रति आकर्षणको कारण रोजा वामपन्थी पार्टीको समर्पकमा आइन्। सन् १८८६ मा उनले पोल्यान्डको वामपन्थी पार्टीको सदस्यता लिइन्। श्रमिक आन्दोलनमा भाग लिँदा उनको निर्भीक र प्रखर आन्दोलनकारी रूप प्रकट हुन लाग्यो। त्यति बेला पोल्यान्डमा कम्युनिष्ट विचारधाराको प्रभाव निरन्तर बढ्दै गइरहेको थियो। पुँजीवादको विरोधमा सबै मानिसहरू संगठित हुँदै गइरहेका थिए। उनले आफ्नो राजनीतिक जीवनको सुरुवात मजदुर वर्गको व्यापकरूपमा आमहड्ताल र धर्नाबाट सुरु गरेकी थिइन्। जार अलेक्जेण्डर तृतीयको अधिनायकवादी शासनमा स्वतन्त्र विचार, राजनीतिक व्यक्तिहरू र श्रमिक आन्दोलनलाई भयंकर दमन गरिन्थ्यो। जार शाहीको भीषण दमनसँगै त्यस बेला पार्टीका चार जना नेताहरूलाई फाँसीको सजाय भएको थियो र पार्टीलाई पूर्णरूपले प्रतिबन्ध लगाइएको थियो। मुख्य निशानामा रोजा पनि थिइन्। त्यसपछि पार्टीका अन्य नेता र सदस्यहरूसहित रोजा पनि भूमिगत रूपमा काम गर्न लागिन्। अब उनीहरूको सम्पूर्ण क्रियाकलाप भूमिगत रूपमा अगाडि बढ्न थाल्यो।
सन् १८८७ मा रोजाले आफ्नो माध्यमिक परीक्षा पास गरिन्। त्यसपछि जार शाहीको गिरफ्तारीबाट बच्न र उच्च शिक्षा प्राप्त गर्नको लागि उनी सन् १८८९ मा स्वीट्जरल्याण्डको च्यूरिच गइन् र त्यहाँ ज्यूरिच विश्वविद्यालयमा भर्ना भइन्। पछि उनले कानुन र राजनीतिशास्त्रको पढाइ सुरु गरिन्। सन् १९९८ मा उनले मानक उपाधि हासिल गरेकी थिइन्। उनले स्वर्ण पदक प्राप्त गरेकी थिइन् तर त्यो पदक लिन अस्वीकार गरिन्। पछि उनले सन् १८९७ मा पोल्यान्डको औद्योगिक क्रान्ति विषयमा शोध लेखेर विद्यावारिधिको उपाधि पनि प्राप्त गरेकी थिइन्।
रोजाले स्वीट्जरल्याण्डमा निर्वासनमा रहेका अजेक्जेण्डर कोलोन्ताइ, प्लेखानोभ, लियो जोगिई र पावेल अक्सेलरोद जस्ता मार्क्सवादी र क्रान्तिकारीहरूसँग भेट गरिन्। रोजाको क्षमता र सिद्धान्त प्रतिको निष्ठा भावले सबै नेतालाई प्रभावित बनाएको थियो। ज्यूरिचमा उनले इतिहास, राजनीति, दर्शन, गणित, समाज विज्ञान, अर्थशास्त्र, आदि विषयहरूको गहन अध्ययन गरिन्। राजनीतिशास्त्र, अर्थशास्त्र, मध्ययुगको इतिहास जस्ता विषयमा त उनले कुशलता हासिल गरेकी थिइन्। त्यसै गरी राज्यको रूपमा मध्ययुगको आर्थिक स्थिति, शेयर बजारको संकटमा पनि उनले विशेषज्ञता हासिल गरिन्। सन् १८९० मा उनको लियो जोगीशसँग प्रेम सम्बन्ध भयो। त्यसपछि कुनै रीतिरिवाज बिना नै उनीहरूको यो प्रेम सम्बन्ध मृत्युपर्यन्त कायम रह्यो।
समाचारपत्रको स्थापना
रोजा लक्जेम्बर्ग पोल्यान्डको समाजवादी पार्टीको राष्ट्रवादी नीतिसँग सहमत थिइनन्। उनी राष्ट्रवादी प्रवृत्तिहरूलाई सर्वहारा अन्तर्राष्ट्रियतावादको लागि हानिकारक ठान्थिन्। सन् १८९३ मा लियो जोगिई र जुलियन मारक्लेभ्स्कीसँग मिलेर उनले स्प्राभा रोबोनित्कजा (मजदुरहरूको उद्देश्य) समाचारपत्र स्थापना गरिन्। यसको मुख्य उद्देश्य श्रमिकहरूको बिचमा वर्गीय चेतनाको विस्तार गर्नुथियो। यो समाचारपत्रको माध्यमबाट पोल्यान्डको समाजवादी पार्टीको राष्ट्रवादी नीतिको आलोचना गर्न लागिन्।
पोलिस समाजवादी पार्टी रुसी साम्राज्यवादबाट पोल्यान्डको स्वतन्त्रताको माग गर्दथ्यो। रोजाले यो मागको विरोध गरिन्। त्यसपछि रोजा पोल्यान्डको समाजवादी पार्टीको निशानामा आइन्। रोजा र उनका साथीहरूको के मान्यता थियो भने जर्मनी, रुस, अस्ट्रियामा संयुक्त समाजवादी क्रान्तिबाट मात्र आत्मनिर्भर पोल्यान्डको जन्म हुनसक्छ। रोजाको मान्यता अनुसार संघर्षको लक्ष्य राजनीतिक दासता र पुँजीवादी उत्पीडन दुवैबाट मुक्तिको लागि हुनुपर्दछ। उनीहरूको बिचमा मतभेद तीव्र हुँदै गएपछि सन् १८९३ मा लियो जोगिई, कोस्तान्जा शभा र जूलियस कार्स्कीसँग मिलेर पोल्यान्डको सामाजिक जनवादी पार्टीको स्थापना गरिन्। यो पार्टीपछि लिथुआनियाको सामाजिक जनवादी संगठनसँग एकताबद्ध भयो र यसलाई पोल्यान्ड र लिथुआनियाको सामाजिक जनवादी पार्टी भन्न लागियो। रोजा त्यसपछि मजदुरहरूको उद्देश्य पत्रिकाको सम्पादनको लागि पेरिस आइन्।
राष्ट्रियताको मुक्तिको सम्बन्धमा रोजाको विचार फरक थियो। उनका अनुसार पोल्यान्डको स्वतन्त्रताभन्दा पनि जर्मन, रुस, अस्ट्रिया जस्ता मुलुकहरूमा समाजवादी क्रान्ति सम्पन्न भएपछि मात्र स्वतन्त्र र आत्मनिर्भर पोल्यान्ड अस्तित्वमा आउँदछ। यसको साथै उनी साम्राज्यवादको चरणमा ठूला शक्तिहरू अस्तित्वमा आएपछि साना राष्ट्रियताहरूको लागि आत्मनिर्णयको अधिकारलाई भ्रामक मान्न लागेकी थिइन्। यी आधारहरूमा उनी पोल्यान्डको लागि स्वतन्त्रताको माग गर्दथिन्। यस सम्बन्धमा रोजाको लेनिनसँग ठूलो बहससमेत भयो।
सन् १९९८ मा रोजाले जर्मन निवासी गुस्ताभ ल्यूबेसँग विवाह गरिन्। यसको वास्तविक उद्देश्य जर्मनीको नागरिकता प्राप्त गरी अपेक्षाकृत रूपमा सुरक्षित हुनुथियो। यसपछि उनलाई जर्मन नागरिकता प्राप्त भयो। ५ वर्ष पछि उनले गुस्ताभलाई आभार प्रकट गर्दै सम्बन्ध विच्छेद गरिन्। रोजालाई के विश्वास थियो भने समाजवादी क्रान्ति सबभन्दा पहिले फ्रान्स र जर्मनीमा हुन्छ। जर्मनीको सामाजिक जनवादी पार्टी त्यस बेलाको सबभन्दा ठूलो संसदीय पार्टी बनिसकेको थियो। रोजा जर्मन सामाजिक जनवादी पार्टीसँग मिलेर काम गर्न चाहन्थिन्। त्यस कारण उनी बर्लिन् आइन्। यसपछि उनले सामाजिक जनवादी पार्टीको कार्यलाई अगाडि बढाउन लागिन्। यद्यपि लियो जोगिशसँग मिलेर उनले पोल्यान्ड र लिथुआनियाको सामाजिक जनवादी पार्टीको पनि नेतृत्व सम्हालिरहिन्। सन् १८९९ मा प्रकाशित ‘द मिलिशिया एण्ड मिलिटरिज्म’मा रोजाले जर्मन सैन्यवाद र साम्राज्यवादको जोडदार विरोध गरिन्। त्यसपछि आसन्न युद्ध रोक्नको लागि कार्यकर्ताहरूलाई एकजुट हुन पनि आव्हान गरिन्।
अवसरवाद र नोकर शाहीको विरुद्ध आन्दोलन
जर्मनीको सामाजिक जनवादी पार्टी यतिखेर अवसरवाद र नोकरशाही जस्ता गम्भीर रोगले ग्रसित थियो। जर्मनीको सामाजिक जनवादी पार्टीका क्रान्तिकारी वाम पक्षसँग मिलेर रोजाले अवसरवाद र नोकर साहीको विरुद्ध आन्दोलन सुरु गरिन्। यस बेला जर्मनको सामाजिक जनवादी पार्टीमा संशोधनवाद तीव्र रूपमा प्रकट भएको थियो। पार्टीका एक प्रमुख नेता र सिद्धान्तकार एडवर्ड बर्नस्टीनले पुँजीवादले आफ्ना अन्तर्विरोधहरूबाट छुटकारा पाउन सक्दछ र विकसित पुँजीवादी देशहरूमा तीव्र औद्योगिक विकास तथा संसदीय जनवादद्वारा समाजवाद हासिल गर्न सम्भव छ भन्ने अवधारणा पेस गरेका थिए।
अवधारणा अनुसार वर्ग संघर्षलाई र मार्क्सवादलाई छोड्नु थियो। यतिखेरै यहाँ उनको भेट प्रसिद्ध मार्क्सवादी विचारक कार्ल काउत्स्कीसँग भयो। यसपछि रोजाले कार्ल काउत्स्कीसँग मिलेर यो संशोधनवादी विचारको विरुद्धमा दृढतापूर्वक संघर्ष गरिन् र मार्क्सवादको रक्षा गरिन्। रोजाले आफ्नो संघर्षको क्रममा स्पष्ट रूपमा के घोषणा गरिन् भने पुँजी र श्रमको बिचको अन्तर्विरोध केवल क्रान्ति र त्यसपछि उत्पादन सम्बन्धहरूमा आमूल परिवर्तनसँगै समाधान हुन सक्दछ।
सन् १८९९ मा उनले आफ्नो प्रसिद्ध पुस्तक ‘सामाजिक सुधार वा क्रान्ति’ लेखिन्। यो किताब उनले बर्नस्टीनको किताब इभोल्यूसनरी सोशलिज्मको आलोचनामा लेखेकी थिइन्। अन्य पुस्तकभन्दा यो पुस्तकले कम्युनिष्ट कार्यकर्ताहरूलाई लागि धेरै प्रशिक्षित गरेको थियो। बर्नस्टीन संसद्को माध्यमबाट बिस्तारै-बिस्तारै कानुनी प्रक्रिया पालन गरेर अगाडि बढ्ने कुरा गर्थे। तर रोजाको दृष्टि विद्यमान उत्पीडनको वास्तविक आधार श्रम दासता थियो। यो यस्तो चीज हो, जहाँ कानुनको त कुनै मुद्दा नै आउँदैन। रोजाका अनुसार श्रम दासता कानुनमा आधारित हुनुको सट्टा मुख्यतः आर्थिक कारकहरूद्वारा निर्धारित हुन्छ। त्यस कारण पुँजीवादी वर्ग वर्चस्वको आधारभूत आधारलाई कानुनी सुधारद्वारा बदल्न सकिँदैन। किनकि यो दासता कुनै कानुनद्वारा ल्याइएको होइन।
रोजाका यी जोडदार क्रान्तिकारी तर्कहरूले जर्मन सामाजिक जनवादी पार्टीमा हलचल मच्चाइदियो र नेतृत्व दबाबमा आयो। कार्ल काउत्स्की र अगस्ट बेबेलले अन्ततः बहसमा उत्रिनुपर्यो। पार्टीका नेताहरूले देखावटी रूपमा बर्नस्टीनको आलोचना गरे पनि भित्रभित्रै सहमत थिए। रोजाले संशोधनवादीहरूलाई पार्टीबाट बाहिर निकाल्ने माग गरिन्। यो माग पूरा नभए पनि मार्क्सवादी दृष्टिकोण र सर्वहारा क्रान्तिलाई पार्टीको कार्यक्रममा स्वीकार गरियो।
रोजा लक्जेम्बर्गले आफ्नो पत्रिकामा सन् १९०० पछिको सामाजिक आर्थिक समस्याहरूमाथि विश्लेषण प्रकाशित गरिन्। युद्धको आशंकालाई दृष्टि दिँदै उनले जर्मन सैन्यवाद र साम्राज्यवादको तीव्र आलोचना गरिन्। सन् १९०० मा रोजाले युरोपियन देशहरूका आर्थिक समस्याहरूको विश्लेषण गर्दै एउटा लेख लेखिन्, जसमा उनले पुँजी तथा श्रमको अन्तरसम्बन्धलाई अत्यन्तै गहिराइपूर्वक विश्लेषण गरेकी थिइन्। यही क्रमसँगै रुसमा लेनिनको नेतृत्वमा मजदुर-किसान संगठित भएर रुसको जार शाहीको विरुद्धमा संघर्ष गरिरहेका थिए।
सन् १९०५ मा रुसमा बोल्शेभिक क्रान्ति भयो। रोजा र उनका साथी लियो जोगोशलाई क्रान्तिकारीलाई साथ दिएको र हिंसा भड्काउन सहयोग गरेको आरोपमा गिरफ्तार गरियो। सन् १९०४ देखि सन् १९०६ को बिचमा आफ्ना राजनीतिक कारबाहीहरूलाई अगाडि बढाउने क्रममा उनी तीन पटक गिरफ्तार भएर जेल गइन्। सन् १९०५ मा अगस्ट बेबेलले रोजा लक्जेम्बर्ग सामाजिक जनवादी पार्टीको मुख पत्र भोरवाटर्स (अग्रिम)को सम्पादक बन्न पुगिन्। यही बिचमा पोल्यान्डको स्वाधीनतालाई लिएर रोजा र लेनिनको बिचमा मतभेदसमेत भएको थियो।
रोजा पोल्यान्डको लागि सम्पूर्ण स्वाधीनताको माग गरिरहेकी थिइन् भने लेनिन पोल्यान्डलाई राजनीतिक स्वायत्तता मात्र दिने पक्षमा थिए। आफ्नो विरोधलाई रचनात्मक रूप दिँदै रोजाले सन् १९०४ मा ‘अगर्नाइजेसनल क्वोइसन अफ रशियन डेमोक्रेशी’ शीर्षक रचना लेखिन्। यसमा उनले लेनिनको वर्चस्वकारी राजनीतिको आलोचना गरेकी थिइन। रोजाका अनुसार यदि लेनिनका विचारहरूको आधारमा क्रान्ति भयो भने त्यसको परिणाम अन्ततः कम्युनिष्ट अधिनायकवादको रूपमा हुनेछ।
सन् १९०५ को रुसी क्रान्तिको समयमा रोजा र लियो जोगिश वार्सा फर्किए तर उनीहरू त्यहाँ तुरुन्तै गिरफ्तार भए। रुसको असफल क्रान्तिले समग्र क्रान्तिको सन्दर्भमा रोजा लक्जेम्बर्गको धारणामा केही परिवर्तन गरिदियो। पहिले उनी समाजवादी क्रान्ति केवल विकसित पुँजीवादी मुलुकहरूमा मात्र हुन सक्दछ भन्ने कुरा मान्थिन्। अब उनी रुस जस्तो पिछडिएको मुलुकमा पनि क्रान्ति हुन सक्दछ भन्ने निष्कर्षमा पुगिन्। दोस्रो १९०५ को क्रान्तिमा उनले वोल्शेभिक र मेन्सेभिकको कार्यनीतिको फरकलाई महसुस गरिन्। बोल्शेभिकहरू क्रान्तिको भरपुर समर्थन गरिरहेका थिए भने मेन्सेभिकको दृष्टिकोण ढुलमुले प्रकारको र पुँजीपतिहरूको पिछलग्गू बन्ने खालको थियो। उनले आम हडताल र मजदुर वर्गको उभारलाई पनि देखिन् तथा सोभियतहरूको रूपमा सर्वहारा अधिनायकत्वका नयाँ रूपहरूलाई पनि देखिन्। यो क्रान्तिपछि उनले पूर्ण रूपमा बोल्शेभिकहरूको समर्थन गर्न थालिन्।
सन् १९०६ मा रोजाले ‘आम हडताल, राजनीतिक पार्टी र ट्रेड युनियन’ नामक एक पुस्तक प्रकाशित गरिन्। यो पुस्तकमा उनले आम हडतालभित्र मजदुरहरूको चेतना र संघर्षको स्तरलाई माथि उठाउने तथा समाजवादी क्रान्ति सम्पन्न गर्ने भौतिक शक्ति हुन्छ भन्ने कुरा स्पष्ट पारिन्। यो पुस्तकमा उनले उल्लेख गरे अनुसार हडतालद्वारा श्रमिकलाई केवल प्रगतिशील समाजवादी बनाएर क्रान्तिप्रति उन्मुख बनाउने मात्र होइन, बरु युद्ध उन्मादमा डुबेको र स्वार्थपरक एवम् साम्राज्यवादी लालसाले संसारलाई मृत्युको मुखमा धकेलिरहेको सरकारलाई पनि प्रति हिंसात्मक गतिविधिहरूबाट पछि हट्न बाध्य बनाउन सकिन्छ।
उनले लेखिन्- जनआन्दोलनको रूपमा हडताल स्वाभाविक र निर्णायक गतिविधि हो। पुँजीवादको विरुद्ध संघर्षमा सर्वहारा वर्गको यो एकदम अपरिहार्य र विशिष्ट औजार हो। उनका अनुसार प्राचीन कालमा युद्ध सैन्य अड्डा र युद्ध मैदानमा लडिन्थे तर अहिले सर्वहारा वर्गको संघर्ष खुला सडकहरूमा तथा गल्लीहरूमा लडिन्छ। अन्ततः त्यो निर्णायक र परिवर्तनकारी सिद्ध हुन्छ। पछि आम हडतालहरूको महत्त्वलाई बुझेर रोजा लक्जेम्बर्गले जर्मन साम्राज्यवाद र सैन्यवादको विरुद्धमा मजदुरहरूको आम हडतालको सुझाव जर्मन पार्टीलाई दिइन् तर पार्टीले उनको सुझावलाई स्वीकार गरेन।
रोजाले निरन्तर रूपमा जर्मन सरकारको साम्राज्यवादी युद्ध नीतिको विरोध गरिरहिन्। उनका अनुसार श्रमिक वर्गले संगठित भएर हडताल, धर्ना, आदि अहिंसक गतिविधिको माध्यमबाट सरकारमा दबाब बढाएपछि युद्ध रोक्न सकिन्छ भन्ने थियो। रोजाको यस्तो विचारलाई सामाजिक जनवादी पार्टीले अस्वीकार गर्यो। यो विषयलाई लिएर रोजा र काउत्स्की बिचमा मतभेद सुरु भयो। रोजाका कैयौं साथीहरू पहिले नै गिरफ्तार भइसकेका थिए। केही भूमिगत रहेर जसोतसो आन्दोलन अगाडि बढाइरहेका थिए।
पुनश्च: बाँकी भाग आगामी हप्ता प्रकाशित गरिनेछ। -सम्पादक