केही भ्रम र अन्यौलता चिर्नै पर्ने व्यक्तित्व : प्रकाश दाहाल

prakash dahal-1
लोकपाटी न्यूज
9 Shares
  • क्षितिज सापकोटा

 प्रकाश दाहालको छैटौं स्मृति दिवस सन्दर्भ पारेर यो आलेख तयार गर्न मन लाग्यो। केही भ्रमबीचका सत्यबारे जति उजार गरे पनि नसकिने यी पाटा र पक्षका सम्बन्धमा मेरा भोगाइ जन्य अनुभूति प्रस्तुत गर्न लागेको हो। यहाँ म कुनै राजनीति दर्शन र सिद्धान्तका कुरा गर्दिन। मात्र हाइ प्रोफाइलमा रहेर पनि प्रकाश कस्ता साधारण व्यक्तित्व हुन् भन्ने बारे केही प्रसङ्ग राख्न चाहेको छु।

लेखक : क्षितिज सापकोटा

प्रकाश दाहाल हामी सबैको मन मुटुमा भएको नाम हो। उनको बारे बजारमा गरिएका अनेक असत्य हल्लाहरू अझै पनि बर्गेल्ति छन्। अनेकौं टिप्पणी र अभियोगहरू पनि छन्। तर, मैले प्रकाश दाहालसँग जति पटक सङ्गत गरेँ, देखे र भेटेँ, ती सबै सङ्गत, उनीमाथिका अभियोगहरू मिथ्या साबित गर्ने खालका छन्। साथीहरू प्रति दर्शाउन आत्मीय व्यवहार उनको सरल स्वभाव र साधारण व्यक्ति बनेर हिँड्ने र साथीहरूसँग भिज्न रुचाउने आनीबानी सायद यस्तो व्यक्तित्व पार्टीले पाउन अझै धेरै दशक कुर्नै पर्ला ! म भन्न सक्दिन। प्रकाश दाहाल त्यस्तो व्यक्तित्व, जसका बारे केही सानो प्रसङ्ग राख्ने प्रयास गरेँ।

हामीले पनि हल्लै हल्लामा क्रान्तिकारी बन्दै एक दुई स्ट्याटस उहाँको विरुद्धमै लेखियो। जब उहाँसँग भेटेरै सङ्गत गर्ने मौका मिलेपछि मात्र थाहा भयो, उहाँको शालीन र मिलनसार स्वभाव अनि आत्मीय व्यवहार। सबैसँग मिल्न सक्ने, राम्रोसँग डिल गर्न सक्ने, समयको माग पहिचान गर्न सक्ने, युवाहरूको मनोभावना बुझ्न सक्ने सरल र सहज उनीभित्र रहेका गुणहरू हरेक युवाका लागि प्रेरणाका स्रोत बनेका छन्।

वास्तवमा यो भ्रमको दुनियाँले प्रकाश दाहाललाई पारस शाह नै बनाउन खोजेको रहेछ। उनीमाथि चारैतिरबाट जतिसुकै आक्रमण हुँदा पनि प्रकाश दाहाल निरन्तर आफ्नो वर्गीय बाटोमा लागिरहे, कहिल्यै निराश भएनन्, कसैसँग टसमस भएनन्। वैवाहिक जीवन सबैको सोचेजस्तो नहुन सक्छ। त्यसको पीडा प्रकाशले पनि भोग्न पर्‍यो, सुखद रहन सकेन। त्यही घाउमा नुन चुक छर्कँदै निरन्तर उनीमाथि प्रहार गरिरह्यो। दुष्टहरूका दुनियाँले प्रचण्डमाथि प्रकाश दाहालको कुममा बन्दुक राखेर हिट गर्न खोज्दै थियो। जब यो पहिलो विकल्पमा उनीहरू सफल भएनन्, आखिर जल्लादहरूले दोस्रो विकल्प रोजेर उनीमाथि निरन्तर हमला गरी यो घटना सम्म पुर्‍याए।

प्रकाश दाहालले कहिल्यै आफूलाई एउटा सामान्य कार्यकर्ताभन्दा माथि राखेर हेरेनन्। बुबा प्रधानमन्त्री हुँदा होस वा पार्टी अध्यक्ष मात्रै। उनी प्रायः कार्यक्रमको मञ्चमा नै चढेनन्। बरु तलैबाट गर्ने सहयोग गरिरहे। जनतासँग भलाकुसारी गरे कार्यकर्तासँग साथीको सम्बन्ध बनाउन प्रयत्नशील बनिरहे। विगतमा भएका केही प्राविधिक गल्ती स्वीकार्दै जस्तो अवस्थामा पनि माओवादीप्रति समर्पित भइरहे। जसलाई हामीले लामो समय सङ्गत नै गर्न पाएनौं। जनताको आशाको केन्द्र बन्दै गरेका र थुप्रै जनताको समस्या समाधान गरेका प्रकाश दाहाललाई हामीले भौतिक रूपमा गुमाएको आज ६ वर्ष पुगिसकेको छ। उहाँ कै स्मृतिमा यो लेख समर्पण गर्न चाहन्छु।

अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिव निर्वाचित हुनु पूर्व पोखरामा प्रकाश दाहालसँग एक पटक मात्र त्यो पनि सामूहिक रूपमा भेट भयो। सायद यो नाकाबन्दीको लगत्तै हुनुपर्छ। विद्यार्थीले ग्याँस नपाएपछि दाउरा बालेर खाना बनाउन परिरहेको अवस्था थियो। हाम्रो सङ्गठनले विद्यार्थीलाई सडकमै निःशुल्क खाना खुवाएको थियो। यो कामको प्रभाव देशभर पुग्यो पनि। केही समयपछि ग्यास अलि अलि आउन थाल्यो तर भिआइपीको कोटामै सकिन थालेपछि हामीले ग्यासको ठूलो ट्रक नै कब्जामा लिएर विद्यार्थीलाई बाडेका थियौं। यसले पनि देशै भरी ठूलो तरङ्ग ल्यायो। सायद यसको लगत्तै भयको भेटमा प्रकाशले‘क्षितिज भन्या तपाइ हो ? काठमाडौं आउँदा फोन गर्नु भेटेर सल्लाह गर्नु पर्छ’ भन्नुभयो।

दोस्रो भेट हामीले शपथ लिने समयमा प्रज्ञा प्रतिष्ठानमा भयो। हामीले शपथ खाएर निस्कने ढोकामा प्रकाश उभिरहेका थिए। संयुक्त फोटो खिच्यौ। फोटो उहाँको क्यामरामा र मेरो मोबाइलमा कैद भयो। अखिल (क्रान्तिकारी)को पदाधिकारी बैठकमा तेस्रो भेट भयो। अध्यक्ष नै आउने भयपछि हामीमा सकेसम्म अगाडि कै रोहोमा बस्ने होड चल्छ। प्रकाश दाहालको पनि अतिथि आसनका लागि नाम आयो, तर उनी सबैभन्दा पछाडिबाट मुड्की उठाइ अभिवादन गरी पछाडि रोहमा नै बसे।

चौथो भेट पनि पदाधिकारी बैठकमै भयो। अतिथि आसनका लागि बोलाउँदा उही अवस्था दोहरियो, अरूले झैँ अगाडि बसेनन्। बैठकमा अध्यक्ष छोटो समयको लागी आउनु हुन्थ्यो। अध्यक्ष फर्कँदा उनी पनि सँगै फर्कने हुँदा थप कुराकानी हुन सक्दैन थियो। दुई वटा बैठकमा उनीसँगै बस्ने अवसर मिल्यो। प्रकाश सामान्य पोशाकमा हिँड्दथे। प्रायः कामको सिलसिलामा सबैले अनुभूत गर्नु भएकै होला। हाम्रो सङ्गठनको पहिलो बैठकमा आउँदा उनले टिसर्ट, पाइन्ट र चप्पलमा देखिएका थिए भने दोस्रो बैठकमा हाफ पाइन्ट चप्पल र टिसर्टमा।

जीवनमा सिक्ने कुरा धेरै छन्। कसैको आदर्शमय जीवनबाट सिक्ने कुराले भने व्यक्ति स्वयम् को जीवन पद्धतिमा परिवर्तन ल्याउन सक्दछ। विचार परिवर्तन विना जीवन पद्धति परिवर्तन हुँदैन। त्यसैले एउटा व्यक्तिको जीवन शैलीले कयौँ पुस्तकले दिन नसकेको ज्ञानको उज्यालो प्रदान गर्दछ। त्यस्तो उज्यालोले वर्षौं देखि मनमा पालेर रहेका अज्ञानता तिक्तता र अहम् चकनाचुर पार्दछ। र, जीवन पद्धतिमा परिवर्तन ल्याउन मद्दत गर्दछ। प्रकाश दाहालको जीवनबारे सायद कसैले अध्ययन अनुसन्धान गर्दछ भने, त्यो एउटा सुन्दर हरेक जीवनका लागि उपयोगी कृति बन्ने छ। यस्ता व्यक्तित्वसँगका केही प्रसङ्गको सानो अंश यो आलेखमा उल्लेख गरेँ। यसमा थप राय तथा सुझाव समेतको अपेक्षा गर्दै यो आलेख अन्त गर्दछु। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्