काभ्रेपलाञ्चोक। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्ने बताएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज एमाले धुलिखेल नगर कमिटीद्वारा तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमार आयोजित चियापानमा महासचिव पोखरेलले संस्कृतिप्रति गर्व गर्दै त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रियाअघि बढाउनुपर्ने बताए।
‘हाम्रो संस्कृतिप्रति गर्व गर्नुपर्दछ र त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्दछ, अनि मात्रै चुनौतीको सामना गर्न सकिन्छ,’ नेता पोखरेलले भने। उनले नेपाली समाजलाई धार्मिक अतिवादतर्फ लैजाने प्रयत्न भएकोमा दुःख व्यक्त गरे।
उनले भने, ‘यसले नेपाली समाजको मौलिक संस्कृतिलाई कमजोर बनाउने छ। ‘महासचिव पोखरेलले पछिल्लो समय नेपाली समाजको मौलिक संस्कृतिलाई विघटन गर्ने प्रवृत्ति नेपाली समाजका लागि निकै चुनौतीपूर्ण रहेको एमालेको दृष्टिकोण रहेको बताए।
‘राष्ट्र विभिन्न चुनौतीबाट गुज्रिरहेको छ, अराजकता र चुनौतीको समाना गर्नसक्ने योजनाका साथ अघि बढ्नुपर्छ,’ उनले भने। देश निर्माण गर्न बलियो जनादेशको आवश्यक पर्ने उनको तर्क थियो।