काठमाडौं। नेपालमा टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सोमबारदेखि सुनवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमाथि आजबाट सुनुवाइ हुने भएको हो।
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन अर्थात् मंसिर १ गते सर्वोच्च अदालतमा थुप्रै रिट निवेदन परेका थिए।
सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठी लगायतले उक्त निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।