लोकतान्त्रिक गणतन्त्रविरुद्ध औँलो ठड्याए सह्य हुँदैन : अध्यक्ष ओली

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँला ठडाउने काम नगर्न चेतावनी दिएका छन्। ललितपुरस्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनले ठूलो बलिदानीबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि औँला ठड्याउनेको औँला तल झारिदिने चेतावनी दिए।

अध्यक्ष ओलीले भने, ‘हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो। बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु। लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोड्दिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौं।’

उनले आगामी मंसिर ७ गते हुने भनिएको प्रदर्शनले काठमाडौं फोहोर मात्रै हुने कटाक्ष गरे। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितका अभियन्ताले मंसिर ७ गते काठमाडौंमा देशभरबाट काठमाडौंमा मान्छेहरू उतार्ने तयारी रहेको प्रचार गरिरहेको छ।

अध्यक्ष ओलीले सोही प्रदर्शनलाई लक्षित गर्दै भने, ‘७ गते म सुन्दै छु, एउटा कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू देशभरिबाट जोडतोडले लागेका छन्। मानिसहरू काठमाडौंमा मानिसहरू उतार्न। ती मानिसहरू आएर कुनै केही हुने होइन, तीनले काठमाडौं फोहोर गर्ने मात्रै हो।’

उनले लोकतन्त्रविरुद्ध हुने प्रदर्शनलाई शान्तिपूर्ण तरिकाले एमालेले निस्तेज पार्ने बताए। अध्यक्ष ओलीले आफ्नो पार्टीको संगठनले पनि सोही दिन प्रदर्शन गर्न लागेको जानकारी गराउँदै त्यसको स्वामित्व एमालेले लिने बताए। ‘हामी मान्छे उतारेर होइन, यहाँ भएका युवा विद्यार्थी र पृष्ठभागमा अन्य शक्तिहरू पनि छन् भनेर म सरकार र दक्षिणपन्थी शक्तिहरूलाई भन्न चाहन्छु,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्