रोल्पा। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन्। शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले थवाङ आउन पाउँदा आफूलाई हर्ष र गौरवको अनुभूति हुने गरेको बताए। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको उनले स्मरण गरे।
‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किँदा म जहिले पनि उर्जा लिएर फर्किन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंगो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।’
जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेलेको उनले बताए। समाजवादको संकल्प पुरा गर्न अब आफूहरू नयाँ चरणको क्रान्तिको तयारीमा रहेको पनि प्रधानमन्त्री प्रचण्डले भने बताए। ‘क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो,’ उनले अगाडि भने, ‘जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।’
रोल्पा, रुकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गर्दै प्रधानमन्त्री प्रचण्डले आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्ने बताए। ‘आगामी विशेष महाधिवेशनमा हामीले समाजवादको बाटो थप स्पष्ट पार्छौं। त्यहाँ गएर विचारको विकास र संश्लेषण पनि गर्छौं। समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिन्छ,’ उनले भने, ‘रोल्पा, रुकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ।’
उनले शान्ति प्रक्रियापछि विभाजित भएका माओवादीहरू अहिले क्रमशः एकताको आधार तयार हुँदै गएको बताए। उनले भने, ‘शान्ति प्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकताबद्ध हुन्छौं।’
प्रधानमन्त्री प्रचण्डले अगाडि थपे, ‘समाजवादको आधार तयार पार्ने उद्देश्यले नै केही नयाँ काम सुरु गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो। सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ। यसले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ।’
उनले मुलुकको अर्थतन्त्रमा राम्रो सुधार हुँदै गएको दाबी गरे। किसानको समृद्धि विना मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा रोजगारी प्रवर्धन गर्ने गरी सरकारले अगाडि बढेको बताए। ‘उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं,’ उनले भने, ‘म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दबाबमुक्त भइसकेको छैन। तिहार लगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु।’