भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम

mou-signing
लोकपाटी न्यूज
3 Shares

चितवन। भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम भएको छ। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहाल र चीनको सिगात्से सहरका प्रमुख वाङ फाङ होङबीच दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी–पत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा दुई सहरबीच पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले सहयोग आदानप्रदान गर्ने उल्लेख छ। त्यसैगरी साझा समृद्धि र विकासलाई प्रवर्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरका प्रमुख रेनु दाहालले सिगात्से सहरसँग भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुसी व्यक्त गरिन्। उनले यो समझदारीले आगामी दिनमा दुई देश र दुई सहरबीच प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गरे।

उक्त भगिनी सम्बन्ध पाँच वर्षका लागि मान्य हुने र समझदारीपत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब विनोद प्रकाश सिंह, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र कुमार राना, प्रेस विज्ञ सल्लाहाकार सुरेशचन्द्र अधिकारीको उपस्थिति रहेको थियो। गत भदौंमा भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डलले सिगात्सेलगायत चीनका अन्य सहरको भ्रमण गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्